ad ad

कला


नेपाल आइडलकी सलोमी गुरुङ, जसलाई सेकेन्ड भएकोमा छैन दु:ख (भिडिओ)

नेपाल आइडलकी सलोमी गुरुङ, जसलाई सेकेन्ड भएकोमा छैन दु:ख (भिडिओ)

सलोमी गुरुङ, फस्ट रनरअप, नेपाल आइडल–५ (फोटो/भिडिओ : सरोज नेपाल)


लक्ष्मी बलायर
असार २०, २०८१ बिहिबार ९:५८, काठमाडौँ

पोखराको एक मन्टेस्वरीमा पढाउँथिन् सलोमी गुरुङ। गएको माघ महिनामा उनले मुस्कान रानाभाटबाट नेपाल आइडलको अडिसनबारे थाहा पाइन्।

‘माघ अन्तिमतिर पोखरामा अडिसन हुँदैछ। तिम्रो स्वर राम्रो छ, अगाडि बढ्न सक्छौ! ट्राइ गर है,’ मुस्कानले भनिन्।

सानैदेखि गीत गाउन भनेपछि हुरुक्कै हुन्थिन् सलोमी। तर, संगीतबारे औपचारिक ज्ञान नहुँदा उनलाई अडिसन दिने आँट आइरहेको थिएन। आफू तयार नभएको भन्दै उनले अडिसन नदिने जवाफ फर्काइन्।

केही दिनपछि फेरि मुस्कानको फोन आयो। उनले सिधै भनिन्, ‘भोलि पोखरामा अडिसन छ, आउनुपर्छ है।’

त्यसपछि सलोमी फसादमा परिन्।

भन्छिन्, ‘मुस्कान दिदीले भोलि पोखरामा अडिसन छ, आउनुपर्‍यो भन्नुभयो। म रेडी छैन, आउँदिनँ भने। तर, उहाँले तिमी सक्छौ भनेर मोटिभेट गर्नुभयो। दाजुभाउजूले पनि हाम्रो लागि भएनि ट्राइ गर भन्नुभयो। त्यसपछि बल्ल अडिसन दिन गएँ।’

भिडि‌ओ :

अडिसनमा सलोमीले सिने गुरुङ र सबिन राईको ‘माया’ बोलको गीत गाएकी थिइन्। जुन प्रस्तुतिलाई जजहरूले निकै मन पराए। र, सलोमीलाई अघिल्लो राउन्डको लागि काठमाडौँ बोलाए। अनि सुरु भयो सलोमीको नेपाल आइडलको यात्रा।

तिनै सलोमी अघिल्लो साता नेपाल आइडलको पाँचौँ संस्करणको उपविजेता बन्न सफल भएकी छिन्। सलोमीले १० लाख पुरस्कार हात पारिन्।

‘४२ जना हामी क्याम्पमा बसेका थियौँ। त्यहाँ बस्दा एकअर्काको गीत सुन्न गरिन्थ्यो। उहाँहरूले गाएको सुन्दा त म सक्दिनँ होला भन्ने लाग्थ्यो। किनकि धेरैलाई म्युजिकको राम्रो ज्ञान थियो। एपिसोडपिच्छे आउट हुन्छु होला भन्ने सोच्थेँ। यहाँसम्म आइपुग्छु भन्ने त सोचेको पनि थिइनँ,’ फस्ट रनरअप बनेकी सलोमीले खुसी हुँदै भनिन्।

करण परियार यो वर्षको नेपाल आइडलका विजेता हुन्।

‘फस्ट रनरअप भनेर घोषणा हुँदा मै हुन्छु कि जस्तो पनि लागेको थियो। किनभने दर्शकले करणलाई बढी रुचाउनुभएको थियो। तर, त्यो भन्दाअगाडिको राउन्डमा करणको थोरै भोट आएको थियो। फेरि गुरुङ समुदायले मज्जाले सपोर्ट गर्नुहुन्छ। जसकारण कतै मैले पो जित्छु कि भन्ने पनि महसुस भइरहेको थियो,’ उनले भनिन्।

आफूभन्दा पनि करण नै उपाधिको हकदार भएको उनको भनाइ छ।

भन्छिन्, ‘फस्ट रनरअप हुँदा केही लागेन। आइडलको समयमा हामी यति क्लोज भयौँ कि करण भाइजस्तो लाग्छ। उसको जितमा नै म खुसी छु। किनकि ऊ योग्य छ। मलाई माया गर्नेको लागि मैले जित्नुपर्छ लाग्थ्यो। तर, मेरो लागि मैले नेपाल आइडल जितिसकेको छु।’

गाउने इच्छा
पोखराको बीपीमार्गमा जन्मिएकी हुन् सलोमी। हाल चाउथेमा बस्ने २४ वर्षीया सलोमीलाई सानैदेखि गायनमा रुचि थियो।

विद्यालयमा भविष्यमा के बन्छौ भनेर सोध्दा अरुले डाक्टर, नर्स र इन्जिनियर बन्छु भन्थे। तर, सलोमी भने सानैदेखि भविष्यमा सिंगर बन्छु भनेर सुनाउँथिन्।  

सानैबाट संगीततर्फ ढल्किएकी सलोमी होमवर्कभन्दा पनि गीत गाउनमै चासो राख्थिन्। उनको संगीतप्रतिको लगाव देखेर घरपरिवारले पनि सलोमीलाई गीत गाउन पठाउनुपर्छ भन्थे। परिवारमा पनि सांगीतिक माहोल भएकाले झन संगीतप्रति रुचि जागेको सुनाउँछिन् उनी।

‘परिवारमा सबैजना गाउन मन पराउनुहुन्छ। बुवाआमा गीत गाउनुहुन्छ। फूपुले किबोर्ड बजाउनुहुन्छ। भाइलाई पनि गीत गाउन मन पर्छ। गितार पनि बजाउँछौँ। हाम्रो त घरमै ब्यान्ड बन्छ। त्यो माहोलले झन् इच्छा जाग्यो। सांगीतिक कार्यक्रम आउनेबित्तिकै परिवार र साथीहरूले एकपटक ट्राइ गर न भन्थे,’ उनले सुनाइन्।

तर, एसएलसी दिएपछि बढी गीत गाउन थालिन् उनी।

‘एसएलसी दिएपछि खाली समयमा बढी गाउन थालेँ। त्यतिखेर भर्खेरै गितार किनेकी थिएँ। त्यतिबेला मोबाइलबाट गीत सुनेर गितार बजाउँदै गीत गाउँथेँ,’ उनी भन्छिन्।  

प्लस टुमा सलोमी व्यवस्थापन संकायमा भर्ना भइन्। प्लस टु सकिन लाग्दा केही काम गर्न मन लाग्यो। त्यसपछि बच्चा मन पराउने सलोमी पोखराकै डिज्नी मन्टेस्वरी एन्ड प्रिस्कुलमा पढाउन समेत थालिन्। साथै लेकसाइडको रेस्टुरेन्टमा गीत गाउन थालिन्। एज ब्यान्डको प्रोगाममा समेत प्रस्तुति दिएको बताउँछिन् उनी।

सलोमी पोखरामा भएको सांगीतिक प्रतियोगिता बिग आइकनमा पनि सहभागी भइसकेकी छिन्। जहाँ उनी टप ९ सम्म पुग्न सफल भएकी थिइन्। त्यहिबेला नै सलोमीले मुस्कानलाई पहिलोपल्ट भेटेको। नेपाल आइडलको सिजन ३ मा प्रतिस्पर्धामा गइसकेकी मुस्कानले आफूलाई सधैँ हौसला दिने उनको भनाइ छ।

सलोमी नेपाल आइडलको नियमित दर्शक हुन्। रियालिटी सो मन परे पनि डरले अडिसन दिन जान सकेकी थिइनन्।

‘सिजन वानदेखिनै मैले नेपाल आइडल हेर्नु सुरु गरेको। यसमा अडिसन दिन्छु भन्ने सोचेको थिइनँ। किनभने मलाई डर लाग्थ्यो। क्लास लिएको छैन, त्यहाँ सक्दिनँ होला भन्ने लाग्थ्यो। क्लास लिन पनि समय मिलिरहेको थिएन,’ सलोमी भन्छिन्।

व्यवस्थापनमा प्लस टु गरेपनि पढाउन थालेपछि सलोमीले पुन: शिक्षा संकायमा भर्ना गरिन्। नेपाल आइडलमा आउनुअघि सलोमीले सातवर्ष मन्टेस्वरीमा अध्यापन गराइन्।

सबिन राई, सिने गुरुङ, जोन राई, सज्जनराज वैद्य लगायतकाको गीत मन पराउने सलोमी विशेषत सफ्ट पप जनराका गीत गाउन रुचाउँछिन्।

स्नातकमा संगीत पढ्ने योजना
यसअघि केही गीतहरूमा स्वर दिइसकेकी सलोमीलाई आइडलले चर्चित बनाइदिएको छ।

‘आइडलले छोटो समयमै फेम दिएको छ। यसले दर्शकमाझ एकैचोटि माथि पुर्‍याएको छ। त्यसपछि मेहनेत कसरी गर्ने भन्ने कुरा हो,’ उनी भन्छिन्।

आइडलमा आएपछि आफूले धेरै सिकेको दाबी छ उनको।

भन्छिन्, ‘पहिले म म्युजिकको ज्ञानबिना गाउँथे भने अहिले धेरैथोरै ज्ञान छ। आइडल आएर नै गुरुबाट धेरै सिक्न पाएँ। बिहानबिहान रियाज हुन्थ्यो। जहाँ कसरी रियाज गर्नेदेखि गीत गाउने तरिका थाहा पाएँ। अहिले म्युजिकलाई अलिकति बुझेकी छु। गीत गाउँदा पनि सजिलो भएको छ।’

संगीतलाई साथीको रूपमा हेर्ने सलोमीले यसै क्षेत्रमा करिअर बनाउन मन छ। स्नातकमा संगीत विषय लिएर पढ्ने समेत उनको योजना छ।

‘अब म्युजिकतिर नै लाग्छु। अहिले अन्तर्वार्तामा व्यस्त छु। अब पोखरा गएपछि गीत रेकर्ड गराउँछु। आफैँले पनि गीत लेख्न कोसिस गर्दैछु। ब्याचलरमा संगीत नै पढ्ने मन छ,’ सलोमीले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .