निर्वाचन विशेष


विराटनगरमा उपेन्द्र यादवका छोराले गठबन्धनको आधा मत पनि पाएनन्

विराटनगरमा उपेन्द्र यादवका छोराले गठबन्धनको आधा मत पनि पाएनन्

फाइल तस्बिर


नेपालखबर
जेठ ६, २०७९ शुक्रबार ११:२०, काठमाडौँ

विराटनगर महानगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार भारी मतान्तरले पछि परेका छन्।

मेयर पदमा सत्ता गठबन्धनकै नागेश कोइरालाले फराकिलो अग्रता लिइरहँदा उपमेयरमा भने मेयरको आधा मत पनि झरेको छैन।

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव मैदानमा छन्। 

तर कोइरालाले पाएको भन्दा यादवले पाएको मत आधाभन्दा कम छ।

नागेश कोइरालाले २४ हजार ५६३ पाउँदा अमरेन्द्र यादवले १२ हजार १०४ मत मात्रै पाएका छन्। कोइरालालाई आएको गठबन्धनको मत यादवलाई नआएको हो। 

विराटनगरमा ७५ हजार ३४१ मत गणना भइसकेको छ। मेयरमा नागेशको जित सुनिश्चित हुँदै जाँदा उपमेयरमा भने गठबन्धनकै यादवको हार सुनिश्चित देखिएको छ। 

यादव एमालेकी शिल्पा कार्की भन्दा ९ हजार २७८ मतले पछि परेका छन्। यस्तोमा उपमेयर पदमा नेकपा एमालेकी कार्की विजय नजिक पुगेकी छन्।

कार्कीले २१ हजार ३८२ मत पाएकी छन्। उनले आफ्नै पार्टीबाट मेयरका उम्मेदवारले भन्दा ३ हजार बढी मत ल्याएकी हुन्। 

पार्टीको भागमा परेको उपमेयरमा आफ्नै छोरालाई उठाएको भन्दै जसपाभित्रै पनि विरोध भएको थियो। त्यसको असर मतपरिणाममा समेत देखिएको हो। 

वीरगन्जको प्रमुखमा जसपाकै उम्मेदवार राजेशमान सिंह भने भारी मतान्तरसहित अगाडी छन्। 

६ वटै महानगरपालिकामा प्रमुखमा पछि परेको एमालेले उपप्रमुखमा भने २ वटा महानगरपालिकामा जितनजिक पुगेको छ।

काठमाडौंमा एमालेकै सुनिता डंगोल र ललितपुरमा पनि मन्जली शाक्य बज्राचार्य जित उन्मुख छन्। 

कांग्रेसको भागमा परेका भरतपुर, पोखरा र वीरगन्जमा भने गठबन्धनकै उम्मेदवार अगाडि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad