ad ad

खेल


पुनरागमन कुर्दै 'बाह्रौँ खेलाडी' पुनम

पुनरागमन कुर्दै 'बाह्रौँ खेलाडी' पुनम

लक्ष्मी जि.सी
कात्तिक ६, २०७८ शनिबार १६:४२, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पुनम जर्घा मगरको मुटुको शल्यक्रिया भएको महिना दिन बित्यो।

अहिलेकै गतिमा स्वास्थ्य राम्रो भएको अवस्थामा अबको पाँच महिनापछि पुनमलाई फेरि फुटबल मैदानमा देख्न पाइनेछ। 

डाक्टरले उनलाई ३ महिनामा हल्का दौडसहित जगिङ सुरु गर्ने र ६ महिनापछि पहिलेकै अवस्थामा मैदानमा फर्कन सक्ने बताएका छन्। 

असोजमा भएको एएफसी महिला एसियन कप छनोट खेल तयारीका क्रममा नेपाली राष्ट्रिय टोलीले दशरथ रंगशालामा बङ्गलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो। 

राष्ट्रिय टोलीले पहिलो पटक भदौमा दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्न पाउँदा पुनम अन्य खेलाडी जस्तै उत्साहित थिइन्। तर, परिस्थितिले पुनमलाई बेन्चमा सीमित गर्यो।

कारण थियो, त्यो मैत्रीपूर्ण खेलको केहीअघि गरिएको परीक्षणमा उनको मुटुमा देखिएको प्वाल। खेलाडीको स्वास्थ्य परीक्षण अनिवार्य शर्त हो। पुनमसहितका खेलाडीहरूको मुटुको परीक्षण पहिलो पटक भएको थियो। 

यसै वर्ष भएको युरो कप दौरान डेनमार्कका चर्चित मिडफिल्डर क्रिस्टियन इरिक्सन कार्डियाक अरेष्ट भएर मैदानमा लडेपछि नेपाली फुटबलमा पनि पछिल्लो समय राष्ट्रिय खेलाडीको स्वास्थ्यप्रति सजगता बढाइएको छ।

परीक्षणअघि पुनमले कहिल्यै असहज महसुस गरेकी थिइनन्। आफ्नो मुटुमा प्वाल परेको सुन्दा पत्याउनै गाह्रो लाग्यो। उनले स्मरण गरिन्, ‘इको गर्ने बेला एकै पटक मुटुमा प्वाल छ भनेर देखायो। त्यसअघि कहिल्यै गाह्रो भएको थिएन।’

सुरुमा उनले आफूलाई सम्हाल्नै गाह्रो भयो। ‘परीक्षणको नतिजा सुन्दा आफूलाई सम्हाल्न साह्रै गाह्रो भयो। घरमा पनि सुरुमा भन्नै सकिनँ’, नेपालखबरसँगको कुराकानीमा पुनमले भनिन्, ‘अझ त्यो बेला तीज थियो। ममीलाई भन्ने आँट नै आएन। थाहा भएको झण्डै ६ घण्टापछि भाइलाई भनेँ, भाइ र म सँगै रोयौँ। त्यसको ४ दिनपछि ममीलाई भनेँ। त्यो खबरले उहाँहरु पनि तनावमा आउनुभयो।’

पुनमले बिरामी जस्तो कमजोर महसुस कहिल्यै नगरेको बताइन्। उनलाई सुरुमा रिपोर्ट नै गलत आएको भन्ने पनि लाग्यो। उनले भनिन्, कहिल्यै केही अफ्ठेरो महसुस गरेकी थिइनँ, एकै पटक त्यस्तो भन्दा विश्वास नै लागेन।’

सुरुमा मुटुमा प्वाल परेको सुनेर उनलाई जति डर लागेको थियो, समयक्रममा त्यो समान्य लाग्दै गयो। 

शल्यक्रिया गर्ने बेला बेहोस बनाइएन। डाक्टरहरुले कुरा गर्दै उनको मुटुको शल्यक्रिया गरे। त्यतिबेला पुनमको मनमा एउटै कुरा खेलिरहेको थियो, अब खेल्न सक्छु कि सक्दिन? 

उनले त्यो प्रश्नलाई आफूमा सीमित राख्न सकिनन्। अनि डाक्टरलाई सोधिन्, ‘अब म खेल्न सक्छु कि सक्दिन? डाक्टरले जवाफ थियो सक्छौ, यो त्यस्तो डरलाग्दो होइन, सामान्य मान।’ डाक्टरको यो जवाफले ठूलो राहत महसुस गरिन्।

पुनमको मुटुको समस्या थाहा भएपछि उनको टोलीका प्रशिक्षक, व्यवस्थापक र साथीहरुले कहिल्यै एक्लो महसुस हुन दिएनन्। उनीहरुले नआत्तिन र आफुहरु सँगै रहेको आभास गराइरहे। 
‘सायद म तनावमा पर्न सक्छु भनेर होला साथीहरुले कहिल्यै एक्लै छाडेनन्’, उनले भनिन्,  ‘मैदानमा सधैँ साथमा हुने साथीहरुले मैदान बाहिर पनि उत्तिकै साथ र हौसला दिइरहे।’

००००

फुटबलमा १२ औँ खेलाडीका परिचय समर्थकले पाएका छन्। तर बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पुनम १२ औँ खेलाडीको रुपमा मैदान छिरिन्। खेल सुरु हुन केही अघिसम्म पुनमले मैदान छिर्छु भन्ने सोचेकी थिइनन्। 

पुनम मात्रै होइन, त्यहाँ उपस्थित व्यवस्थापक पनि अनभिज्ञ थिए। ‘जब मैदानमा जाने समय आयो, मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले तिमी पनि जाऊ भन्नुभयो’, उनले भनिन्, ‘यो सुन्दा म मात्रै होइन, त्यहाँ भएका सबै अचम्ममा परे।’

उनलाई १२ औँ खेलाडी बनेर मैदान छिर्न त्यति सहज लागेको थिएन। त्यो दिन सम्झँदै उनले भनिन्, मैदान छिर्दा एकदमै अफ्ठेरो थियो। लाज लाग्यो। किनकी यो भन्दा अगाडि यस्तो सुनेको पनि थिइनँ। तर आफैँ १२ औँ खेलाडी बन्नु पर्यो।'

बंगलादेशविरुद्धको खेलअघि नै उनको रिपोर्ट आइसकेको थियो, त्यसैले मुख्य प्रशिक्षक फिलिप्सले शल्यक्रियापछि खेल्न सक्दिनन् भन्ने सोचेर होला उनलाई मैदान पठाउने निर्णय गरे। तर पुनमलाई भने त्यो बेलामा पनि आफू खेल्न सक्छु भन्ने लागेको थियो। अहिले पनि त्यही विश्वासमा दृढ छिन्।

बंगलादेशसँगको खेल टोलीमै रहेर हेरेकी पुनमले एशियन कप छनोट खेल भने टिभी स्क्रिनमा हेर्नु पर्यो। त्यो बेला उनलाई साथीहरुले जितून् भन्ने लागेको थियो। तर आफ्नो अवस्थाले मन अमिलो बनाइरहेकी थिइन्। उनी भन्छिन्, ‘घरमा बसेर टिभीमा खेल हेर्दा एकदम नराम्रो लागेको थियो, आँशु आइरहेको थियो।’

०००

नेपालले २०७६ मा १३ औँ साग खेल्नु ६ महिनाअघि विराटनगरमा साफ च्याम्पियनसिप खेलेको थियो। डिफेन्डर पुनम त्यतिबेला नै टोली सदस्य थिइन्। उनले श्रीलंकाविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरिन्।

गोल गरेको त्यो क्षण उनी कहिल्यै बिर्सन सक्दिनन्। खेल जीवन सुरु गर्ने बेला बुबाको साथ नपाएकी उनको त्यो गोलपछि माहोल फेरियो। उनको गोलमा बुवाले पनि हर्षका आँसु झारे।

‘त्यसअघि बुवाको कहिल्यै सहयोग पाइन। तर त्यो खेल बुवाले टिभीमा हेरिरहनु भएको रहेछ। मैले खेलेर गोल गरेको देखेपछि उहाँ रुनुभयो रे’, पुनमले सुनाइन्। 

खेलपछि उनलाई आमाले फोनमा सुनाइन्। ‘मैले पहिले छोरीलाई नजा भन्थे अहिले यसरी खेलेर गोल गरी भनेर बुवा रुनुभएछ’, उनले थपिन्, ‘त्यो कुरा सुन्दाको खुसी अझै पनि म शब्दमा शब्दमा व्यक्त गर्न सक्दिनँ।’

०००

४ दिदी र २ दाजुभाइकी कान्छी बहिनी पुनमको खेल जीवन त्यति सहज छैन। त्यो बेलामा फुटबल खेल्न परिवारको सहयोग मिल्दैनथ्यो। उनलाई पनि परिवारको पूरा साथ थिएन। उनकै कतिपय साथीले परिवारको सहयोग नपाएर फुटबल खेल्न छाडेका थिए। पुनम भने आमाको साथले अघि बढिरहिन्। 

मध्यम परिवारकी पुनम फुटबल खेल्ने एक्ली छोरी भने होइनन्। उनकी माहिली दिदी सम्झना पनि पहिला फुटबल खेल्थिन्। ४, ५ वर्ष रौतहटको गोल पोष्ट सम्हालेकी सम्झनाले राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्न सकिनन्। फुटबललाई चटक्कै छाडेर वैवाहिक जीवनमा बाँधिइन्।

पुनमलाई त्यो बाध्यताले पनि छोयो। दिदीले खेलेर केही नगरेपछि उनी आफैँ राष्ट्रिय टोलीमा पुग्छु भन्ने अठोटका साथ खेल्न थालिन्। दिदीसँगै फुटबल खेलिरहेका अन्यले विभागमा जागिरे बनेर फुटबल खेलिरहेका थिए। अनि सोचिन्, ‘अब म पनि फुटबल खेल्दै जागिर जान्छु।’ त्यही दृढताले पुनमलाई त्रिभुवन आर्मी क्लबसम्मको यात्रा तय गरायो। उनी खेल्नकै लागि आर्मीमा जोडिइन्।

रौतहटमा हुँदा पुनमलाई प्रशिक्षक शेरबहादुर दर्लामीले सिकाए। रौतहटबाट खेल्दै गर्दा आर्मीमा भर्ना खुलेको थियो। आर्मी खुलेको जानकारी फोनमार्फत पाएकी पुनमले त्यो मौका खेर जान दिइनन्। उनी आर्मीमा छनोट पनि भइन्। आर्मीमा गएको दुई वर्षमा नै उनले राष्ट्रिय टोलीको यात्रा तय गरिन्।

पुनमले फुटबल खेल्न थालेको १४ वर्ष भइसकेको छ। राष्ट्रिय टोलीमा आएको नै ७ वर्ष पुगिसकेको छ। राष्ट्रिय टोलीमा परेको छोटो समयमा उनी सन् २०१४ मा पाकिस्तानमा भएको खेलमा टोलीमा परिन्। 

२० वर्षको उमेरमा राष्ट्रिय टोलीको जर्सी लगाएकी उनी सुरुवाती खेलमा वैकल्पिक खेलाडीको रुपमा रहिन्। श्रीलङ्कासँगको खेलमा भने उनले डेब्युको मौका पाइन्।

त्यसपछिको भारत र श्रीलङ्कासँगको दुई खेलमा भने लगातार सेटमा परिन्। सन् २०१५–१६ पछि भने उनी लगातार जस्तो सेटमा पर्न थालिन्। त्यसयता उनले पछाडि फर्किनु परेको थिएन।

मुटुको शल्यक्रियापछि पनि पुनमलाई अझै खेल्न सक्छु भन्ने आँट जागेको छ। उनी भन्छिन्, ‘राष्ट्रिय टोलीको जर्सी लगाएर फेरि खेल्छु भन्ने आशा छ। तर त्यस्तो हुन सकेन भने एउटा अन्तिम खेल अन्तराष्ट्रिय नै खेल्न पाउने आशा मनमा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .