कारोबार


नेपाल-भारतबीच एआई सहकार्यका सम्भावनाबारे छलफल

नेपाल-भारतबीच एआई सहकार्यका सम्भावनाबारे छलफल

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १८:३२, काठमाडौँ

नेपाल र भारतबीच एआईमा सहकार्य गर्ने विषयमा काठमाडौँमा छलफल गरिएको छ। नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा उदीयमान प्रविधिहरूमा भारत-नेपाल साझेदारी एआई सहकार्यका लागि द्विपक्षीय अवसरहरूको अन्वेषण विषयक कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमले दुई देशबीच कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को क्षेत्रमा सहकार्यका सम्भावनाहरूबारे छलफल गर्न व्यवसाय, सरकार, प्राज्ञिक र प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याएको आयोजकले जनाएको छ।

कार्यक्रममा दक्षिण एसियामै फुल-स्ट्याक जेनेरेटिभ एआई र स्थानीय भाषाका एआई प्रणालीहरू निर्माण गर्ने अग्रणी कम्पनी सर्वम एआईका सह-संस्थापक तथा सीईओ डा. प्रत्यूष कुमारले प्रमुख वक्ताको रूपमा सम्बोधन गरेका थिए।

कार्यक्रमअघि डा. कुमारले नेपालको प्रविधि र लगानी इकोसिस्टमका प्रतिनिधिहरू डाटा वर्ल्ड, बिचुटेन, गोल्छा इन्डस्ट्रिज, स्पार्क ग्रुप र स्प्यारो एसएमएससँग डिजिटल पूर्वाधार, एआई र उदीयमान प्रविधिहरूमा रहेका अवसरहरूबारे छलफल गरेका थिए। निक्कीका अध्यक्ष सुनील के.सी.ले मन्तव्यका साथ कार्यक्रममा सबै सहभागीहरूलाई स्वागत गरे।

आफ्नो स्वागत मन्तव्यमा निक्कीका अध्यक्ष केसीले नेपाल र भारतबीच प्रविधिमा आधारित आर्थिक सहयोग सुदृढ गर्नुपर्नेमा जोड दिए। उनले सर्वम एआईलाई नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न र सार्वजनिक तथा निजी दुवै क्षेत्रसँग साझेदारी अघि बढाउन प्रोत्साहित गरे।

यस्ता सहकार्यले अग्रणी प्रविधि कम्पनीहरूबाट थप लगानी भित्र्याउन उत्प्रेरित गर्ने र नवप्रवर्तनमा आधारित लगानी, ज्ञान हस्तान्तरण र रणनीतिक प्रविधि साझेदारीमार्फत नेपालको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को खाडल पुर्न मद्दत गर्ने के.सी.ले बताए।

नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले भारत–नेपाल आर्थिक सहयोगको फराकिलो सन्दर्भसँग जोड्दै डिजिटल क्षमता अभिवृद्धि, स्टार्टअप सहयोग र उदीयमान प्रविधिहरूमा ज्ञान आदानप्रदानमा साझा चासो रहेको औँल्याए। साथै उनले एआई र नवप्रवर्तनमा भारतीय र नेपाली सरोकारवालाहरूबीचको सहकार्यका  लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

डा. प्रत्यूष कुमारले आफ्नो सम्बोधनमा फुल–स्ट्याक जेनेरेटिभ एआईको उदय र एआई प्रविधिका निर्माताभन्दा पनि उपभोक्ताको रूपमा रहेका देशहरूमा यसको प्रभावबारे चर्चा गरे। उनले दक्षिण एसियाको भाषिक र सांस्कृतिक यथार्थ अनुकूल हुने प्रणालीहरू विकास गर्ने सर्वम एआईको दृष्टिकोणबारे प्रस्ट् पार्दै, डिजिटल पहुँच र समावेशीकरण विस्तार गर्ने माध्यमका रूपमा स्थानीय भाषाका प्रविधिहरूमा विशेष जोड दिए।

उनले उदीयमान अर्थतन्त्रहरूसँग अन्यत्र विकास गरिएका एआई उपकरणहरू मात्र अपनाउने भन्दा पनि आफ्नै जनसंख्या, भाषाहरू र प्रयोगका आवश्यकताहरू अनुकूल हुने सार्वभौम क्षमताहरू निर्माण गर्ने अवसर रहेको बताए। प्रतिभा विकास, अनुसन्धान पूर्वाधार र नीतिगत समर्थनसहितको भारतको एआई इकोसिस्टमको रूपरेखा प्रस्तुत गर्दै डा. कुमारले एआई अपनाउने प्रारम्भिक चरणमा रहेका देशहरूका लागि सीमान्तकृत जनसंख्यासम्म पुग्न स्थानीय भाषाका मोडेलहरूको महत्त्व, जनविश्वास कायम राख्न जिम्मेवार प्रयोग अभ्यासहरू र आन्तरिक प्रतिभाहरूको विकास गर्न सुझावहरू दिए।

उनले नेपालको स्टार्टअप समुदाय र प्राज्ञिक संस्थाहरूले यस दिशामा प्रारम्भिक कदम चाल्न राम्रो स्थितिमा रहेको बताउँदै भारतको अनुभव, विशेष गरी सरकार, शिक्षा क्षेत्र र निजी क्षेत्रबीचको साझेदारीलाई सान्दर्भिक मोडलको रूपमा औँल्याए। उनले संयुक्त अनुसन्धान पहलहरू, प्रशिक्षण कार्यक्रमहरू र स्टार्टअप इकोसिस्टम आदानप्रदानलाई भारत–नेपाल सहकार्य अघि बढ्न सक्ने क्षेत्रहरूको रूपमा पहिचान गरे।

नेपाल विश्वविद्यालयका कुलपति डा. बिन्दुनाथ लोहनीले भविष्यका प्रतिभाहरू तयार पार्न, अनुसन्धानलाई अगाडि बढाउन र नेपालको दीर्घकालीन नवप्रवर्तन एजेन्डालाई समर्थन गर्न उच्च शिक्षा संस्थाहरूको भूमिकाबारे विशेष सम्बोधन गरे। उनले एआईबाट निर्देशित विश्वका लागि विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई सुसज्जित गर्न प्राज्ञिक र उद्योग क्षेत्रबीचको सहकार्यमा जोड दिए।

यसपछि अन्तरक्रियात्मक प्रश्नोत्तरमा सहभागीहरूले व्यवसायीहरूद्वारा एआईको प्रयोग, प्रतिभा विकास, जिम्मेवार एआई शासन, स्थानीय भाषाका प्रविधिहरू र क्षेत्रीय सहकार्यका अवसरहरू लगायतका विषयहरू उठाएका थिए। यस छलफलले उत्पादकत्व, प्रतिस्पर्धात्मकता र आर्थिक वृद्धिलाई समर्थन गर्न नेपालले एआईलाई कसरी सदुपयोग गर्न सक्छ भन्ने कुरामा सरोकारवालाहरूको गहिरो चासो प्रतिविम्बित गरेको थियो।

निक्कीको स्टार्टअप र प्राइभेट इक्विटी कमिटीका सहसंयोजक दिलीप भट्टराईले डा. प्रत्यूष कुमारलाई धन्यवाद दिंदै नेपाली सरोकारवालाहरू र क्षेत्रीय एआई अभ्यासकर्ताहरूबीचको प्रत्यक्ष संवादको महत्त्वलाई औँल्याए।

निक्कीका निर्देशक मार्शल राठौरले दुवै देशका व्यवसाय, सरकार र प्रविधि समुदायलाई जोड्ने प्लेटफर्महरूप्रति निक्कीको प्रतिबद्धता दोहोर्‍याए।

निक्कीले नेपालस्थित भारतीय दूतावास, डा. प्रत्यूष कुमार र सर्वम एआईलाई उनीहरूको सहभागिताका लागि र एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) लगायत कार्यक्रममा योगदान पुर्‍याउने सम्पूर्ण साझेदार तथा उपस्थित व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ।

संघले नेपालको स्टार्टअप इकोसिस्टम र भारतको प्रविधि क्षेत्रबीच ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र साझेदारी विकाससम्बन्धी भविष्यका कार्यक्रमहरूमार्फत यस सहकार्यलाई अझ विस्तार गर्ने योजना बनाएको जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad