कला


बन्द हुने जोखिममा नाटक घर, रंगकर्मी नै पलायन हुने डर

बन्द हुने जोखिममा नाटक घर, रंगकर्मी नै पलायन हुने डर

काठमाडौंका अधिकांश रंगमञ्च संकटको अवस्थाबाट गुज्रिरहेका छन्


समर्पण श्री
काठमाडौँ, साउन २

‘अझै पनि महामारी लम्बिने हो भने थिएटर बन्द गर्नुको विकल्प छैन,’ रंगकर्मी एवम् नाट्य निर्देशक घिमिरे युवराज निराश सुनिए।

कोरोनाका कारण अघिल्लो वर्षको लकडाउनमा रंगकर्मीहरू घरभित्रै थुनिए। नौ महिनापछि अन्य क्षेत्र विस्तारै खुल्न थाले। तर सिनेमा हल र रंगमञ्चमा भने सरकारको अंकुश कायमै रह्यो। 

विकल्पै नभएपछि रंगकर्मीहरू आन्दोलन गर्न सडकमै ओर्लिन बाध्य भए। तर, केही महिनापछि नै महामारीको दोस्रो लहर सुरु भयो र पुनः लकडाउन गरियो। यो लकडाउनले थिएटर र रंगकर्ममा सपना देखेकाहरूलाई ठूलै आघात पुर्‍याएको छ।

लकडाउनकै कारण बत्तिसपुतलीस्थित शिल्पी थिएटर अहिले ३० लाख ऋणमा परेको छ। 

‘भाडा नतिरेकै ६ महिनाभन्दा बढी भयो। पुरानो बचत पनि सकिन लाग्यो। चल्न गाह्रो भयो,’ निर्देशक घिमिरे युवराज भन्छन्।

अघिल्लो लकडाउनमा पनि काठमाडौँमा बस्न कठिन भएपछि शिल्पीका ‘फुल टाइमर’ कलाकार गाउँ गएका थिए। पछि लकडाउन खुले पनि केही त उतै बसे। 

‘अहिले जति हुनुहुन्छ, उहाँहरूलाई टिकाउन पनि निकै सकस परेको छ,’ उनले दुखेसो पोखे।

शिल्पी मात्र नभई अधिकांश रंगमञ्च संकटको अवस्थाबाट गुज्रिरहेका छन्। थिएटर मल कीर्तिपुर पनि यस्तै समस्या खेपिरहेको छ। थिएटर अघिल्लो वर्षको लकडाउन हुनुभन्दा केही महिनाअघि मात्र पुनः सञ्चालनमा आएको थियो।

‘पहिले अरु प्रोजेक्ट र स्कुलमा काम गरेर भएको कमाइले थिएटरमा लगानी गरेको थिएँ। अहिले त अरु काम पनि ठप्प भए। थिएटर जोगाउनै गाह्रो,’ रंगकर्मी केदार श्रेष्ठ भन्छन्।

पलायन हुँदैछन् कलाकार
अघिल्लो वर्ष लकडाउन लम्बिरहँदा नै थिएटरमा ‘फुल टाइम’ खटिरहेका केही कलाकार अन्य क्षेत्रमा विकल्प खोज्न बाध्य भए। कलाकार संगीता थापा अनलाइन व्यापार गर्न थालेकी थिइन्। अरु कलाकार पनि नाट्यकर्मको विकल्प खोज्न लागिपरेका थिए। 

अहिले त्यो क्रम झनै बढेको छ। कौसी थिएटरकी रंगकर्मी आकांक्षा कार्कीको चिनजानमा रहेका धेरै कलाकारले रंगकर्म छाडेर अन्यत्र जागिर सुरु गरेका छन्। कोही भने निराश भएर गाउँ फर्किएका छन्। 

‘कति त फर्कन्छन् कि फर्कन्नन् थाहा छैन,’ आकांक्षा भन्छिन्। 

थिएटरमा करिअर बनाउन आएका नयाँ ब्याचका धेरै कलाकार अन्योलमा छन्। 

‘नाटक सिकेर त्यसलाई मञ्चन नै गर्न नपाइ उहाँहरू बस्नुपरेको छ,’ आकांक्षा भन्छिन्। 

थिएटर भिलेजमा ०७६ सालको माघदेखि नयाँ ब्याचमा भर्ना भएका रोशन निरौलाको डेढ वर्ष थिएटरमै अल्झियो, तर निराशाजनक रुपमा। नाटक सिक्नकै लागि इटहरीबाट काठमाडौं आएका उनी पछिल्लो पटकको लकडाउनमा निराश हुँदै गाउँ फर्किए। 

‘थिएटर सिक्नकै लागि भनेर काठमाडौं आएँ, परिवारले लगानी गर्‍यो। तर अब त थिएटरको भर पनि छैन। काठमाडौं फर्कन पनि सहज छैन,’ उनी गुनासो पोख्छन्।  

रंगकर्मी आकांक्षाको आम्दानीको स्रोत भने अनलाइन कक्षा हो। जसोतसो अनलाइमार्फत् शिक्षण गरेको पैसाले उनलाई थेगेको छ। यद्यपि, थिएटर सञ्चालन हुँदा त्यसमार्फत् अन्य साथीको पनि आम्दानी हुन्थ्यो। 

‘थिएटरमार्फत् आम्दानी हुने अवस्था छैन अहिले। त्यसरी अरु साथीलाई आम्दानी गराउन सकिएन,’ उनी दुखेसो पोख्छिन्। 

यही समस्याका कारण लामो समयदेखि सक्रिय भएर रंगमञ्चमा लागेका रंगकर्मी नै पलायन हुने चिन्ता नाट्य निर्देशक अनुप बराललाई छ। साथीहरूसँग कुरा गर्दा उनले उही पीडा बारम्बार सुनिरहेका छन्, ‘अब कहिले पनि थिएटर गर्न नसकिएला जस्तो छ!’ 

‘अब यो महामारी कहिलेसम्म हो थाहा छैन। भौतिक दुरी राखेर काम देखाउन सकिन्न। कामै देखाउन नसकेपछि धेरै साथी निराश छन्,’ बराल भन्छन्। 

अनुपले पनि एक्टर्स स्टुडियोलाई पुनः लयमा ल्याउन प्रयास गर्दै थिए। तर, काम सुरु भएको एक महिनामै अनपेक्षित रुपमा महामारी बढ्यो, र लकडाउन भइदियो। 

‘लकडाउन सुरु भएलगत्तै हामीले कक्षा रोक्यौँ। त्यसपछि हामीले भर्चुअल सुरु गर्‍यौँ। भर्चुअल त सैद्धान्तिक कुरा मात्र हो। त्यसले पुग्दैन। अहिले त्यो पनि रोकिएको छ। र विद्यार्थीहरू निराश छन्,’ उनी भन्छन्। 

निरन्तर भइरहेको अभ्यास छुट्दा गुणस्तरको हिसाबले पनि अब थिएटर केही वर्ष पछाडि धकेलिने रंगकर्मी केदार बताउँछन्। 

‘नेपाली रंगमञ्च अर्को धारमा प्रवेश गर्नुपर्छ भनेर काम गरिरहेका थियौँ। त्यसमा पनि ब्रेक लाग्यो,’ उनी भन्छन्। 

त्यसमाथि अर्को चिन्ता त थिएटरलाई निरन्तरता दिने मान्छे नै कति हुन्छन् भन्नेमा छ।

‘अब सुरु गर्दा को–को फुल टाइमर भएर आउलान्, थाहा छैन। थोरै संख्यामा छन्, रंगकर्मी। सक्रिय भइरहेका थोरैमध्येका केही मानिस निष्क्रिय भइदिए के हुने हो,’ उनी चिन्ता व्यक्त गर्छन्।

धेरै प्रोजेक्ट अलपत्र
थिएटर भिलेजले नाटक ‘पल्पसा क्याफे’ मञ्चन गर्ने तयारी थालेको दुई वर्ष पुग्न लाग्यो। लकडाउनकै कारण सो प्रोजेक्ट अलपत्र परेको छ। 

नाटकमा कलाकार स्वस्तिमा खड्का ‘पल्पसा’ क्यारेक्टरमा देखिने थिइन्। अघिल्लो वर्षको लकडाउनदेखि नै तयारी थालिएको सो नाटकको ०७७ कात्तिकबाट रिहर्सल सुरु भयो। रिहर्सल सकेर मञ्चनको तयारीमा पुगेको नाटक पुनः लकडाउनका कारण रोकियो। 

‘अब त कहिलेदेखि मञ्चन हुन्छ भन्ने नै अन्योल छ। साथीहरूसँग कुराकानी भइरहेको छ। तर सहज अवस्था नभई सबै जुट्ने अवस्था पनि छैन। पर्ख र हेरको स्थितिमा छौँ,’ थिएटर भिलेजका रंगकर्मी एवम् उक्त नाटकका एसोसियट निर्देशक दीलिप रानाभाट सुनाउँछन्। 

सुनील पोखरेलको निर्देशनमा ‘अर्को अर्थ नलागेमा’ नाटक फागुनदेखि चैतसम्म प्रदर्शनमा गयो। त्यसपछि उक्त नाटकलाई विराटनगर लैजाने तयारी पनि थियो। तर, लगत्तै भएको लकडाउने त्यो योजना अलपत्र परेको छ। 

‘विराटनगर लैजान प्रचार प्रसारसहितका धेरै काम गरिसकेका थियौँ। स्थिति बिग्रियो, अनि रोक्नुपर्‍​यो,’ सुनील भन्छन्। 

आकांक्षाको निर्देशनमा जर्ज अरवेलको उपन्यास ‘एनिमल फार्म’माथि नाटक गर्ने योजना बनेकै डेढ वर्ष बढी भयो। लकडाउनका कारण त्यो सम्भव हुन सकेको छैन। सुरुमा नाटकको लागि १५ जना पात्र छनोट भएका थिए। तर, अवस्था असहज हुँदै गएपछि लगानीमा चुनौती बढ्दै गयो। पछि तीन जना पात्रमार्फत् गर्ने योजना पनि बनेको थियो। 

‘दोस्रो लहरको लकडाउनले त्यो पनि स्थगित भएको छ,’ आकांक्षा भन्छिन्। 

शिल्पी थिएटर अहिले अभिनेता विपीन कार्की केन्द्रीय पात्र रहने गरी नयाँ नाटकको रिहर्सल गर्ने क्रममा छ। तर, त्यो पनि अवस्था साम्य नभइकनसम्भव छैन। 

भर्चुअल प्लाटफर्मको अभ्यास
देशमा पहिलो पटक लकडाउन भएदेखि नै रंगकर्मीहरूले भर्चुअल नाटकको अभ्यास सुरु गर्न थालेका थिए। केदारले पनि पहिलो लकडाउन भएलगत्तै नाटकहरू भर्चुअल माध्यमबाट प्रस्तुत गरेका थिए। यही अभ्यास अन्य रंगमञ्च र रंगकर्मीहरूले पनि गरे। 

यसपालिको लकडाउनमा अभिनेता दयाहाङ राई निर्देशित नाटक ‘मितज्यू’ युट्युबमार्फत् सार्वजनिक भयो। १ घण्टा १० मिनेट अवधिको नाटकले साढे दुई लाख भन्दा बढी दर्शक पाइसकेको छ। शिल्पी थिएटरका कलाकारले पनि यसपाली घर–घरबाटै भर्चुअल नाटक प्रस्तुत गरे। घिमिरे युवराज अब अनलाइनमा पनि ‘टिकट प्रणाली’ लागू गर्न लागेकोे बताउँछन्।

‘हामीमा आएको जटिलतासँगै अनलाइनमा पनि टिकट सिस्टम लागू गर्दैछौँ। चुनौतीपूर्ण त छ, तर हेर्न बानी बसाउन सकिएला कि!’ उनी भन्छन्। 

कौसी थिएटरले पनि ‘प्ले ब्याक थिएटर’ अनलाइनबाट सुरु गर्‍यो। 

‘यो थिएटरको यस्तो स्वरुप हो, जहाँ कलाकारले दर्शकहरूको भोगाइ, अनुभव सुनेर अन द स्पट इम्प्रोभाइज गरेर प्रदर्शन गर्दछन्,’ आकांक्षा भन्छिन्। 

गएको सात महिना जुममार्फत् उनीहरूले यसको अभ्यास गरे। जुन प्रभावकारी समेत भयो। प्ले ब्याक जस्तो अन्य भर्चुअल नाटक भने उति प्रभावकारी नभएको आकांक्षा बताउँछिन्। जति नै भर्चुअल गरे पनि थिएटर घरमा गएर दर्शकले हेरेजस्तो नहुने उनको बुझाइ छ। 

थिएटर कहिले खुल्छ भन्ने अन्योलमा भएका रंगकर्मीलाई सरकारबाट पनि आशा छैन।

‘पार्टी प्यालेस खुलिरहेको बेला, भीड जम्मा गराइरहेको बेला सरकारले थिएटर र हललाई बन्दाबन्दीमै राख्यो। यस्तो बेला हामी रंगकर्मीको पीडा कसरी बुझ्ला र!’ केदार दुःखेसो पोख्छन्। 
 

साउन २, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .