निर्वाचन विशेष


उद्योगमन्त्रीको गृहजिल्लामा ढल्यो कांग्रेसको विरासत, सबै पालिकामा एमाले-माओवादी

गठबन्धनले माओवादी ‘मालामाल’, एमालेले गर्‍यो कमाल
उद्योगमन्त्रीको गृहजिल्लामा ढल्यो कांग्रेसको विरासत, सबै पालिकामा एमाले-माओवादी

फाइल फोटो


गोकुल जोशी
जेठ ३, २०७९ मंगलबार १५:२८, कञ्चनपुर

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला दार्चुलामा नेपाली कांग्रेसले विरासत गुमाएको छ। 

सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनावमा होमिएको कांग्रेसले यस पटक २०७४ को विरासत जोगाउन सकेन। 

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीलाई पाखा लगाउँदै माओवादी र कांग्रेसले छुट्टै चुनावी तालमेल गरेका थिए।

०७४ को चुनावमा पहिलो शक्ति कांग्रेस यस पटक तेस्रोमा खुम्चिन पुगेको हो। २ नगरपालिका र ७ गाउँपालिकासहित दार्चुलामा ९ स्थानीय तह छन्। 

कांग्रेसले ०७४ मा शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै जितेको थियो। उसले मालिकार्जुन गाउँपालिकाको अध्यक्ष जितेको थियो। 

४ स्थानीय तह प्रमुख–उपप्रमुख दुवै र १ स्थानीय तह प्रमुख मात्रै जितेको कांग्रेस यसपटकको चुनावमा कमजोर देखिएको छ। 

पालिका प्रमुखमा कांग्रेस ‘क्लिन स्वीप’
दार्चुलाका पालिका प्रमुखमा कांग्रेस ‘क्लिन स्वीप’ भएको छ। कांग्रेस र माओवादीको सहमति बमोजिम ९ स्थानीय तहमध्ये २ नगरपालिकासहित ५ पालिकाको नेतृत्वमा कांग्रेस र ४ मा माओवादीले उम्मेदवार उठाएको थियो।

यस्तै, २ वटा पालिका उपाध्यक्षमा माओवादी केन्द्र र ७ वटाको उपप्रमुख वा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार खडा गरेको थियो। 

कांग्रेसको भागमा परेका ५ वटै पालिका प्रमुखमा पराजय भोगेको छ। यसपटक कांग्रेस दार्चुलाका पालिकामा प्रमुखविहीन बनेको छ।

भागबण्डामा कांग्रेसले जहाँ प्रमुख पाएको थियो, त्यहीँ एमालेसँग पराजित भएको हो। 

कांग्रेसले भागबण्डामा पाएका ७ वटा उपप्रमुखमध्ये ४ वटामा मात्रै जित निकाल्न सफल भएको छ। ०७४ सालको पहिलो शक्ति कांग्रेसले दार्चुलाको अपिहिमाल, दुहुँ, नौगाड र मार्मा गाउँपालिकामा उपाध्यक्ष जितेको छ।

एमालेले बढायो 
सत्ता गठबन्धनविरुद्ध एक्लै चुनाव लडेको नेकपा एमाले यहाँ पहिलो शक्ति बनेको छ। एमालेले शैल्यशिखर र महाकाली नगरपालिकामा मेयर उपमेयर दुवै जितेको छ। 

अन्य तीन पालिका मालिकार्जुन, दुहुँ र व्याँसमा पनि एमाले एक्लै लडेको थियो। यहाँ पनि एमालेले गठबन्धनबाट खोस्न सफल भएको छ। यी पालिकामा एमालेले अध्यक्ष मात्रै जितेको छ। यस्तै लेकम गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेले बाजी मारेको  छ।

यसअघि ०७४ सालको चुनावमा एमालेले तीन पालिका नौगाड, अपिहिमाल, लेकममा प्रमुख उपप्रमुख दुवै जितेको थियो भने मालिकार्जुनमा उपाध्यक्ष मात्रै जितेको थियो।  

माओवादी ‘मालामाल’
तेस्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्रले गठबन्धनबाट शक्ति बढाएको छ। माओवादीले गठबन्धनबाट पाएका ४ वटै पालिका प्रमुखमा जित हात पारेको छ।

उसले अपिहिमाल, नौगाड, मार्मा र लेकम गाउँपालिका गरेर ४ पालिकाको नेतृत्व लिएको छ। यस्तै भागबण्डामा माओवादीले उपाध्यक्ष पाएको व्याँस र मालिकार्जुन गाउँपालिकामा पनि माओवादी जितेको छ। 

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी एक मात्रै मार्मा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष जितेको थियो। 

पालिका विवरण

शैल्यशिखर नगरपालिका
शैल्यशिखर नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेको छ। शैल्यशिखरको मेयरमा कांग्रेसका अमरसिंह धामीलाई हराउँदै एमालेका विजयसिंह धामी निर्वाचित भए। उपमेयरमा पनि एमालेकी शान्ति खडायतले कांग्रेसका राजमति बमलाई पछि पार्दै विजयी भए।

महाकाली नगरपालिका
महाकाली नगरपालिकामा पनि मेयर र उपमेयर दुवै एमालेले जित्यो। मेयरमा कांग्रेसका हंशराज भट्टलाई पराजित गर्दै एमालेका नरसिंह चैंसिर विजयी भए। उपमेयरमा कांग्रेसकी सुना बोहरालाई हराउँदै एमालेकी दुर्गा खत्री निर्वाचित भइन्।

अपिहिमाल गाउँपालिका
अपिहिमाल गाउँपालिकाको अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसले हात पारेको छ। अध्यक्षमा माओवादीका भक्त सिंह ठेकरे एमालेका धर्मानन्द सिंह मन्याललाई उछिन्दै अध्यक्षमा बाजी मारे। 

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी देवकी बोहरा एमालेकी उर्मिला बोहोरालाई पछार्दै विजयी भइन्।

दुहुँ गाउँपालिका
दुहुँ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भयो। एमालेका नरबहादुर बडाल कांग्रेसका पुलेन्द्र बहादुर कार्कीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए। कांग्रेसकी शान्ति बम एमालेकी ताराकेशरी कुँवरलाई उछिन्दै उपाध्यक्ष भइन्।

नौगाड गाउँपालिका
नौगाडको अध्यक्षमा नेकपा माओवादी र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा माओवादीका दलजित सिंह धामी एमालेका प्रेमसिंह धामीलाई पराजित गर्दै निर्वाचित भए। उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्ना एमालेका गौरीदेवी ठगुन्नालाई पछाडि पार्दै विजयी भए।

व्याँस गाउँपालिका
व्याँसको प्रमुख–उपप्रमुखमा एमाले र माओवादीले बाजी पारेको छ। अध्यक्षमा कांग्रेसका दिलीपसिंह बुढाथोकीलाई पराजित गर्दै एमालेका मंगलसिंह धामी विजयी भए। यस्तै उपाध्यक्षमा एमालेकी चन्द्रा कुँवरलाई हराउँदै माओवादी केन्द्रका विनोदसिंह कुँवर निर्वाचित भए।

मार्मा गाउँपालिका 
मार्मामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्र र कांग्रेसले बाँडेका छन्। अध्यक्षमा एमालेका देवसिंह महरलाई पराजित गर्दै माओवादीका जमनसिंह धामीले सफलता हात पारे। 
उपाध्यक्षमा एमालेका राजु धामीलाई पछि पार्दै कांग्रेसकी शर्मिला सिंह चन्द विजयी भएकी छन्।

मालिकार्जुन 
मालिकार्जुनमा अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रले सफलता पाएको छ। अध्यक्षमा कांग्रेसका नरेन्द्र सिंह धामीलाई उछिन्दै एमालेका हिरासिंह धामी विजयी भए। 
यस्तै उपाध्यक्षमा एमालेकी गोमति भट्टलाई पराजित गर्दै माओवादीका कल्याण सिंह धामी विजयी भए।

लेकम गाउँपालिका
लेकमको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। एमालेका प्रमानन्द जोशीलाई पराजित गर्दै माओवादी केन्द्रका रामदत्त जोशी पालिका अध्यक्ष बने। 
उपाध्यक्षमा कांग्रेसकी सुना जोशीलाई उछिन्दै एमालेकी माधवी जोशीले बाजी मारिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad