नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’मा यसपाली नेत्र विशेषज्ञ सुमन थापा प्रस्तुत भएका छन्।
शुक्रबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा सुमनले १३ वटा गीत सुनाए । कार्यक्रममा प्रस्तुत भएका कतिपय गीतहरू आँखा र दृष्टिसँग सम्बन्धित थिए। आफ्नो पेशासँग सम्बन्धित संस्मरण सुनाउँदै गाइरहेका सुमनलाई सुन्दा लाग्थ्यो उनी आँखा र भाकाका संगम हुन्।
कार्यक्रमको सुरुवातमा उनको सांगीतिक यात्राको पहिलो चरणको झलक प्रस्तुत भएको थियो। सुमनको आफ्नै शैली झल्किएका दुईवटा गीत प्रस्तुत भएपछि दोस्रो चरणमा गाइएका सबै गीतहरू नयाँ थिए। दोस्रो चरणका ९ वटा गीतहरू गीतकार तथा कवि श्रवण मुकारुङले सृजना गरेका थिए। सुमनका निम्ति बनेका सबै नयाँ गीत संगीत आभासको थियो ।
प्रायः अंग्रेजी भाषामा गाउने सुमन पहिलोपल्ट नेपाली गीत मात्र प्रस्तुत गर्दै थिए। तिलगंगा आँखा अस्पतालसँग सम्बन्धित डा। सुमन आफ्नो सांगितिक रुचिलाई सदुपयोग गर्दै रकम जुटाउँछन् र विकट गाउँ पुगेर निशुल्क स्वास्थ शिविर सञ्चालन गर्छन्। त्यसको लागि उनी ‘एक एक पाइला’ नामको संस्थासंग आबद्ध छन्।
कार्यक्रममा संचालकले सरप्राइज प्रस्तुति भन्दै एउटी नयाँ गायिकालाई सुमनसँग युगल गीत गाउन निम्ता गरे। मञ्चको किनार छाम्दै उनी मञ्चमा पलेँटी कसेर बसिन्। उनको नाम थियो आशा राई । आशा जन्मदै संसारको दृश्य देख्नबाट बञ्चित भएर जन्मेकी रहिछन्। आशालाई नै केन्द्रमा राखेर रचिएका २ वटा गीतमा उनले सुमनसँग स्वर मिलाइन्।
कार्यक्रमको अत्यतिर प्रस्तुत भएका बाँकी गीत गीत मध्ये ‘ओ पासाङ दाइ, ओ बैनी फूलमतिया’मा प्रयोग भएको शब्द ‘स्लिट ल्याप्प’लाई बुझाउन डा। सुमनले आँखा जाँच्ने उपकरण नै बोकेर आएका थिए। उनले सोही उपकरण देखाउँदै, गीतार र घाँटीमा भिरेको हार्मोनिका बजाउँदै सुनाए( ‘ओ पासाङ दाइ, बैनी फूलमतिया, पर्ख है पर्ख म ‘स्लिट ल्याम्प’ बोकेर आउँदै छु तिमीलाई सुन्दर संसार देखाउन...’
त्यसपछि प्रस्तुत भएको फंकी शैलीको गीत ‘हतार छ, एकदम हतार छ तर ट्राफिक जाम छ’लाई शहरको व्यस्तता र डा। सुमनको पेशासँग जोडेर प्रस्तुत गरिएको थियो। तिहारको माहोललाई ध्यानमा राखेर प्रस्तुत गरिएको अन्तिम गीत ‘साँझको बेला, अप्ठ्यारो बाटो’ पनि आँखासँगै जोडिएको थियो। यो गीत देउसी पारामा प्रस्तुत भएको थियो।
गीत सुनिसकेपछि कार्यक्रममा उपस्थित गीतकार श्रवण मुकारुङ गीतमाथि आफ्नो भनाइ राखेका थिए। ‘यसपालीको हाम्रो यो सांगीतिक सहकार्यले मलाई नयाँ गीत लेख्न प्रेरित गर्यो । अहिले पलेँटीमा गीत सुनिसकेपछि लाग्यो यो हाम्रो रचनात्मक कर्मको एउटा सुन्दर मोड पनि हो’, श्रवणले भने।
कार्यक्रम समापनपछि गीतकार रत्नशमशेर थापा भन्दै थिए, ‘नयाँ प्रयोगले नै गीत संगीतको रचनाको घेरालाई फराकिलो पार्छ, आजको प्रयोग राम्रो छ।’ अर्का गीतकार विप्लव प्रतीकको प्रतिक्रिया थियो, ‘सांगीतिक क्षेत्रमा रहेका धेरै कलाकारले सुन्नै पर्ने रचनाहरू सृजना भएको साँझमा संगल्न हुन पाएँ । मन प्रफुल्ल भयो।’ त्यस्तै नेपथ्यका अमृत गुरुङ भन्दै थिए, ‘धेरै समयपछि गीत, संगीत नसा झैँ झ्याम्म लाग्यो।’
यसपालीको पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर महर्जनले साथ दिएका थिए। सुमनसँगको पलेँटी शनिबार साँझ पनि हुनेछ।
Shares

प्रतिक्रिया