निर्वाचन विशेष


विराटनगरको प्रमुखमा नागेश कोइराला विजयी हुँदा गठबन्धनकै उपमेयरमा अमरेन्द्र यादव भने पराजित

विराटनगरको प्रमुखमा नागेश कोइराला विजयी हुँदा गठबन्धनकै उपमेयरमा अमरेन्द्र यादव भने पराजित

नेपालखबर
जेठ ७, २०७९ शनिबार ८:५, विराटनगर

विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका नागेश कोइराला विजयी भएका छन्। 

एमालेका सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोइराला विजयी भएका हुन्। उनले ३० हजार १७० मत पाउँदा थापाले २१ हजार ४५५ मत मात्रै पाएका छन्। 

विराटनगरको उपमेयरमा भने नेकपा एमालेकी शिल्पा निराला कार्की निर्वाचित भएकी छन्। उनले गठबन्धनका अमरेन्द्र यादवलाई ११ हजार ४६१ को भारी मतान्तरले पछि पार्दैै विजयी भएकी हुन्। 

यादवले १४ हजार २१९ मत ल्याए भने कार्कीले २५ हजार ६८० मत ल्याएकी छन्। ३० वैशाखमा भएको निर्वाचनमा विराटनगरमा कुल ८९ हजार ७८९ मत खसेको थियो। 

१९ वटा वडा रहेको विराटनगरमा नेकपा एमालेले ९, नेपाली काँग्रेसले ६, जसपाले २, राप्रपाले १ र स्वतन्त्रले एउटा वडाको नेतृत्व जितेको छ।

विजयी भएपछि कोइरालाले नगरलाई नागरिकले चाहेजस्तो बनाउने बताएका छन्। विजयपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नानगरिकको शिक्षा, स्वास्थ्य र नगरको सरसफाई आफ्नो प्रमुख प्राथमिकतामा रहने बताए। 

उनले व्यवसायलाई करको दायरामा ल्याउँदै समय सापेक्ष कर निर्धारण गरिने पनि बताए। ‘व्यापार व्यवसायमा अहिले बढेको कर घटाउनेछु,’ उनले भने, ‘करको दायरा भने बढानउेछु।’

घोषणापत्र अनुसार काम गरेर देखाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। ‘नगरबासीको हकहितको लागि विशेष काम गर्छु,’ उनले भने, ‘बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको रोजारीका कार्यक्रम ल्याउँछु। विराटनगरलाई सफा, सुन्दर र सुरक्षित सहर बनाउनेछु।’
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad