ad ad

जीवनशैली


विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?

विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?

नेपालखबर
असार २१, २०८१ शुक्रबार ८:१०,

थुप्रै मानिसलाई कुनै न कुनै किसिमको डर हुन्छ। डरका कारण अनेक हुन सक्छन्। पछिल्लो अध्ययनले मानिसहरू विवाहसँग पनि डराउने तथ्य खुलेको छ। विवाहसँग डराउने मानिसहरू दुलहाको भेषमा रहेका पुरुष हुन् अथवा रातो लुगा लगाएको दुलही, उनीहरूलाई देख्नासाथ त्रसित् हुने गर्दछन्।

यो पनि एक प्रकारको मानसिक रोग भित्र पर्दछ। यस प्रकारको रोगलाई मनोचिकित्सकीय भाषामा ‘विवाह फोबिया’ वा ‘गामोफोबिया’ भनिन्छ। कतिपयले यही रोगका कारण बलिउड अभिनेता सलमान खानले ५८ वर्षको उमेर बितिसक्दा पनि विवाह नगरेको दाबी पनि गर्छन्।

सलमान खानका पिता सलिम खानको एउटा भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। भिडिओमा सलिमले सलमानको विवाह नगर्ने निर्णयमा आफ्नो राय दिइरहेका छन्।

सलिम खान भन्छन्, ‘सलमान सजिलै सम्बन्ध बनाउँछन्। तर विवाह गर्ने हिम्मत जुटाउन सक्दैनन्। उनी विवाहको बारेमा कुरा गर्न हिचकिचाउँछन्। सामुन्नेकी व्यक्तिमा आफ्नी आमाको जस्तो गुण र क्षमता छैन भनेर उनी डराउँछन्।’ 

सलिम खानले विवाहसम्बन्धी सलमानको डर र चिन्ताको कुरा गरेका छन्। त्यसैले उनलाई विवाह फोबिया रहेको अड्कल गरिएको हो।

विचार गर्नुपर्ने कुरा के छ भने ‘गामोफोबिया’ भएका व्यक्तिहरू सम्बन्धदेखि डराउँदैनन्। उनीहरूलाई सम्बन्ध गाँस्न कुनै समस्या हुँदैन। तर, त्यो सम्बन्धलाई कुनै निष्कर्षमा पुर्‍याउने साहस उनीहरूमा हुँदैन। र, त्यो सम्बन्धलाई राम्रो वा खराब जुनसुकै मोडमा छाड्न सक्छन्। सम्बन्ध र पार्टनरलाई सोचे जस्तो महत्व, ऊर्जा, समय र प्रतिबद्धता दिन पनि सक्दैनन्। 

गामोफोबिया रोग वैवाहिक सम्बन्धका लागि मात्रै होइन, हरेक सम्बन्धका लागि खतरनाक मानिन्छ। ‘क्लिभल्यान्ड क्लिनिक’को रिपोर्ट अनुसार ग्यामोफोबिया भएका व्यक्तिहरूलाई कुनै पनि प्रकारको प्रतिबद्धता गर्न गाह्रो हुन्छ। उनीहरूमा आत्मविश्वासको कमी हुने रिपोर्टमा उल्लेख छ। 

विवाह गर्न वा कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्न प्रतिबद्धता चाहिन्छ। ग्यामोफोबियाबाट ग्रसित व्यक्ति मानसिक रूपमा यसका लागि कहिल्यै तयार हुँदैनन्। यस्तो व्यक्तिले कसैको दबाबमा बिहे गरे पनि सम्बन्ध टिकाउन नसक्ने खतरा हुन्छ।

यस बाहेक शिक्षा, करिअर र सामाजिक सम्बन्धमा पनि गामोफोबियाका कारण नकारात्मक असर पर्न सक्छ। उदाहरणका लागि, गामोफोबियाबाट पीडित व्यक्तिलाई अफिसमा हाकिमले कुनै कामको समय माग्दा यस्ता व्यक्तिले निश्चित मिति दिनुको सट्टा ‘सर, म गर्छु, सकेसम्म चाँडो म प्रयास गर्नेछु’ भन्ने जवाफ दिन्छन्। 

सामान्यतया केटा र केटीहरूले बाल्यकालदेखि नै विवाहको सपना देख्न थाल्छन्। उनीहरूले सानै उमेरमा पुतली बिहे गर्छन्। मानिसका थुप्रै सपना जीवनमा अधुरै रहन्छन्। तर, अधिकांशले विवाहको सपना भने पूरा गर्छन्। विवाहसँग डराउने मानिसको संख्या थोरै हुन्छ। क्लिभल्यान्ड क्लिनिकका अनुसार गामोफोबियाबा ३ कारण छन्।

१. पारिवारिक इतिहास
२. सामाजिक अभिमुखीकरण
३. आनुवंशिकी

यी कारणहरूलाई हेर्ने हो भने कतिपय अवस्थामा यो डर वंशानुगत रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ। कयौँ पटक आफ्नो वरिपरि नराम्रो सम्बन्ध देखेर साना केटाकेटीहरूको मनमा बिहेको एक प्रकारको डर पैदा हुन्छ, जसले बिस्तारै गामोफोबियाको रूप लिन्छ र उनीहरू बिहे गर्न अस्वीकार गर्न थाल्छन्।

समयमै गामोफोबिया रोगका बारेमा बुझ्न सकियो भने उनीहरूलाई यो डरबाट बाहिर निकाल्न सकिने चिकित्सकहरूले बताएका छन्। यो रोग बेलैमा थाहा पाएको खण्डमा थेरापीको मद्दतले निको पार्न सकिने विज्ञहरूको भनाइ छ।

थेरापीमा पीडितलाई दैनिक परिस्थितिहरूमा कसरी सोच्ने र प्रतिक्रिया गर्ने भनेर सिकाइन्छ। यो थेरापीले मानिसहरूको सोच्ने तरिकालाई परिवर्तन गर्ने प्रयास गर्छ। यहि थेरापीको माध्यमबाट विवाह र दीर्घकालीन सम्बन्धको डर हटाउने प्रयास गरिन्छ।

तर, के विवाहसँग डराइरहेका अथवा लामो समयसम्म विवाह नगरी बसेका सबैलाई गामोफोबिया नै भएको हुन्छ त? गामोफोबिया विवाह नगर्नु वा रोमान्टिक सम्बन्धबाट टाढा रहनुको एक मात्र कारण होइन।

विवाह र रोमान्टिक सम्बन्धबाट टाढा रहनु कसैको व्यक्तिगत छनोट पनि हुन सक्छ। कतिपय देशमा आजीवन ब्रह्मचार्यको चलन छ। धेरै व्यक्तिहरू छन्, जसले कुनै खास उद्देश्यका लागि, जीवनभर विवाह नगर्ने निर्णय गरेका छन्। उनीहरूलाई भने गामोफोबिया भएको हुँदैन।

गामोफोबियाका लक्षणहरू 
सम्बन्धमा वाचा वा प्रतिबद्धताहरू गर्न अनिच्छुक।
भविष्यको बारेमा कुरा गर्न नचाहने।
दीर्घकालीन सम्बन्धको सट्टा आकस्मिक सम्बन्धलाई प्राथमिकता दिने।
विवाहित व्यक्तिहरूलाई निम्न स्तरको ठानेर उनीहरूप्रति पूर्वाग्रह राख्ने।
सम्बन्धको कुरा गर्दा आत्मीयताको कमी।
त्याग्ने वा अस्वीकार गर्ने डर।

(दैनिक भास्करबाट)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .