स्थानीय तह निर्वाचनको मत गणना चलिरहँदा नेकपा (माओवादी केन्द्र)ले अघिल्लो निर्वाचनको विरासत जोगाएको छ।
अहिलेसम्म माओवादी केन्द्रले १०६ पालिका प्रमुख जित्दै २०७४ मा प्राप्त परिणामको विरासत जोगाएको हो। मतगणना चलिरहेका १४ पालिकामा अझै माओवादी केन्द्र अगाडि छ। यसले माओवादी केन्द्रले अझै केही स्थानीय तह थप्ने देखिएको छ।
२०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रले देशभर १०६ पालिका प्रमुख र १११ उपप्रमुख जितेको थियो।
अन्तिम नतिजा आइसकेका ५६५ पालिकामध्ये अहिलेसम्म माओवादी केन्द्रले १११ पालिकाको उपप्रमुख जितिसकेको छ।
माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा विगतको भन्दा बढी जित्ने देखिए पनि वडाध्यक्ष र वडा सदस्यमा भने उसको संख्या घट्ने संकेत देखिएको छ।
गत चुनावमा माओवादीले देशभरका १ हजार १०२ वटा वडामा जित हात पारेको थियो। अहिलेसम्म सार्वजनिक नतिजाअनुसार उसले ९२५ स्थानमा मात्र वडाध्यक्ष जितेको छ।
मतगणना चलिरहका १६ ठाउँमा माओवादीका वडाध्यक्षले अग्रता लिइरहेका छन्।
गत चुनावमा माओवादीले ४ हजार १२३ जना वडा सदस्य जितेको थियो । यसपालि अहिलेसम्म माओवादीले महिला सदस्य ८५९, दलित महिला सदस्य ८६४ र खुल्लातर्फका सदस्य १६ सय ९० समेत गरी कुल ३ हजार ३१३ स्थान जितेको छ। यो संख्या अघिल्लो चुनावको भन्दा झण्डै १ हजारले कम हो।
खासगरी पार्टी विभाजनका कारण मधेसमा माओवादी कमजोर देखिएको छ। मधेसका प्रभावशाली मानिने प्रभु साहसहितका नेता एमालेमा लागेपछि त्यसको असर माओवादीको चुनावी परिणाममा देखिएको छ।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रले मधेशका १३ नगर र ८ गाउँपालिका गरी २१ पालिकाको प्रमुख र २४ उपप्रमुख जितेको थियो।
अहिलेसम्म सार्वजनिक परिणाम अनुसार माओवादीले जितपुर सिमरा उपमहानगरसहित मधेसमा ५ पालिकामा मात्रै जित हात पारेको छ। मधेसका जिल्लामा अग्रता पनि माओवादीको निकै कम छ।
Shares

प्रतिक्रिया