ad ad

कला


फुटबल खेलाडी बन्ने सपना त्यागेका धिरजको सफल फिल्मी यात्रा

फुटबल खेलाडी बन्ने सपना त्यागेका धिरजको सफल फिल्मी यात्रा

राधिका अधिकारी
भदौ २५, २०७९ शनिबार १८:९, काठमाडौँ

सन २०१६ मा नेपाली रजतपटमा डेब्यु गर्दैगर्दा धिरज मगरलाई लागेको थियो– म फिल्मका लागि जन्मिएको होइन। उनी त फुटबल खेलाडी बन्ने सपना देख्दै हुर्किएका हुन्। उनी रोनाल्डोजस्तै खेलाडी बन्न चाहन्थे। स्कुलमा खेले पनि।

तर, पढाइ छाडेर खेलमा केन्द्रित हुन सकेनन्। पढाइलाई महत्व दिए। मनले देखेको एउटा सपना त्यही छुट्यो उनको। मनको एउटा कुनामा आज पनि फुटबल मोह छँदैछ। यसै साताको भेटमा धिरजले भने ‘पहिलो पटक देखेको सपनाको आकर्षण बेग्लै हुँदो रहेछ।’

उनका बुबा बेलायती गोर्खा सैनिक राजकुमार मगरको सपना थियो, छोरो सेनामै भर्ती होस्। तर, नेपालमा जन्मिएर २ वर्षकै उमेरमा देश छोडेका धिरजलाई उनका बुबाले छोरामाथि आफ्नो सपना लादेनन्। 

भ्लगरका रुपमा चर्चा
धिरज बुबा, आमा र दिदीबहिनीसँग बेलायतमा हुर्कए। बेलायतमै पढे। स्कुलको पढाइ सकिएपछि कलेज सुरु हुनुअघि दुई महिना लामो बिदा भयो। धिरजले सोचे, ‘यो बिदामा केही रचनात्मक काम गरुँ।’

साथीहरुसँग मिलेर कमेडी भिडिओ निर्माण गर्थे। त्यसैबाट उनी बिस्तारै चर्चित हुँदै गए। राम्रो प्रतिक्रिया आउन थालेपछि उनले यात्राका भ्लग बनाउन थाले। पहिलो भ्लगले नै राम्रो दर्शक पायो। उनलाई रमाइलो लाग्यो। उत्साहित पनि भए। भ्लगबाट केही पैसा र टन्नै प्रशंसक कमाए।

सन २०१३ मा उनले आफ्नै युट्युब खोले। उनलाई विश्वभरिका मानिसले हेर्न थाले। उनको भ्लगप्रति बेग्लै क्रेज थियो। आफ्नो रहरले भ्लग निर्माण गरिरहेका धिरजलाई एकदिन कोरियाको टुरिजम बोर्डले मेल पठायो। मेलमा लेखिएको थियो, ‘तिम्रो एक हप्ताको समय हामीलाई देऊ। यहाँको संस्कृति, स्थान र खानाबारे भ्लग निर्माण गरिदेऊ। तिमीलाई राम्रो पैसा दिन्छौँ।’ 

धिरजले बुबालाई सुनाए। सुरुमा त उनको कुरा बुबाले पत्याएनन्। धिरज आफैंलाई पनि कहाँ लागेको थियो र जीवनमा यति ठूलो अवसरले कुरिरहेको छ भनेर। तर उनले बुबालाई मनाए। उनी सम्झिन्छन्, ‘त्यो बेला बाबाममी निकै खुसी हुनुहुन्थ्यो।’

भ्लगका लागि कोरिया, थाइल्यान्ड लगायतका देशमा पुगेका छन्। नेपालमा पनि उनी चर्चित भए।

पहिलो फिल्मबाटै स्टार
सन २०१६ को कुरा हो, उनी बेलायतमै एउटा डान्स कम्पिटिसन सञ्चालन गरिरहेका थिए। सोही कार्यक्रममा सहभागी हुन पुगेकी रेनशा बान्तवा राईले फिल्ममा धिरजको सम्भावना देखिन्। सामान्य चिनजानकी रेनशाले धिरजलाई फिल्मको अफर गरिन्। धिरजलाई अभिनय गर्न सक्छु भन्ने न आत्मविश्वास थियो, न सपना नै। 

उनको परिवारका कोही पनि फिल्म उद्योगमा थिएनन्। फिल्म हेरेरै मात्र उनका आँखाले हिरो बन्ने सपना देखेका थिएनन्। तर फिल्मको स्क्रिप्ट पढेपछि उनको आत्मविश्वास पलायो। उनले फिल्ममा काम गर्ने निर्णय गरे। फिल्म क्षेत्रमा छोरो जाओस्, उनका बुबा–आमाको चाहना थिएन। उनको परिवारको रोजाइमा फिल्मी दुनियाँ पर्दैनथ्यो। अझै उनका बुबालाई डर थियो, ‘फिल्ममा सोचेको जस्तो भएन भने त्यसको असर छोराको करिअरमा पर्छ।’ 

धिरजले भने जोखिम मोलेरै नेपाल आउने चाहना राखे। उनका चाहनाका अघि बुबाको केही लागेन। उनी अहिले पनि सम्झिन्छन्, ‘म इन्टुमिन्टु लण्डनको वर्कसपका लागि नेपाल आउँदा उहाँहरु निक्कै चिन्तित हुनुहुन्थ्यो।’

त्यसो त नेपाल आएर उनलाई पनि सजिलो भएको थिएन। कहिलेकाहीँ बिदामा छोटो समय परिवारसँग नेपाल आए पनि उनी यसअघि एक्लै कहिल्यै आएका थिएनन्। यहाँ आएपछि उनलाई एक्लोपनले सतायो। बा–आमाको सम्झना आयो। काठमाडौंको धुँवाधुलोसँग बानी पर्न समय लाग्यो। नेपाल बसाइ लामो भयो। बेलायत बसेर नेपाल मिस गर्ने धिरज नेपाल बसेर बेलायत सम्झिन्थे। तर उनले बुबा आमालाई सुनाएनन्। 

‘इन्टुमिन्टु लन्डन’को वर्कसप सकियो। उनले फिल्ममा काम गरे। धिरजले पहिलो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन सेयर गरे। पहिलो फिल्मबाटै धिरजलाई दर्शकले पत्याए। त्यसपछि धिरजले डेब्यु चलचित्रकी निर्देशक रेनशा वान्तवा राईकै दोश्रो चलचित्र ‘आई एम ट्वेन्टी वान’मा काम गरे। अब त धिरज फिल्मभन्दा परको दुनियाँ सोच्न सक्दैनन्। उनलाई यही उद्योगमा केही गर्नुछ। त्यसैले लामो समयदेखि बा–आमा छोडेर उनी एक्लै नेपालमा बसिरहेका छन्।

उनको पछिल्लो फिल्म ‘बाबरी’ रिलिजको संघारमा छ। यो फिल्म धिरजको उज्यालो फिल्मी करिअरका लागि पनि चल्नै पर्ने देखिन्छ। ‘इन्टु मिन्टु लन्डनमा’ धिरजले त्यही भूमिका निर्वाह गरे, जुन जीवन उनले बाँचिरहेका थिए। तर ‘बाबरी’मा आउँदा उनी फरक भूमिकामा देखिँदैछन्। धिरज भन्छन्, ‘बाबरी मेरो लागि निक्कै महत्वपूर्ण छ। यो मुभीमा मैले आफूलाई चिनाउने चरित्र निर्वाह गरेको छु।’

बाँच्दै नबाँचेको जीवन फिल्ममा बाँच्दै गर्दा उनलाई केही गाह्रो भएको थियो। तर सपनाले तानेर ल्याएपछि कठिनाइहरु कठिन लाग्दैन रहेछन्। थाहै नभएको संस्कृति, जाति र पूर्वेली लवज, सबै नौलो थियो उनका लागि। हुन त लन्डनमा बसे पनि उनलाई उनका आमा–बुबाले सानैबाट नेपाली भाषामा बोल्न सिकाए। त्यहाँको नेपाली समुदायले उनलाई भनिरहेको हुन्थ्यो, ‘तिमी कस्तो राम्रो नेपाली बोल्छौ।’ धिरजलाई थाहा थिएन आफ्नो भाषा साँच्चै राम्रो छ या यसै भनिएको हो। बाबरी छायांकनका क्रममा कत्ति नेपाली शब्द ठ्याक्कै पूर्वेली टोनमा उच्चारण गर्न गाह्रो हुन्थ्यो। यहाँ आएपछि नेपाली भाषा पनि झन् खारिएर गयो। 

बाबरीमा उनले नायिका अदिति बुढाथोकीसँग स्क्रिन सेयर गरेका छन्। अदिति कामको सिलसिलामा देशबाहिर छिन्। धिरज आफू हुर्किएको समाज, परिवार छोडेर फिल्म प्रमोसनमा छन्। धिरजलाई यो फिल्मको प्रिमियरमा बुबा–आमालाई पनि सामेल गराउन मन छ। उनले पहिलो फिल्मको प्रिमियरमा बा–आमासँगै बसेर फिल्म हेर्न पाएनन्। त्यो इच्छा यो फिल्मबाट पुरा गर्नुछ। उनी कोसिसमा पनि छन्। 

फुटबल खेलाडी बन्ने लक्ष्य लिएका धिरजले १४/१५ वर्षको उमेरसम्म फुटबललाई नै साथी बनाए। प्रतिस्पर्धा धेरै थियो। मेहनत अचाक्ली गर्नु पर्ने। उनी आफ्नै सपनासँग पराजित भए। खेलाडी बन्ने लक्ष्य छाडे। अब फिल्म क्षेत्र छोडेर अरु केही गर्न सक्छु भन्ने उनलाई लाग्न छोडेको छ। भन्छन,् ‘यस्तै रहेछ कलाकारको जीवन। यो इन्डस्ट्रीमा मैले पाइला टेकिसकेँ। अब यसलाई अगाडि बढाउन चाहन्छु।’

धिरजलाई नेपाली फिल्म उद्योगले स्टार अभिनेताको सूचीमा राखिसकेको छ। कोरोना महामारीका कारण धिरजको दोस्रो फिल्म दर्शकमाझ आउन भने समय लाग्यो। त्यसैले पनि उद्योगमा उनको प्रतीक्षा लामो भएको छ। कोरोनाकै कारण दोस्रो चलचित्र ‘आई एम ट्वान्टी वान’ भनेको समयमा रिलिज हुन पाएन। उनको करिअरकै दोस्रो फिल्मका रुपमा ‘बाबरी’ प्रदर्शन हुँदैछ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यो ‘बाबरी’ सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म हो। आगामी असोज १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो धिरजका साथमा धिरज नाडकर र अदिति बुढाथोकीले शीर्ष भूमिकामा अभिनय गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .