ad ad

निर्वाचन विशेष


सिन्धुपाल्चोकका नगर : एमालेले जितेका दुवै पालिका गुमायो, माओवादीले जोगायो

एमालेको ‘गढ’ मेलम्ची खोसियो, बाह्रबिसेमा कांग्रेसको ‘क्लिन स्वीप’
सिन्धुपाल्चोकका नगर : एमालेले जितेका दुवै पालिका गुमायो, माओवादीले जोगायो

रुपक चौलागाईं
जेठ ४, २०७९ बुधबार १७:५३, काठमाडौँ

१२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा ३ वटा नगरपालिका छन्। यी ३ नगरपालिकामध्ये ०७४ को निर्वाचनमा नेकपा एमालेले २ र माओवादी केन्द्रले १ मा जित निकालेको थियो। 

बाह्रबिसे र मेलम्चीमा एमालेले जितेको थियो भने चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको थियो।

यो पटकको निर्वाचनमा माओवादीले चौतारा साँगाचोकगढीमा आफ्नो विरासत जोगाएको छ। तर, एमालेले जितेको बाह्रबिसे र मेलम्चीमा भने नेपाली कांग्रेस विजयी भएको छ।

मेलम्ची एमाले नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङ, बाह्रबिसे कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र चौतारा साँगाचोकगढी सभामुख अग्निप्रसाद सापकोटाको गृहनगर हो।

३ हेभिवेट नेताको गृह पालिकामा देखिएको आन्तरिक प्रतिस्पर्धाको क्षति एमालेले ब्यहोरेको छ।

बाह्रबिसे : ‘गढ’ फर्काउँदै कांग्रेसको क्लिन स्वीप
बाह्रबिसेलाई कांग्रेसले आफ्नो ‘गढ’ मान्दै आएको थियो। ०७४ को निर्वाचनमा एमालेका निमफुन्जोले केन्द्रीय राजनीतिमा समेत प्रभाव जमाउने नेता मोहन बस्नेतको पालिकामा जित निकालेपछि ‘गढ’ भत्किएको थियो। ५ वर्षपछिको निर्वाचनमा कांग्रेसले प्रमुख र उपप्रमुखसहित सबै वडामा कांग्रेसले क्लिन स्वीप गरेको छ।

बाह्रबिसेका ९ वटा वडाका सबै वडाध्यक्ष कांग्रेसले हात पारेको छ। 

एमालेले निवर्तमान मेयर र उपमेयरलाई नै बाह्रबिसेको उम्मेदवार बनाएको थियो। प्रमुखमा निमफुन्जो शेर्पा र उपप्रमुखमा सुशीला पाख्रिनलाई टिकट दिएको एमालेले दुवै पद नेपाली कांग्रेसको पोल्टामा पारिदिएको छ। 

०७४ को निर्वाचनमा पराजय व्यहोरेका बालकृष्ण बस्नेतलाई नै कांग्रेसले यो पटक उम्मेदवार बनायो। उपमेयरमा भने मञ्जु तामाङलाई पार्टीले टिकट दिएको थियो। बस्नेतले ७ हजार ७ सय २८ प्राप्त गरेका छन् भने तामाङले ६ हजार ९ सय ७ठ मत ल्याएर विजयी भएकी छन्। 

बस्नेतले ०७४ को निर्वाचनमा ४ हजार ७ सय ११ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका शेर्पाले ४ हजार ९ सय २९ मत ल्याएर विजयी भएका थिए। ५ वर्षपछिको चुनावी नतिजा भने शेर्पाको पक्षमा देखिएन।

निवर्तमान मेयरसमेत रहेका एमालेका निमफुन्जो अहिले ५ हजार ४ सय ३३ मत ल्याएर दोस्रो भएका छन् भने निवर्तमान उपमेयर सुशीला पाख्रिनले ५ हजार ९ सय ९० मत ल्याएकी छिन्। बाह्रबिसेमा माओवादी केन्द्रसँग तालमेल नगरी कांग्रेस एक्लैले जित निकालेको हो।

चौताराः ‘बागी’ पन्छाएर माओवादीले जोगायो विरासत
जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढीको प्रमुखमा सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा विजयी भएका छन्। यहाँ माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको थियो। 

निवर्तमान मेयर अमानसिंह तामाङले टिकट नपाएपछि सुरुमा बागी उम्मेदवारी दर्ता गराएका थिए। कुनै हालतमा चौताराको साख जोगाउनुपर्ने चुनौतीमा रहेका माओवादी केन्द्रका नेताहरुले ‘हेडक्वार्टर’बाटै फोन गर्न लगाएर अन्तिम समयमा तामाङको उम्मेदवारी फिर्ता गराएका थिए। 

पुराना नेता कृष्णप्रसादले ११ हजार ७२ मत ल्याएर विजयी हुँदा उपप्रमुखमा एकीकृत समाजवादीबाट सीता थापाले ९ हजार ७ सय २६ मत प्राप्त गरेकी छिन्। चौतारामा प्रतिस्पर्धी एमालेका प्रमुख उम्मेदवार इन्द्र बहादुर नेपालले ६ हजार ८ सय ८५ मत ल्याएका छन् भने उपप्रमुखमा एमालेकी बाल कुमारी सापकोटाले ६ हजार ८ सय ८७ मत प्राप्त गरेकी छिन्। 

चौतारा साँगाचोक गढीका १४ वडामध्ये एउटा वडाको अध्यक्षमा समाजवादी–माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका छन्। माओवादीले ५ वटा वडाध्यक्षमा जित निकालेको छ भने एमालेले ४ र कांग्रेसले ४ वटा वडाध्यक्षमा जित निकालेको छ। 

०७४ सालको निर्वाचनमा पनि फराकिलो मतान्तरले विजयी भएको थियो। माओवादीका अमानसिंहले ७ हजार ७ सय २९ मत ल्याउँदा एमालेका सोमबहादुर सापकोटाले ५ हजार ८ सय ६ मत प्राप्त गरेका थिए। तामाङ १ हजार ९ सय २३ मतको फराकिलो अन्तरले जितेको थियो।

माओवादी यो पटकको निर्वाचनमा पनि मतान्तर बढाएको छ। सापकोटाले एमालेका उम्मेदवारसँग ४ हजार २ सय ८७ मतको फराकिलो अन्तरले जित निकालेका छन्। ०७४ देखि नै ‘आधार इलाका’ बनाएको माओवादीले यो पटक विरासत जोगाउन सफल भएको छ। 

मेलम्चीः एमालेको ‘गढ’ खोस्यो कांग्रेसले
एमाले नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङको गृहनगर समेत रहेको मेलम्चीलाई एमालेले आफ्नो ‘गढ’ मान्दै आएको थियो। ०७४ को निर्वाचनमा एमालेका उम्मेदवार डम्बर अर्यालले १ हजार ६ सय मतान्तरसहित कांग्रेसका आइतमान तामाङलाई पराजित गराएका थिए। 

उपप्रमुखमा एमालेकी भगवती अर्यालले २ हजार ३ सय ७८ मतसहित कांग्रेसकी सविता गुरुङलाई पराजित गरेकी थिइन्। कांग्रेसले अहिले पनि यसअघि पराजित भएका आइतमानलाई नै टिकट दियो। 

आइतमानले यो पटक एमालेका बालकृष्ण देउजालाई १६८ मतान्तरले पराजित गर्दै जित हात पारेका हुन्। तामाङले ११ हजार २ सय ५ मत पाए भने देउजाले ११ हजार ३७ मत प्राप्त गरे। उपप्रमुखमा भने नेकपा एमालेकी उमा प्रधानले जित हात पारिन्।

उनले ११ हजार १ सय ५ मत प्राप्त गरिन्। त्यस्तै, राप्रपाकी कुमारी तामाङले ८ हजार ३ सय ३ मत प्राप्त गरेकी छिन्। एमाले विभाजनको असर मेलम्ची नगरपालिकामा पनि परेको थियो।

मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल लगायत धेरै नेताहरु एकीकृत समाजवादी प्रवेश गरेका थिए। पार्टी विभाजनको असर र कांग्रेस माओवादीको गठबन्धनका कारण एमालेले मेलम्चीमा आफ्नो विरासत गुमाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .