ad ad

कला


संरक्षकत्वको विरोध गर्दै पप स्टार ब्रिट्नीले भनिन्ः पितालाई नहटाएसम्म स्टेजमा प्रस्तुती दिन्न

संरक्षकत्वको विरोध गर्दै पप स्टार ब्रिट्नीले भनिन्ः पितालाई नहटाएसम्म स्टेजमा प्रस्तुती दिन्न

ब्रिट्नी स्पियर्स


नेपालखबर
साउन ४, २०७८ सोमबार १७:३१,

अमेरिकी पपस्टार ब्रिट्नी स्पियर्सले फेरि संरक्षकत्वको विरोध गर्दै आफ्नो पितालाई संरक्षकत्वको भूमिकाबाट हटाउन माग राखेकी छिन्।

उनले संरक्षकत्वलाई दुर्व्यवहारपूर्ण व्यवस्था भनेकी छिन्। उनले पिताले आफूलाई शतप्रतिशत नियन्त्रणमा राखेको बताउँदै पिताकै कारण आफ्नो थप सन्तान जन्माउन पाउने अधिकार खोसिएको उल्लेख गरेकी छिन्।

पितालाई संरक्षकत्वको भूमिकाबाट नहटाएसम्म आफूले स्टेजमा प्रस्तुती नदिने पनि उनको भनाइ छ।

यसअघि उनले संरक्षकत्वको कारण इच्छा विपरीत आफू मानसिक रोगको औषधि सेवन गर्न बाध्य भएको पनि बताएकी थिइन्।

सन् २००८ मा अदालतले जेमी स्पियर्सलाई उनको छोरीको गतिविधिमाथि नियन्त्रण गर्ने गरी संरक्षकको अधिकार दिएको थियो।

सो आदेश गायिका स्पियर्स मानसिक स्वास्थ्यसम्बन्धी चिन्ताका कारण अस्पताल भर्ना भएपछि दिइएको थियो।

स्पियर्सले पिताका कारण स्वतन्त्रता खोसिएको र आफू दिनदिनै प्रताडित भएको र रोएको बताउँदै आएकी छिन्।

Britney Spears asks judge to remove her father as her conservator - BBC News

(आफ्ना बुबासँग ब्रिट्नी स्पियर्स)

‘मलाई मात्रै मेरो जीवन फिर्ता चाहिएको छ’ ३९ वर्षकी स्पियर्सले हालै अदालतमा संरक्षकत्व अन्त्य होस् भन्ने चाहेको बताउँदै भनेकी थिइन्,‘मैले जीवनभर काम गरेँ र म जीवन चाहन्छु। म दुईदेखि तीन वर्ष बिदामा बस्न चाहन्छु।’

दुई सन्तानकी आमा स्पियर्सले आफूले प्रेमीसँग विवाह गरेर अर्को सन्तान जन्माउन चाहेको तर संरक्षकत्वको प्रावधानका कारण त्यसो हुन नसकेको गुनासो गर्छिन्।

उनले संरक्षकले शरीरबाट अस्थायी बन्ध्याकरण उपकरण हटाउन नदिएको पनि आरोप लगाएकी छिन्।

सन् २०१९ मा जेमी स्पियर्सले स्वास्थ्यका कारण अस्थायी रूपमा संरक्षकको भूमिका त्यागेका थिए। गायिका स्पियर्सले यसलाई स्थायी रूप दिएर सदाकालागि संरक्षकत्वको व्यवस्थाबाट पितालाई हटाउन माग माग गरेकी छिन्।

उनले संरक्षकका रूपमा व्यावसायिक सेवाकर्मी जोडी मोन्टगोमेरीलाई राख्न माग गरेकी छन्।

संरक्षकत्व के हो?

अमेरिकामा मानसिक स्वास्थ्यका विभिन्न समस्याका कारण आफ्नो लागि निर्णय गर्न असमर्थ व्यक्तिलाई अदालतले संरक्षकत्व प्रदान गर्न सक्छ।

स्पियर्सको संरक्षकत्वका दुई पाटा छन्। पहिलो उनको सम्पत्ति र वित्तीय गतिविधि र अर्को व्यक्तिको रूपमा उनी। उनले सन् २००८ यता आफ्नो सम्पत्ति चलाउन पाएकी छैनन्।

जेमी स्पियर्स सुरुमा दुवै पाटाका संरक्षक थिए तर सन् २०१९ मा स्वास्थ्यका कारणले उनी छोरीको व्यक्तिगत मामिलाको संरक्षकबाट हटे।

त्यो बेला जोडी मोन्टगोमेरीलाई सो जिम्मेवारी दिइयो जसलाई स्पियर्सले अहिले पूर्ण संरक्षकका रूपमा राख्न चाहेकी छन्।

उनले वकिलमार्फत बुबालाई आफ्नो व्यावसायिक जीवनमा समेत नचाहेको सङ्केत दिएकी छन्।

freebritney The Framing of Britney Spears | Age of Empathy

(संरक्षकत्वबाट मुक्त गर्न ब्रिट्नीका समर्थकले प्रदर्शन गरिरहेका छन्।)

एक वकिलले स्पियर्स आफ्नो पितासँग डराएकी र उनको नियन्त्रणमा रहेसम्म मञ्चमा कार्यक्रम नगर्ने बताएका छन्।

सन् २००७ मा स्पियर्सले केभिन फेडरलाइनसँग वैवाहिक सम्बन्ध विच्छेद गर्दा आफ्ना सन्तान आफूसँग नरहने भएपछि अनौठो व्यवहार गर्न थालेकी थिइन्।

कपाल खौरने र पत्रकारको कारमा छाताले हिर्काउने जस्ता सार्वजनिक रूपमा गरिएका अनौठा व्यवहारको शृङ्खलापछि उनको मानसिक स्वास्थ्यको बारेमा प्रश्न उठेका थिए।

सन् २००८ मा उनी मानसिक स्वास्थ्य उपचारका लागि दुई पटक अस्पताल भर्ना भइन्।

त्यही बेला उनलाई संरक्षकत्वमा राखिएको हो जुन थप हुँदा हुँदा अहिलेसम्म आइपुगेको छ। यद्यपि संरक्षकत्वको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

यो बीचमा उनले तीनवटा सांगितिक एल्बम निकालिन्। सन् २०१८ मा स्पियर्सको कुल सम्पत्ति झन्डै छ करोड अमेरिकी डलर भएको समाचार प्रकाशित भएका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .