लेखक नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ। हिमाली क्षेत्रमा अझै कायम बहुपति प्रथाबारे लेखिएको उपन्यासलाई हुम्लामा विमोचन गरिएको हो।
नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङलगायत स्थानीयको उपस्थितिमा उपन्यास सार्वजनिक गरिएको हो।
जुन माटोको कथा थियो त्यहीँ लोकार्पण गर्न पाएकोमा नीलम खुसी छिन्।
‘स्थानीयको साथ, सहयोग यो उपन्यास लेख्ने सन्दर्भमा पनि धेरै पाएको छु र यसलाई त्यही भूमिमा सार्वजनिक गर्न सहयोग गर्नुहुने सबैमा आभार प्रकट गर्दछु’ नीलमले भनिन्, ‘हुम्लामा हिमपातका कारण मेरा पात्र हुम्लाबाट नेपालगन्जका लागि जहाज चढ्न नसकेको एक दृश्य पुस्तकमा छ।’
यही अवस्था हुम्लामा पुस्तक पुर्याउने बेलामा पनि खेप्नुपरेको उनी बताउँछिन्।
लेखकका अनुसार बहुपति प्रथा एक संस्कृति हो। भौगोलिक जटिलतासँग पनि प्रत्यक्ष÷परोक्ष सम्बन्ध छ। यही संस्कृतिलाई आख्यानीकरण गरेर पाठकसामु पुराउने मेरो प्रयास हो– द्रौपदी अवशेष,’ नीलम भन्छिन्।
पुस्तकबारे प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाले अलिखित र लोपोन्मुख सामाजिक संस्कारलाई लिखित साहित्यका रूपमा ढालेर सराहनीय कार्य गरेको बताए।
‘उपन्यासकारले यस कृतिमार्फत दुर्गम र पिछडिएको एक सीमान्तकृत जनजातिको लोक व्यवहारमा सीमित एउटा अलिखित र लोपोन्मुख सामाजिक संस्कारलाई लिखित साहित्यका रूपमा ढालेर बाह्य जगतलाई बोधगम्य बनाउने जुन चेष्टा र्नुभएको छ, त्यो साह्रै सराहनीय कार्य हो,’ उनले भनेका छन्।
यसअघि नीलमको उपन्यास ‘योगमाया’ले वि. सं. २०७४ को मदन पुरस्कार पाएको थियो।
Shares

प्रतिक्रिया