निर्वाचन विशेष


तुलसीपुरको उपप्रमुखमा स्यानी र जोगबहादुरको रस्साकस्सी, विप्लवका खेमराज पनि माहोल तताउँदै

तुलसीपुरको उपप्रमुखमा स्यानी र जोगबहादुरको रस्साकस्सी, विप्लवका खेमराज पनि माहोल तताउँदै

सुदीप भण्डारी
बैशाख २०, २०७९ मंगलबार १७:४१, बुटवल

दाङको तुलसीपुर उपमहानगरपालिकामा चुनावी माहोल निकै तातेको  छ। प्रमुखका उम्मेदवारसँगै उपप्रमुखका उम्मेदवारहरू पनि घरदैलो गरिरहेका छन्।

अघिल्लो चुनावलाई आधार मान्दा तुलसीपुरमा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। कांग्रेस यसपटक ३ दललाई साथमा लिएर एमालेसँग भिड्न तुलसीपुरको मैदानमा होमिएको छ।

एमालेका टीकाराम खड्का प्रमुखको उम्मेदवार बन्दा स्यानी चौधरी उपप्रमुखको मैदानमा छिन्। कांग्रेसका गेहेन्द्र गिरि प्रमुखको हात पार्ने प्रयासका लागि मैदानमा छन्। उनको पक्षका उपप्रमुख नेकपा एकीकृत समाजवादी पार्टीका जोगबहादुर राना छन्।  

त्यसैले उपमहानगरको न्यायिक, अनुगमन समिति लगायतका जिम्मेवारी हात पार्न स्यानी र जोगबहादुरको रस्साकस्सी छ। दुवै पक्षले उपप्रमुखको लागि जनजाती समुदायका व्यक्तिलाई उम्मेदवार बनाएका छन्। 

स्यानी चौधरी ३० वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएकी छन्। उनले तुलसीपुरमा अनाथालय चलाएकी छन्। जहाँ ४२ जना बालबालिकाले आश्रय लिइरहेका छन्। २०६१ सालदेखि उनले सो संस्था सुरु गरेकी हुन्। उनले समाजशास्त्रमा एमए सम्मको अध्ययन गरेकी छन्। हाल उनी एमालेको जिल्ला सदस्य छन्। 

जोगबहादुर राना २०५४ सालको स्थानीय चुनावबाट जिविस सदस्य भएका थिए। २०७० सालको संविधान सभाको निर्वाचनमा एमालेको समानुपातिकमा उनको पनि नाम थियो, तर सभासद बन्न पाएनन्।

एमालेमा रहँदा जिल्ला सचिव, उपाध्यक्ष भएका थिए। नवौँ महाधिवेशनमा नरुलाल चौधरी केन्द्रीय सदस्य बन्दा खाली भएको जिल्ला अध्यक्षको कार्यवाहक भूमिका समेत निर्वाह गरेका थिए।  एमाले विभाजनपछि एकीकृत समाजवादीमा आएका उनी हाल सो पार्टीको तुलसीपुर नगर इन्चार्ज छन्। 

२०७४ सालको स्थानीय चुनावमा तुलसीपुरमा प्रमुखसँगै उपप्रमुख पद एमालेले जितेको थियो। प्रमुखमा झण्डै ४ हजारको अन्तर भएपनि उपप्रमुखमा भने ८५२ मतको मात्र फरक थियो। 

तुलसीपुरको उपप्रमुखमा एमालेकी माया आचार्यले २१ हजार ३७ मत पाएर विजयी भएकी थिइन्। कांग्रेसकी देवीका नेपाली घिमिरेले २० हजार १८५ मत पाएकी थिइन्। 

माओवादी केन्द्रकी सीता वलीको ९ हजार ५१ मत आएको थियो।  अरु केही उम्मेदवारको ६ सय भन्दा कम मत थियो। त्यो आधारलाई हेर्दा उपप्रमुखमा एमाले र गठबन्धन दल बीचमै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

एमालेकी उपप्रमुख उम्मेदवार स्यानी चौधरी प्रतिस्पर्धी दलमा महिला उम्मेदवार नरहेको र आफू सामाजिक क्षेत्रमा समेत चिनिएकाले राम्रो मत ल्याएर विजयी हुने दाबी गर्छिन्।

‘उहाँहरुको महिला उम्मेदवार हुनुहुन्न। म आफू पनि सक्षम छु। ३० वर्ष भयो म सामाजिक क्षेत्रमा लागेको। मेरो कामका आधारमा धेरैले चिन्नुहुन्छ’ उनले भनिन्, ‘किशोरी शिक्षालाई केन्द्रित गर्ने मेरो एजेन्डा छ। सडक बालबालिका, घरेलु हिंसामा परेका महिलाको क्षेत्रमा प्राथमिकता दिन्छु। सरकारी स्वास्थ्य शिक्षामा गुणस्तरीयता दिने प्रयास गर्छु।’ 

गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार जोगबहादुर रानाले ४ दलीय गठबन्धन एक ठाउँमा भएकाले जित सहज भएको दाबी गरे। अरु ठाउँमा ५ दलीय गठबन्धन भएपनि तुलसीपुरमा जसपा अलग छ।

‘तुलसीपुरमा हामी चारै दलका उम्मेदवार एक ठाउँमा छौं। जनताको दुःख सुखमा सरिक भएको कार्यकर्ता हुँ। त्यसैले जित सहज छ’ उनले भने, ‘यो कार्यकालमा तुलसीपुरमा ७२ करोड बेरुजु देखिएको छ। यहाँको रोग, भोक अशिक्षाको समाधान गर्नुपर्ने छ। सुकुम्बासी समस्याले दाङ ग्रसित छ। त्यसको पनि समाधान गर्ने हाम्रो एजेण्डा हो।’  

स्यानी र जोगबहादुर सहित तुलसीपुरमा उपप्रमुखका ९ जना उम्मेदवार रहेका छन्।

नेकपा विप्लव समूहले पनि तुलसीपुरमा उपप्रमुखकाे उम्मेदवारी दिएकाे छ। विप्लव समूहका नेता खेमराज वलीले स्वतन्त्र उमेदवार भएर घर दैलोमा लागिरहेका छन्। उनले आफू विजयी भएमा राज्यको सुविधा केही नलिने बताउँदै आएका छन्। 

तुलसीपुरमा गठबन्धनबाट अलग्गिएको जनता समाजवादी पार्टीको तर्फबाट धनसरा विक उम्मेदवार बनेकी छन्। राप्रपाबाट प्रेमबहादुर शाह, नेकपा मालेबाट अग्नि चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट सीता चौधरी र मंगोल नेसनल अर्गनाइजेसनका गमबहादुर छन्त्याल पनि उम्मेदवार रहेका छन्।

उपप्रमुखका स्वतन्त्र उम्मेदवार खेमराज वली र सुशिल नेपाली पनि मैदानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .