कविकुञ्जका रुपमा चिनिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घरलाई संग्रहालय बनाउन भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले भत्काएको छ।
पुनःनिर्माण गर्ने भन्दै देवकोटा उक्त रेट्रोफेटिङको विकल्प हुँदा पनि भत्काइएको हो। पुनःनिर्माण गर्न रेट्रोफिटिङ सम्भव नभएको भन्दै दुरुस्त नयाँ भवन बनाउने गरी पुरानो संरचना भत्काइएको छ।
तर सम्पदा प्रेमी र लेखकहरूले प्रतिष्ठानको यो कदममा आपत्ति जनाएका छन् । पुरानै घरलाई संरक्षण गरेर संग्रहालय बनाउनुपर्नेमा भत्काएर गलत गरेको भन्दै उनीहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।
नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले समाचार सेयर गर्दै ट्वीट गरेका छन्, ‘उनको त घर भत्काइयो । आफ्नो त के हुनु यिनको !’
आख्यानकार नयनराज पाण्डेले पनि प्रतिष्ठानको निर्णय भ्रष्ट, मुर्खतापूर्ण र बहुलठ्ठी भन्दै असन्तुष्टि जनाएका छन् ।
‘हुन त नेपालमा प्रज्ञा प्रतिष्ठानका जागिरे प्राज्ञहरूसँग महाकवि देवकोटाको मूल घर भत्काएर नयाँ संरचना निर्माण गर्नुका अनेक तर्क होलान्,’ उनले फेसबुकमा लेखेका छन्, ‘ तर यो भ्रष्ट, मुर्खतापूर्ण र बहुलठ्ठी निर्णय हो । यस्तो दरिद्र सोचको निन्दा गर्छु ।’
उनकै विचारमा प्रतिक्रिया दिँदै कवि रमेश क्षितिजले पनि घर भत्काइएको कुरामा सहमत हुन नसकेको तर्क राखेका छन् ।
‘हजार तर्क निकालिए पनि यो कार्यसँग सहमत हुन सकिन्न । सगरमाथा चढ्न कठिन भयो, टाढा भयो भनेर यतैतिर कृत्रिम हिमाल बनाए जस्तै हो यो कदम,’ उनले लेखेका छन् ।
विश्वमा अन्य साहित्यकारको अत्यन्त पुराना घर पनि संरक्षण गरेर संग्रहालय बनाइएका तर्क कतिपय लेखकको छ । लेखक अमृता लम्सालले सन् १५६४ अप्रिलमा प्रख्यात साहित्यकार विलियम शेक्सपियर जन्मेको घर आज पनि उस्तै राखिएको बताएकी छन् ।
घुम्ने क्रममा त्यहाँको कोठा, चोटामा पुगेको उनले बताइन् । ‘प्रज्ञा प्रतिष्ठानका बुद्धिजीवीले देवकोटाको घर किनेर संग्रहालय बनाउन लाग्नुभएछ’, उनले व्यंग्य गर्दै लेखेकी छन्, ‘तर उहाँहरूले महाकविको घर चाहिँ भत्काइदिनु भएछ।’
प्रज्ञा प्रतिष्ठानका अधिकारीलाई प्राचीन महत्वका सामाग्री राखिने ठाउँ संग्रहालय भन्ने हेक्का पनि नभएको भन्दै कटाक्ष गरेकी छन्।
‘नेपाल प्रज्ञा प्रतिष्ठानका बौद्धिक व्यक्तित्वहरू, जसले यो निर्णय लिनुभयो’, उनले भनेकी छन्, ‘उहाँहरूलाई संग्रहालय भनेको प्राचीन महत्वका सामग्री राखिने ठाउँ भनेर थाहा नभएको होइन होला । कि, घर नभत्काइए सङ्ग्रहालयको लागि छुट्याएको बजेटबाट कमिसन नआउने भो?’
लेखक कृष्ण बजगाईंले सामाजिक सञ्जालमा ४ सय ५० वर्षसम्म पुराना भवन देखेर छक्क परेको बताएका छन् । ‘मैले बेलायत, जापान, चीन लगायत देशमा त्यहाँका साहित्यकारका ४ सय ५० वर्षसम्म पुराना भवन देखेर छक्क परेको छु’, बजगाईंले लेखेका छन्, ‘ती साहित्यकारका निवास सङ्ग्रहालयको रुपमा सञ्चालन गरिएको छ।’
किन भत्काइयो घर ?
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. जगतप्रसाद उपाध्याय आफूहरूले पनि सुरुमा रेट्रोफिटिङबाट जोगाउन सकिनेबारे परामर्श गरेको बताउँछन् ।
‘तर, त्यो कुनै पनि हालतमा सम्भव थिएन। काठ र माटो केही पनि बाँकी थिएन । अरु विकल्प थिएन’, उनले भने, ‘प्राविधिकहरूको परामर्शमार्फत भत्काएर नयाँ बनाउन लागेका हौँ। सरकारको स्वीकृतिमै यो काम भइरहेको छ।’
प्रतिष्ठानका वरिष्ठ इन्जिनियर महेन्द्र बहादुर कार्की देवकोटाको घरमा रेट्रोफिटिङ गर्ने आधार नै नभएको बताउँछन् ।
उनका अनुसार देवकोटाको घरमा धरहराको जस्तै ठुटो मात्र बाँकी थियो । ‘रेट्रोफिटिङ के का लागि गर्ने ? सिंहदरबारका लागि रेट्रोफिटिङ गर्ने । तर धरहराको लागि त रेट्रोफिटिङ गरेनौं नि’, उनले भने, ‘किन गरिएन भन्दा ठुटो मात्र बाँकी थियो । त्यो घर पनि ठुटो मात्र बाँकी थियो।’
उनका अनुसार वर्ष पुरानो नभएको घरलाई सम्पदामा मानिँदैन । त्यो सामान्य घर मात्रै हो। त्यसैले घर भन्दा कलाकृति जोगाउनु महत्वपूर्ण कुरा हो । सङ्ग्रहालयलाई सुरक्षित राख्ने हो ।
‘सम्पदा प्रेमीले त्यही घर हुनुपथ्र्यो भन्ने कुरा ठीक हो । तर मेरो दृष्टिकोणमा त्यो काम लाग्ने घरै थिएन’, उनले भने, ‘कलाकृति थिएन । यसलाई समय अनुसार व्यवस्थित बनाउन यसलाई जे गरिएको छ, त्यो ठीक छ।
Shares
प्रतिक्रिया