विनयराज पौडेलको निर्देशन रहेको फिल्म ‘अक्षरा’को छायांकन सकिएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार नै ३७ दिनमा सम्पूर्ण सुटिङ पूरा भएको हो।
निर्देशक पौडेलले सबैको बलियो सहकार्य र अथाह मिहिनेतले गर्दा सहज रूपमा तोकिएकै समयभित्र सुटिङ सम्पन्न गर्न सफल भएको बताउँदै सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन्।
फिल्मको सुटिङ समापन गर्नुअघि गत सोमबार मात्रै निर्माण टोलीले तीज पर्वलाई लक्षित गर्दै तयार पारिएको ‘नाँचौं न बरि लै’ बोलको गीतको छायांकन गरेको थियो। उक्त गीतमा सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सिर्जना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य अभिनय छ। यसैगरि, फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानालाई पनि देख्न सकिनेछ।
फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। फिल्मको कथा निर्माता उग्रसेनले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको छ।
यसअघि दर्जनौँ नेपाली चलचित्रमा सहायक निर्देशकका रूपमा लामो अनुभव बटुलिसकेका विनयले यसै फिल्मार्फत स्वतन्त्र निर्देशकका रूपमा डेब्यु गर्न लागेका हुन्। यो चलचित्र आगामी भदौ २६ गते देशभरका सिनेमाघरमा रिलिज हुनेछ।
Shares

प्रतिक्रिया