क्यूएफएक्स लगायतका हलहरूमा यतिबेला ब्यारी जेन्किन्स निर्देशित एनिमेटेड सिनेमा 'मुफासा: द लायन किङ' प्रदर्शनरत छ। सन् २०१९ मा जोन फेब्रो निर्देशित सोही नामको चलचित्र 'द लायन किङ' कै प्रिक्वेलको रूपमा यो सिनेमा बनेको छ। निर्देशक फरक भए पनि यी दुवै फिल्मका पटकथाकार भने एकै हुन्- जेफ नथेन्सन।
छुटाउनै नहुने अर्को कुरा के पनि हो भने सन् २०१९ को 'द लायन किङ' ओरिजिनल हुँदाहुँदै पनि ओरिजिनल भने होइन। बरु यो त एउटा रिमेक सिनेमा थियो जो सन् १९९४ को 'द लायन किङ' नामकै एक एनिमेटेड चलचित्रमा आधारित थियो। सन् १९९४ को ओरिजिनल 'द लायन किङ' लाई इरेन मेक्की, जोनाथन रोबर्ट्स र लिन्डा उल्वर्टन गरी तीनजना मिलेर लेखेका थिए भने रोजर एलर र रोब मिन्कफले संयुक्त रूपमा निर्देशन गरेका थिए।
खैर, यतिबेला हामी रिमेक ओरिजिनलमाथिको प्रिक्वेल सिनेमा 'मुफासा: द लायन किङ'कै बारेमा चर्चा गर्नेछौँ।
२०१९ को सिक्वेल ओरिजिनलमा बाबु सिंह अर्थात् राजा मुफासाको मृत्युपछि छोरो सिम्बा काका स्कारको सल्लाहले प्राइड ल्यान्ड (राजाको गाउँ) छोडेर जंगल पसेको थियो। र समय आएपछि काकाको षड्यन्त्रबारे थाहा पाई प्राइड ल्यान्ड फर्की उसलाई दण्डित गरी आफू राजा भएको थियो। सिम्बाको यही कथामा आधारित रही हाल प्रदर्शनरत प्रिक्वेलमा भने सिम्बाको बाबु, राजा मुफासाको बचपनदेखिको जवानीसम्मको कथा सुनाइएको छ।
जीवनमा के के भोग्दै र सिक्दै आखिर मुफासा प्राइड ल्यान्डको राजा भएको थियो? राजा मुफासा र काका स्कारको इतिहास खोतल्ने एउटा प्रयास नै यस फिल्मको कथावस्तु हो।
सुरुदेखि नै अध्यात्मिक भूमिकामा देखाइएको पात्र रफिकीलाई यस प्रिक्वेलमा भने अघिल्ला फिल्महरूमा भन्दा अलि बढी नै मानवीय चरित्र दिन खोजिएको महसुस हुन्छ। बिम्बात्मक रूपमा देखाइएको यस पात्रको चरित्र चित्रणले डार्विनको विकासवादी सिद्धान्तलाई परोक्ष रूपमा आत्मसात गरेको छ। चरा पात्र जाजुको चरित्रको विस्तृति रोचक ढंगले गरिएको छ।
तर, पुराना सबै पात्रलाई उत्तिकै टाइम एन्ड स्पेस दिन खोज्दा फिल्मले ब्याक एन्ड फोर्थ शैलीमा कथा भन्ने काइदा रोजेको छ, जुन आफैमा राम्रो वा नराम्रो दुवै होइन। तर, बढी नै हिजो र आजमा कथावाचक भौँतारिएको हुँदा यस शैलीले कथाको बहावलाई नै समयसमयमा बिथोलिरहेको हो कि भन्ने भान हुन्छ। घरी आज त घरी हिजोअस्तिको कथा सुनाइरहँदा दर्शकहरूलाई इमोसनल टग महसुस नहोला भन्न सकिन्न।
फिल्म रोचक हुँदाहुँदै पनि बलियो द्वन्द्व निर्माण गर्न नसक्दा अघिल्लो लायन किङको तुलनामा यस लायन किङको प्रस्तुति फितलो लागिदिन्छ। र यस्तो हुनुको सबैभन्दा मुख्य कारण हो खलपात्रलाई स्थापित गर्न नसक्नु।

फिल्मले खलपात्रका रूपमा सेता सिंहहरूको बथान खैरा सिंहको बस्तीमा आक्रमण गर्न पुग्छ। रानी एसेमाथि आक्रमण गर्ने सेतो सिंहसँग जवान मुफासाको लडाइँ चल्छ। मुफासाको जित र यस पात्रको हिरोइजममा फिल्म यसरी अल्झिन्छ कि आखिर उसले हराएको कसलाई हो? हार्ने सिंह कतिको बलवान् थियो? त्यसको चरित्र कस्तो थियो? भन्नेतर्फ कथावाचकले पर्याप्त शब्द वा समय खर्च गर्न, मानौँ बिर्सिएकै होस्।
यसकारण, हिरो त हिरोजस्तो लाग्छ नै तर, भिलेन खासै भिलेनजस्तो लागिदिँदैन। मानौँ, सिंह आफ्नो टक्करको अर्को सिंहसँग भिडिरहेको होइन बरु ऊ त मच्छर मारिरहेको छ।
यस्तै, गीतको अत्यधिक प्रयोगले पनि एउटा उमेर समूहका दर्शकलाई भने फिल्मको प्रस्तुति थप भड्किलो लाग्नसक्छ। यद्यपि, टार्गेट अडियन्सले भने गीतको पाटोलाई रमाएर ग्रहण गर्ने नै छन्।
प्रविधि, ध्वनि र भोइस ओभरमा खोट लगाउने ठाउँ नरहेको यस फिल्मको प्रस्तुतिभन्दा कमजोर पक्ष पटकथा नै हो। अघिल्लो फिल्ममा सिम्बा र मुफासाप्रति जति प्रेम र स्नेह दर्शकलाई थियो त्यति नै घृणा स्कारप्रति थियो। तर, आम दर्शकको फिल्मप्रतिको स्थापित समझ र संवेदना गिजोलिने गरी यस प्रिक्वेलले अघिल्लो फिल्मको खलनायकलाई यसमा भने नायककै कोटीमा राख्ने हरसम्भव प्रयास गरेको छ। यसले फिल्मका कुनै पनि दर्शकहरूलाई रिझाउन सक्नेछैन। बरु, धेरै दर्शक यही कारण हलबाट असन्तुष्ट मुद्रामा निस्किने पक्का छ।
आखिर, एउटा स्थापित पात्रको चरित्रलाई नै बदल्नुपर्ने गरी पटकथाकार जेफ नथेन्सनलाई त्यस्तो के आइपर्यो? डिज्नीले इतिहास खोतल्ने नाममा इतिहास बदल्न गरेको एउटा असफल प्रयास हो यो फिल्म। बरु, कालान्तरमा मेटिएर जाला तर, फेरेर कतै (फिल्मी नै किन नहोस्) इतिहास फेरिएला त? यो प्रश्न डिज्नी र दर्शकहरूकै जिम्मा।
Shares

प्रतिक्रिया