बाँसुरीको मधुर धुन। मञ्चमा प्रकाश परेसँगै देखिन्छिन् उषा (रक्षा थापा)। जो टोलाएर बसिरहेकी हुन्छिन्। सोहीबेला घरमा टुप्लुक्क आइपुग्छन् प्रशान्त (पुष्कर कार्की)।
पल्टनबाट सरप्राइज दिन आएका उनी उषाका प्रेमी हुन्। प्रशान्त आएसँगै उषाको अनुहार केही उजालिन्छ। त्यहीबेला उषालाई प्रशान्तले घरमा बिहेको चलाएको कुरा सुनाउँछन्। जुन खबरले आत्तिन्छिन् उषा।
पेसाले नर्स हुन्छिन् उषा। केही वर्षअघि अस्पतालबाट घर फर्किंदा उनको सामूहिक बलात्कार भएको हुन्छ। जुन घटनाबारे प्रशान्त पनि जानकार हुन्छन्। प्रशान्तले नै उषालाई त्यो ट्रमाबाट बाहिर निकालेका हुन्छन्। र, त्यसलाई सामान्य सोच्दै प्रशान्तले उषासँग नयाँ सुरुवात गर्न चाहन्छन्।
तर, उषालाई भने आफ्नो विगतबारे परिवारलाई पनि थाहा होस् भन्ने लाग्छ। र, उनी बिहे गर्नुअघि एकपटक परिवारसँग कुरा गर्न आग्रह गर्छिन्। तर, प्रशान्तले आफ्नो परिवार शिक्षित भएको र यस कुरालाई सामान्य लिने बताउँछन्। उषाले निकै कर गरेपछि प्रशान्तले परिवारसँग कुरा गर्ने वाचा गर्छन्। र, केहीसमयपछि उषा र प्रशान्तको बिहे हुन्छ।
के साँच्चै प्रशान्तले उषाको विगतबारे बुवाआमासँग कुरा गरेका होलान्? उषाबारे थाहा पाएपछि परिवारको प्रतिक्रिया के होला? र, के प्रशान्तको परिवारले बलात्कृतलाई बुहारीको रूपमा स्वीकार गर्ला? यी प्रश्नको जवाफ नाटक ‘अंकुरण’ले दिनेछ।
रंगकर्मी सागर कार्कीको लेखन र निर्देशन रहेको यस नाटकले बलात्कृत महिलालाई परिवार र समाजले गर्ने व्यवहारको कथा भनेको छ।
‘हामी बलात्कारका घटनाहरू सुनिरहेका हुन्छौँ। जो रेपमा पर्नुहुन्छ, उहाँहरू कोही पनि अपराधी होइन। खासमा जो रेप गर्छ त्यो अपराधी हो। तर, रेप गर्नेले एकचोटि सजाय भोगे पुग्छ। बलात्कृत महिलाले भने जीवनभर सजाय भोग्नुपर्छ। जुन हाम्रो समाजको सोच र बुझाइको उपज हो। त्यसैले पनि यो मुद्धामा काम गरौँ भन्ने सोच आएको हो,’ उनले भने।
परिवार र समाजको सोच मात्रै नभई बलात्कृत महिलाको स्वतन्त्रताको पाटो पनि नाटकमा हेर्ने पाइने उनको दाबी छ।
उनले भने, ‘बलात्कृत महिलाको मनोदशासहित समाजले हेर्ने दृष्टिकोणलाई नाटकमा हेर्न पाइन्छ। साथै हामीले स्वतन्त्रतालाई समेत जोड दिएका छौँ। एक बलात्कृत महिलाले स्वतन्त्र हुन भोग्नुपरेको आरोहअवरोह वरिपरि नाटक बनेको छ।’
सागरले गत चैतमा यस नाटकको कथा लेखेका हुन्।
‘धेरैले यस्तो संवेदनशील विषयमा नगर भन्ने सुझाव दिनुभएको थियो। तर, मलाई यसै विषयमा नाटक देखाउनु थियो। पुरुष भएर महिलाको कथा भन्न सकिँदैन भन्ने पनि होला। कतिपय अवस्थामा सकिँदैन पनि होला। तर, कोसिस गरेको छु। यसको लागि सयडेढ सय महिलासँग कुरा समेत गरेकी छु। प्रशान्तलाई उभ्याउँदा आफू उभिएको छु। उषाको क्यारेक्टर लेख्दा दिदीबहिनी र आमासँग रिलेट गरेको छु,’ कार्कीले भने।
उनले बलात्कृत भएका महिलाहरूलाई सामान्य रूपमा हेर्न समेत आग्रह गरे, ‘यो कुरालाई सहज रूपमा लिएर अघि बढ्नुपर्छ। त्यो घटनालाई ठूलो मुद्धा नबनाऔं। यो एउटा दुर्घटना मात्र हो। घटनालाई सहज रूपमा लिएर बलात्कृत महिलालाई सहज बनाउनुपर्छ भन्ने कथाको सन्देश हो।’
यस नाटकले पितृसत्तात्मक समाजसहित शिक्षित भनिएका परिवारलाई समेत व्यङ्ग्य गर्छ। साथै यौनलाई पुरुषको मात्रै सोच्ने प्रवृत्तिमाथि नाटकले प्रहार गर्ने सुनाउँछन् उनी।
नाटक ‘अंकुरण’ आजबाट सुरु हुने म्याडफेस्टको ओपनिङमा दिउँसो ३ बजेबाट मञ्चन हुँदैछ। यो फेस्टिभल मण्डला थिएटरका पूर्वविद्यार्थी र मण्डला थिएटरको संयुक्त प्रयासमा हुन लागेको हो। हाल ओजस थिएटरका सञ्चालक सागर मण्डला थिएटरका आठौं ब्याचका विद्यार्थी हुन्।
दर्जनौं नाटकमा काम गरिसकेका उनले यसअघि ‘हराएको सपना’ र ‘नांग्लो’ समेत निर्देशन गरिसकेका छन्। म्याडफेस्टले आशाका किरण जगाएको बताउँदै नाटक पनि आशाकै जागरणमा भएकाले अंकुरण शीर्षक राखिएको उनले सुनाएँ।
नाटकमा रक्षा थापाले उषाको चरित्र निर्वाह गरेकी छिन्। हालै रिलिज भएको ‘बाटो रोड टु डेथ’को मुख्य भूमिकामा देखिएकी रक्षा पनि मण्डलाकै सातौँ ब्याचकी विद्यार्थी हुन्।
महिलाकै मुद्धा भएकाले यस नाटकमा जोडिएको उनको भनाइ छ। नाटक खेलिरहँदा आफूलाई निकै गाह्रो भएको सुनाउँछिन् उनी।
‘सुरुमा नाटक खेल्दा निकै गाह्रो भएको थियो। किनभने मैले त्यो ठाउँमा कहिले पनि आफूलाई सोचेकी थिइनँ। न्युज सुन्दा सानत्वना जागे पनि समानुभूति महसुस हुन्नथ्यो। नाटक खेल्दा आफैँ फिल गर्न थालेँ। पीडितलाई कस्तो फिल हुँदोरहेछ, बुझ्न थालेपछि साँच्चिकै उहाँहरूको पीडा, डर र ट्रमा थाहा भयो,’ उनी भन्छिन्।
नाटकभित्र उषालाई निकै बलियो पात्रको रूपमा पाएको उनको बुझाइ छ।
भन्छिन्, ‘धेरै कुरा भोगेपछि उषालाई अहिले केही कुराले छुँदैन। उषाले जीवनमा यति धेरै कुरा भोगिसकेको छ कि अब उसलाई सानो कुराको मतलबै छैन। समाजको मतलब छैन। आफ्नो जीवन स्वतन्त्र रूपमा जिउन पाउनुपर्यो, उसको लागि त्यही नै ठूलो कुरा हो।’
त्यस्तै, अर्का मुख्य पात्र प्रशान्तको भूमिकामा छन् पुष्कर कार्की। मण्डलाकै नवौँ ब्याचका पुस्करले प्रेमगीत ३, जुलेबी, खजुरे ब्रो लगायतका फिल्महरूमा समेत काम गरिसकेका छन्।
पात्रको मनस्थितिसँग खेल्न रुचाउँछन् उनी। जसकारण आफूले प्रशान्तको चरित्र रोजेको सुनाउँछन् उनी।
‘हामीले महिलाका भोगाइहरू सुनिरहेका हुन्छौँ। तर, भित्रबाट कहिले नि महसुस गर्न पाएका हुँदैनौँ। पात्रले भोगेको जीवनको छेउसम्म नि पुग्न सकिरहेको हुँदैनौँ। खालि मौखिक सान्त्वना मात्र दिन खोजिरहेका हुन्छौँ। सुरुमा अर्कै चरित्र थियो। तर, मलाई प्रशान्तकै क्यारेक्टर खेल्न मन लाग्यो,’ उनले भने।
नाटकले सानो ठानिएको घटनाले कसरी सम्बन्धलाई तहसनहस बनाउँछ भन्ने पनि देखाउने उनको भनाइ छ। नाटकको रिहर्सलमा जोडिएपछि प्रशान्त पात्रले आफ्नो मानसपटल हल्लाइरहेको उनको अनुभव छ।
‘यो चरित्र गर्दा धेरै कुरा थाहा पाएँ। प्रशान्तको क्यारेक्टरसँग यति नजिक पुगिसकेको छु, पात्रको उसको भोगाइ बाँच्दा मेरो मानसपटल दिनहुँ हल्लाइरहेको छ,’ उनले भने, ‘हेर्नु र भोग्नुमा धेरै नै ठूलो अन्तर हुँदोरहेछ। किनभने हामीले सधैँ एउटा चरित्र गर्देछौँ भने गर्नको लागि गरेर हुँदैन। उसको भित्रको मनस्थिति र मनोभाव के छ? बेथितिको बारेमा नियालेर पात्र बाँच्नुपर्छ। बाँच्दै जाँदा कनेक्ट हुन्छ। आनन्दले सुत्ने मान्छे म सुत्न सकिरहेको छैन।’
यस नाटकमा रक्षा र पुष्करसहित आर्चर पन्त, विवेक कटवाल, कोहिनुर विश्वकर्मा, अनुजा अधिकारी, दीपक पछल्दंग्या, उगर लिम्बु, दीया दुमी राई, सम्झना राई, स्नेहा जोशी लगायतको अभिनय छ। तीन दिनसम्म चल्ने फेस्टिभलपछि यो नाटक दैनिक मञ्चन समेत हुनेछ।
Shares
प्रतिक्रिया