नेपालको चर्चित ब्यान्ड कन्दराले नयाँ वर्ष सन् २०२५ लाई विशेष बनाउँदै नयाँ गीत ल्याउने भएको छ। ब्यान्डले ‘हुनेछस् द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको हो।
यस गीतका शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका छन्। यो गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको छ। देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार, र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ।
यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हस्ताक्षरसहित यस गीतको सफलताको शुभकामना दिएका थिए। गीत छिट्टै सार्वजनिक हुने घोषणा भएको छ, जसले ब्याण्डको साङ्गीतिक यात्रामा अर्को सुनौलो अध्याय थप्ने अपेक्षा गरिएको छ।
ब्यान्डका लेककी हे माया, विदेसिएर गइन् उनी, चञ्चले कान्छीको, भेडी गोठैमा, हङकङ पोखरा, तगारोमा रुमाल लगायतका गीतहरु निकै चर्चित छन्। पश्चिमा शैलीको पप गीतमा नेपाली लोक स्वाद मिसाउँदै आएको यो ब्याण्डले आफ्नो मौलिकता कायम राख्दै श्रोतामाझ विशिष्ट स्थान बनाउन सफल भएको छ।
कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन्। विशेष गरी, ड्रम्समा रहेका सुनिल थापा ब्याण्डका स्थापना कालदेखिका सदस्य हुन्।
हाल कन्दरा आन्तरिक र बाह्य पर्यटनलाई बढवा दिने उद्देश्यका साथ देश घुम्न, देश बुझ्न ‘पहिला घरदेश अनि परदेश’ नारासहितको अभियानमा छ। नेपाल टुर अन्तर्गत गण्डकी, कोसी र बागमती प्रदेशमा सफलताका साथ प्रस्तुति सम्पन्न गरिसकेको छ।जनवरी २०२५ देखि बेलायतबाट वर्ल्ड टुरको सुरू गर्दैछ।
Shares

प्रतिक्रिया