ad ad

कारोबार


अल्फाबिटाका सञ्चालकदेखि दुर्गा प्रसाईंसम्म एमालेबाट चुनाव लड्ने दौडमा

कोहीको नाम सिफारिस, कोही नेतृत्व रिझाउँदै
अल्फाबिटाका सञ्चालकदेखि दुर्गा प्रसाईंसम्म एमालेबाट चुनाव लड्ने दौडमा

एमालेबाट चुनाव लड्न तयार व्यवसायीहरु


वसन्त अर्याल
भदौ २१, २०७९ मंगलबार ७:३६, काठमाडौँ

 संसदीय निर्वाचन मिति नजिकिँदै गर्दा चुनावी माहोल पनि बढेको छ। दलहरु यतिबेला उम्मेदवार छनोटको रस्साकस्सीमा छन्। 

दलहरुबाट चुनावी उम्मेदवार सिफारिस भइरहँदा नाम चलेका व्यवसायी पनि टिकट लिन आतुर देखिएका छन्। 

ठूला दलहरु कांग्रेस, एमाले र माओवादीबाट टिकट लिएर चुनाव लड्न व्यवसायीको दौडधूप बढेको छ। 

प्रमुख प्रतिपक्षी एमालेबाट पनि टिकट लिएर प्रदेश र प्रतिनिधिसभामा लड्न व्यवसायीहरु अग्रसर देखिएका छन्। 

मंसिर ४ गते हुने निर्वाचनबाट संसद यात्राको योजनासहित मोतिलाल दुगडदेखि अल्फाबिटाका सञ्चालक द्विराज शर्मा शिवाकोटीसम्म टिकटको दौडमा छन्।

केही सिफारिस भइसकेका छन् भने केही टिकट पक्का गर्न नेता रिझाउन लागिरहेका छन्। 

एमालेनिकट केही व्यवसायीहरुले प्रत्यक्ष निर्वाचनको तयारी नै थालेका छन्। 

पूर्वउद्योग राज्यमन्त्री मोतिताल दुगड प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन्। उनले पार्टीले जुन निर्वाचन क्षेत्रमा टिकट दिन्छ त्यसमै लड्ने बताए। उनी एमालेको उद्योग विभाा प्रमुख पनि हुन्। 

‘म यो पटक प्रत्यक्ष संसदीय निर्वाचनको तयारीमा छु। तर मैले भनेर पनि हुँदैन। पार्टीले कुन खालको जिम्मेवारी दिन्छ’, एमाले उद्योग विभागका प्रमुख समेत रहेका दुगडले नेपालखबरसँग भने, ‘त्यहीअनुसार अघि बढ्ने हो। कुन निर्वाचन क्षेत्रको उम्मेदवार बन्ने भन्ने निर्णय भएको छैन।’

दुगडमात्रै होइन, एमाले उद्योग विभागकै उपप्रमुख व्यवसायी दुर्गा प्रसाईंले पनि तयारी थालिसकेका छन्। उनले झापा क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेका थिए।

तर झापा ३ मा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्भावित तालमेलका कारण प्रसाईंले समानुपातिकमा पनि बस्नसक्ने बताउने गरेका छन्। 

काठमाडौं महानगरले अनधिकृत रुपमा बनेका भौतिक संरचना भत्काउन थालेपछि चर्चामा आएका अल्फाबिटाका सञ्चालक द्विराज शर्मा शिवाकोटीले पनि प्रतिनिधि सभामा लड्ने तयारी गरेका छन्। उनले काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्न चाहेका छन्। 

महानगरको उक्त अभियानमा मेयर बालेन्द्र शाहसँग चर्काचर्कीपछि उनी चर्चा र विवादमा परेका थिए। २ दशक बढी समयदेखि शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जालगायत क्षेत्रमा आबद्ध उनी चर्चित झापा विद्रोहका अभियन्ता शिवप्रसाद शिवाकोटीका छोरा हुन्। 

नेकपा एमाले काठमाडौं क्षेत्र नं. १ ले द्विराज शर्मा शिवाकोटीसहित ५ जनालाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ।  

‘एमाले काठमाडौं क्षेत्र नं १ ले मसहित ५ जनाको नाम सिफारिस गरेको छ’, उनले भने, ‘पार्टीले टिकट दिए निर्वाचन लड्न तयार छु।’

अहिले युवारु नेतृत्वमा पुग्ने ट्रेन्ड बढेकाले आफू पनि राजनीतिमा आउन चाहेको उनले नेपालखबरलाई बताए। शिवाकोटीले लामो समय व्यवसायसँगै राजनीतिमा पारिवारिक विरासत पनि रहेकाले निर्वाचनमा आउन चाहेको खुलाए। 

त्यस्तै झापा क्षेत्र ४ मा व्यवसायी लाल प्रसाद (एलपी) साँवा लिम्बू सिफारिस भएका छन्। उनी गत चैतमा नेकपा एमालेनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा चयन भएका थिए।

काठमाडौंमा सम्पन्न महासंघको दोस्रो महाधिवेशनबाट झापा क्षेत्र नम्बर ४ का सांसद समेत रहेका लिम्बू सर्वसम्मत अध्यक्ष चुनिएका हुन्। 

२०७४ को निर्वाचनमा लिम्बूले नेपाली कांग्रेसका देउकुमार थेवेलाई पराजित गरेका थिए। थेवेले २६ हजार ८२२ मत ल्याउँदा उनले ४३ हजार ५१५ ल्याएका थिए। 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका साँवा ग्लोबल अलाइन्स कन्सलटेन्सी प्रालिका सञ्चालक पनि हुन्। उनले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेका छन्। 
 
त्यसैगरी मनाङमा दक्षिण एसियाकै ठूलो स्याउ फार्म खोलेका पोल्देन छोपाङ गुरुङले पनि एमालेबाट निर्वाचन लड्ने तयारी गरेका छन्।

वर्तमान सांसद गुरुङ २३ सय मत ल्याई विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्वमन्त्री टेक बहादुर गुरुङले २ हजार २१ मत ल्याएका थिए। 

२०७० को संविधानसभा निर्वाचनपछि एमाले प्रवेश गरेका पोल्देन चर्चित स्याउ उत्पादक व्यवसायी हुन्। उनी एसियाकै उत्कृष्ट स्याउ फार्म चलाएर मनाङमा ख्याति कमाएका छन्। 

‘निर्वाचनमा को प्रतिस्पर्धा गर्छ भन्ने कुरा पार्टीले निर्णय गर्छ। अहिले नै उम्मेदवार हुन्छु हुँदैन भन्न सकिन्न’, गुरुङले नेपालखबरसँग भने। 

त्यसैगरी पर्सामा निर्वाचन लड्न २ जना व्यवसायी दौडधूपमा छन्। स्थानीय तहको निर्वाचनअघि एमाले प्रवेश गरेका विजयी सरावगी पर्सा २ मा प्रत्यक्ष निर्वाचनको दौडमा छन्।

वीरगन्ज महानगरका पूर्वमेयर समेत रहेका उनी गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पराजित भएका थिए। सरावगी वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन्। 

त्यस्तै मेडिकल व्यवसायी बसरुद्दिन अन्सारी पनि पर्सा क्षेत्र नं. १ बाट निर्वाचन लड्ने तयारीमा छन्। नेशनल मेडिकल कलेजका सञ्चालक उनी अघिल्लो महानगरको निर्वाचनमा पराजित भएका थिए।

हालका सांसद प्रदीप यादवसँग प्रतिस्पर्धाको लागि उनी एमालेसँग छलफलमा रहेको एक स्थानीय नेताले जानकारी दिए। अर्कातिर व्यवसायीसमेत रहेका वीरगञ्ज महानगरपालिका पूर्वमेयर विजय सरावगी पनि पर्सा १ बाट टिकटको लविङमा छन्। 

यतिमात्र होइन, २०७७ चैतमा एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधान एमालेको समानुपातिकबाट सांसद हुन चाहेका छन्।

 नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत भइसकेका प्रधान पोल व्यवसायी संघका अध्यक्ष समेत हुन्। 

‘समानुपातिकबाट संघीय सांसद चयन हुन कुरा भइरहेको छ’, उनले भने, ‘सोहीअनुसार पार्टीबाट कुरा आइरहेको छ। अन्तिम निर्णय पार्टीले नै गर्छ।’

उनी विराटनगरका व्यवसायी हुन्। एमालेको उद्योग विभाग सदस्य रहेका प्रधान २३५ जना व्यवसायीको नेतृत्व गरी २ वर्षअघि एमाले प्रवेश गरेका थिए। 

एमाले सचिव तथा पूर्वमन्त्री रघुवीर महासेठ एमालेका ठूला व्यवसायीको रुपमा परिचित छन्। जमिनदार परिवारबाट आएका महासेठका परिवारको स्मार्ट टेलिकममा लगानी छ।

एनआरएनए उपेन्द्र महतोका ज्वाइँ महासेठले थुप्रै कम्पनीमा सेयर लगानी गरेका छन्। नेकपा एमाले धनुषाबाट महासेठका दम्पतीकै नाम सिफारिस भएको छ। 

महासेठ धनुषा क्षेत्र नं ४ बाट सिफारिस हुँदा पत्नी जुली महतो क्षेत्र नं. ३ बाट सिफारिस भएकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .