बलिउडकी कोरियोग्राफर सविना खानले अभिनेता सलमान खानको प्रशंसा गरेकी छन्।
सलमानको आउँदो फिल्म ‘दबंग ३’की कोरियोग्राफर रहेकी खानले सलमानको काम गर्ने तरिका र सम्मान गर्ने बानीको खुलेरै प्रशंसा गरेकी हुन्। उनले सलमान जमिनमा टेकेर उभिएको सुनको दिल भएको मान्छे भएको प्रतिक्रिया दिएकी छन्।
उनले सलमान खानसँग काम गर्दा भिन्दै आनन्द हुने बताएकी छन्। ‘मेरा लागि उनीजस्ता स्टारको कोरियोग्राफी गर्नु ठूलो कुरा हो। यसमा म एकदमै गर्व महसुस गर्दछु’, एक अन्तर्वार्तामा सविनाले भनेकी छन्, ‘उनी भुँइटेकेर उभिएका मान्छे हुन, उनको दिन सुनको छ।’
उनले अभिनेता सलमानले महिलालाई एकदमै इज्जत गर्ने बताएकी छन्। ‘उनी महिलाको एकदमै इज्जत गर्दछन्। जब म सहायकको रुपमा काम गर्दथेँ, उनी मलाई मेरो नामले बोलाउँथे। अहिले उनी मलाई म्याडम भनेर बोलाउछन्। उनको शिष्टाचार एकदमै मनपर्छ।’
‘जय हो’, ‘दबंग’, ‘प्रेम रतन धन पायो’ जस्ता फिल्मका सलमानसँग काम गरेकी सविनाले उनलाई नजिकबाट चिन्ने हो भने काम गर्न सजिलो रहेको बताएकी छन्।
‘सलमानलाई चिन्ने हो भने उनको कोरियोग्राफ गर्न गाह्रो छैन। म उनीसँग लामो समयदेखि काम गर्दैछु, यो मेरो लागि धेरै गाह्रो थिएन, किनकि मलाई उनको शैलीका बारेमा थाहा थियो’, सलमानसँग काम गर्दाको अनुभवबारे पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘उनी धेरै अभ्यास गर्दैनन्। म धेरै विकल्पहरूका साथ सेटमा जान्छु र उनलाई देखाउँछु। उनले सेटमा १० मिनेट अभ्यास गरेर सट दिन्छन्।’
उनले चुलबुल पाण्डेजस्तो चरित्र निर्माण गर्न समय लाग्ने समेत बताएकी छन्।

प्रतिक्रिया