कला


भारतको अलवर रंग महोत्सवमा नेपालको प्रतिनिधित्व परिवर्तन थिएटरले गर्ने

भारतको अलवर रंग महोत्सवमा नेपालको प्रतिनिधित्व परिवर्तन थिएटरले गर्ने

नेपालखबर
माघ १०, २०८१ बिहिबार १७:४३, काठमाडौँ

भारतको राजस्थानमा चलिरहेको सय दिने रंग महोत्सवमा नेपालका तर्फबाट परिवर्तन थिएटरले प्रतिनिधित्व गर्ने भएको छ।

झापाको काकडभिट्टामा बिहीबार पत्रकार सम्मेलन गरी परिवर्तन थिएटरले यो जानकारी दिएको हो।

‘रंग संस्कार थिएटर ग्रुप’ को आयोजनामा गत डिसेम्बर १८, २०२४ देखि मार्च २७, २०२५ सम्म राजस्थानको अलवर सहरमा अलवर रंगम २०२४-२०२५ महोत्सव भइरहेको छ।

१०० दिन लामो यस महोत्सवमा १०० भन्दा बढी नाटकहरूको मञ्चन गरिँदै छ।

महोत्सवको उद्घाटन भारतीय फिल्म तथा टेलिभिजन क्षेत्रका विख्यात कलाकार अभिलेन्द् मिश्रको नाटक 'श्रीराम की प्रत्यक्षा' मञ्चन भइसकेको छ। महोत्सवको पहिलो महिना डिसेम्बरमा मात्र १४ वटा नाटकहरूको मञ्चन भरिएको छ।

अलवरको महावीर अडिटोरियममा चलिरहेको महोत्सवमा भारतसहित नेपाल र स्पेनका नाट्य समूहहरूको सहभागिता रहनेछ। नेपाली नाट्य टोलीको प्रतिनिधित्व गर्दै परिवर्तन थिएटर झापाको टोलीले महोत्सवमा भाग लिँदै छ। उक्त अवसरमा परिवर्तन थिएटरले भवानी भिक्षुको नाटक 'त्यो फेरि फर्कला ?' मञ्चन गर्दै छ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, कविता नेपालले निर्देशन गरेको नाटक आगामी फेब्रुअरी ३ तारिखका दिन मञ्चन गरिनेछ।

यसअघि यो नाटक भारतकै उडिसा र पश्चिम बंगालको कोलकातामा मञ्चन भइसकेको छ।

नाटकमा कविता नेपाल, लोमश पौडेल, गणेश बस्नेत, अस्मित आचार्य, गगन क्षत्री, झरना खनाल, भावना गौतम, एन्जल निरौला, हिलारी पोर्तेललगायतको अभिनय रहनेछ।

यस अवसरमा बलिउड, मराठी र भोजपुरी फिल्म क्षेत्रका प्रख्यात कलाकारहरू रमेश गुप्ता, सञ्जय पांडे, जयंत कार्डेकर र मनोज टाइगर लगायतले आफ्नो प्रस्तुति दिनेछन्।

भारतीय फिल्म क्षेत्रका वरिष्ठ कलाकार राजेन्द्र गुप्ता र अभिनेत्री रिमानी शिवपुरीको विशेष नाट्य प्रस्तुतिसँगै महोत्सवको समापन हुनेछ।

यस अन्तर्राष्ट्रिय स्तरको नाट्य महोत्सवले विभिन्न देशका कलाकारहरूबीच सांस्कृतिक आदान-प्रदान गर्ने र रंगमञ्च कलाको विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको परिवर्तन थिएटरकी अध्यक्ष एवं निर्देशक कविता नेपालले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad