ad ad

कला


अमेरिकामा नेपालीले भोगेको कोरोना पीडा समेटिएको उपन्यास ‘क्वारेन्टाइन’ सार्वजनिक

अमेरिकामा नेपालीले भोगेको कोरोना पीडा समेटिएको उपन्यास ‘क्वारेन्टाइन’ सार्वजनिक

नेपालखबर
कात्तिक ६, २०७८ शनिबार ७:४०, काठमाडौँ

अन्तर्राष्ट्रिय साहित्य समाजका पूर्वअध्यक्ष तथा साहित्यकार पदम विश्वकर्माको पहिलो उपन्यास ‘क्वारेन्टाइन’ शुक्रबार लोकार्पण गरिएको छ। 

नेपाल प्रज्ञा प्रतिषठानका कुलपति गंगाप्रसाद उप्रेतीले उपन्यास लोकार्पण गरेका हुन्। यस क्रममा उनले उपन्यास सरल भाषामा लेखिएको र नयाँ तथा समसामयिक विषय समेटेको बताए। 

दुई वर्षदेखि विश्वलाई नै सताइरहेको कोरोना भाइरसले दिएको पीडा समेटिएकाले उपन्यास ‘ऐतिहासिक’ कृति बनेको उनको भनाइ छ। 

प्रवासमा रहेर पनि नेपाली भाषा/साहित्यको विकास र प्रवर्धनमा योगदान पुर्याएको भन्दै कुलपति उप्रेतीले विश्वकर्माको प्रशंसा गरे।

यस्तै सञ्चारकर्मी तथा समिक्षक राजकुमार बानियाँले उपन्यासमा कोरोना भाइरसको पहिलो लहरमै अमेरिकामा रहेका नेपालीले भोगेको पीडाको वर्णन रहेको जानकारी दिए। पुस्तकमा आदर्श र यथार्थको फ्युजन, आख्यान र गैरआख्यानको स्वाद रहेको उनको विश्लेषण छ। 

उपन्यासका लेखक विश्वकर्माले कोरोना भाइरसका कारण अमेरिकामा नेपालीले भोग्नुपरेको कारुणिक पीडा उपन्यासमा समेटिएको जानकारी दिए। 

कोरोनाका कारण मृत्यु भएका आफन्तलाई छुन र हेर्न नपाएका तथा परदेशबाट शव आफ्नो देशमा ल्याउन नपाउँदाको व्यथा उपन्यासमा वर्णण गरिएको उनले बताए। 

‘अस्पतालमा लास राख्ने ठाउँ थिएन, त्यस्तो दृश्य देखेपछि यो विषयमा लेख्नुपर्छ भन्ने लागेर लेखेको हुँ’, उनले आफ्नो कर्मथलो अमेरिकाको क्लोराडोको घटना स्मरण गर्दै भने। 
उपन्यास लेख्दालेख्दै धेरैपटक भावुक भएको अनुभूति पनि उनले सुनाए। 

साहित्यकार गीता खत्रीले उपन्यास विश्वको कालखण्डको महामारी समेट्न सफल भएको बताइन्। 

‘यो कृति पढ्दा मलाई त्यही घटनाको स्मरण भयो र रातभरि सुत्न सकिनँ’, उनले भनिन्। 

सांग्रिला प्रकाशनद्वारा प्रकाशित ‘क्वारेनटाइन’ उपन्यास १ सय ८४ पृष्ठको छ। मूल्य ३ सय ५० रुपैयाँ राखिएको छ। 

अमेरिकाको क्लोराडोमा लामो समयदेखि व्यवसाय गरिरहेका विश्वकर्माले अन्तर्राष्ट्रिय साहित्य समाजमा दुई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्। 

यसअघि विश्वकर्माका कवितासंग्रह ‘वर्ड फ्लोरेटस’ र ‘शब्द सुमन’ प्रकाशन भइसकेका छन्। यस्तै उनको ‘तमसुक’ कथासंग्रह पनि प्रकाशित छ। पदम विश्वकर्मा साहित्य प्रतिष्ठान स्थापना गरेर उनले साहित्यको क्षेत्रमा थप योगदान गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .