कारोबार


सम्पत्ति शुद्धीकरणमा हालसम्मकै ठूलो मुद्दा, ३९ जनासँग १ खर्ब ६ अर्ब बिगो दाबी

सम्पत्ति शुद्धीकरणमा हालसम्मकै ठूलो मुद्दा, ३९ जनासँग १ खर्ब ६ अर्ब बिगो दाबी

उद्धव थापा
जेठ २९, २०८३ शुक्रबार १६:२३, काठमाडौँ

धितोपत्र, बीमा र बैंकिङ कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा अहिलेसम्मकै सबैभन्दा ठूलो मुद्दा अदालतमा पुगेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विशेष अदालतमा ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो। 

यसअघि राजनीतिक आडमा वित्तीय घोटला र जालसाजीपूर्ण कारोबार सञ्जाल बनाएका व्यवसायीहरुलाई प्रतिवादी बनाएर सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पाँच महिना लगाएर गरेको अनुसन्धानपछि विशेष अदालतमा मुद्दा दर्ता गरेको विभागका महानिर्देशक निर्मल ढकालले नेपालखबरलाई जानकारी दिए।

‘यो मुद्दा नेपालको इतिहासमै सबैभन्दा ठूलो आकारमा विगो दावी गरिएको मुद्दा हो,’ ढकालले भने, ‘राज्य सत्ता, नियामक निकाय सबैलाई व्यवस्थितरुपमा मिलाएर गरिएको संगठित वित्तीय अपराधको अनुसन्धान गरेका हौँ।’

यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार बिहान प्रतिनिधिसभाको लेखासमितिको बैठकमा देशकै सबैभन्दा ठूलो वित्तीय अपराधको अनुसन्धान भइरहेको र चाँडै मुद्दा अदालतमा जान लागेको बताएका थिए। 

विभागले बिहीबार दिउँसो विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

विशेष अदालतमा दर्ता भएको मुद्दामा हिमालयन रि–इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, हिमालयन क्यापसर्व लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड र हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालक, उच्चपदर्थ कर्मचारी र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्षले गैरकानुनी कारोबार गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ।

यसअघि सरकार बनाउने र भत्काउनेसम्मको राजनीतिक पहुँच राख्ने भनिएका विवादस्पद व्यवसायी दीपक भट्ट, कोरोना महामारीमा थर्मल गनको कालोबजारी गरेर बदनाम व्यवसायी सुलभ अग्रवाल, उनकी श्रीमती सुभी अग्रवालसहित ३९ ले गैरकानुनी कारोबारबाट सम्पत्ति शुद्धीकरण गरेको अभियोगसहित मुद्दा दर्ता भएको हो। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो समय लगाएर गरेको अनुसन्धानपछि ३९ प्रतिवादीविरूद्ध एक खर्ब ६ अर्ब दुई करोड ५० लाख १० हजार ७४७ रुपैयाँ बिगो दाशी गरेर अभियोगपत्र तयार गरेको हो। 

अदालतमा दर्ता भएको उक्त अभियोगपत्रमा प्रतिवादीहरुबाट अभियोगको दोब्बर जरिवानासमेत माग गरिएको छ। 

धितोपत्र बजारमा सेयर कर्नरिङ गर्ने र जगदम्बा ग्रुपको पैसा परिचालन गरेर धितोपत्रको मूल्य घटबढमा चलखेल गरी सम्पत्ति आर्जनमा केन्द्रित भएका दीपक भट्टलाई सबैभन्दा बढी अर्थात् २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ। 

भट्टले सम्पत्ति शुद्धीकरण गरेको आरोपमा गत चैत १९ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो। अहिले उनी हिरासतमा छन्। 

त्यसैगरी भट्टका साझेदार एवं जगदम्बा स्टिल्सका सञ्चालक सुलभ अग्रवालसँग २५ अर्ब ५९ करोड २०लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बिगो दाबी गरिएको छ। उनी नेपालको ठूलोमध्येको व्यावसायिक घराना शंकर ग्रुपको उपाध्यक्ष हुन्। 

उनकी श्रीमती सुभी अग्रवालसँग ३ अर्ब ९६ करोड ७८ लाख २२ हजार १३३ रुपैयाँ २२ पैसा बिगो माग गरिएको छ। 

सोही मुद्दामा प्रतिवादी बनाइएका सुलभ र सुभीका छोरा कृषिभ अग्रवालसँग ३२ करोड ८३ लाख ८० हजार २०२ रुपैयाँ ३२ पैसा बिगो मागदाबी गरिएको छ। 

सुलभको नाममा रहेको नेपाल रि–इस्योरेन्सको सेयर आफैँ उक्त कम्पनीको अध्यक्ष हुँदा बिक्री गर्न नमिलेपछि काठमाडौं जिल्ला अदालतमा अशं मुद्दा दर्ता गरेर छोरा कृषिभको नाममा सेयर सारेर बिक्री गरेको थियो। उक्त सेयर बिक्रीबाट प्राप्त रकम भने सुलभले अर्को जालसाजीपूर्ण कारोबारमा प्रयोग गरेका थिए। 

त्यस्तै व्यवसायी ऋषिराज मोरले हिमालयन रि–इन्स्योरेन्सकोको रकम भृकुटी स्टक ब्रोकिङमा जम्मा गरी आफ्नो नाममा भुक्तानी लिएको, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य प्रभावित गरी व्यक्तिगत लाभ लिएको आरोपसहित ३ अर्ब ७८ करोड ८२ लाख ७५ हजार ६२२ रुपैयाँ ९० पैसा सम्पत्ति शुद्धीकरणबापतको बिगो दाबी गरिएको छ। 

त्यसैगरी, अमित मोरले ऋषिराज मोरको तर्फबाट भृकुटीबाट प्राप्त रकम १२ करोड ६ लाख २५ हजार रुपैयाँलाई व्यक्तिगत बिगोको रुपमा दाबी गरिएको छ।

राजकुमार मोरले पनि भृकुटी स्टक ब्रोकिङबाट सिधै प्राप्त गरेको रकम २७ करोड ६९ लाखलाई बिगो कायम गरिएको छ।

भृकुटी स्टक ब्रोकिङ कम्पनीका अध्यक्ष रहेका सन्दीप चाचन अग्रवाल र भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालि समेतबाट १४ अर्ब ५८ करोड ७८ लाख ७५ हजार ३५० रुपैयाँ ४८ पैसा बिगो माग गरिएको छ। 

व्यावसायिक घराना शंकर ग्रुपकै सञ्चालक साहिल अग्रवालविरूद्ध  ६ अर्ब ४ करोड ३४ लाख २ हजार २५७ रुपैयाँ शुद्धीकरण गरेको आरोपसहित बिगो माग गरिएको छ। 

त्यसबाहेक, हिमालयन रि–इन्स्योरेन्सका संस्थापक अध्यक्ष एवं व्यवसायी शेखर गोल्छासहित अन्य व्यवसायीहरु रोहित गुप्ता, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला, अमित मोर र राजीव मोरसमेतलाई २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ ३ पैसा सम्पत्ति शुद्धीकरणविरूद्ध बिगो माग दाबी गरिएको छ। 

अरू कसलाई कति बिगो दाबी?

  • उपासना पौडेल, मनिष कुमार, शिशिर गैह्रे र दीपक कुमार श्रेष्ठ– ६ अर्ब ४ करोड ३४ लाख २ हजार २५७ रुपैयाँ
  • राजबहादुर शाह–    १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९०१ रुपैयाँ ४० पैसा
  • रितेश प्रधान– ३७ करोड रुपैयाँ
  • सुमेर शमशेर जबरा– १ अर्ब २७ करोड ४१ लाख ८६ हजार ८६७ रुपैयाँ ९६ पैसा
  • सुवास बहादुर श्रेष्ठ– ४५ करोड ९४ लाख ३३ हजार ३४४ रुपैयाँ ६६ पैसा
  • आशिष श्रेष्ठ, मृगेन्द्र नाथ रिमाल र सिद्धान्त झुनझुनवाला– ५९ करोड ७५ लाख ६९ हजार १३४ रुपैयाँ १८ पैसा
  • मनोज कुमार लाल कर्ण– ७ अर्ब २२ करोड ४६ लाख ८५ हजार ९७४ रुपैयाँ १६ पैसा
  • सुरेन्द्र थापा– ४ करोड ९० लाख ३२० रुपैयाँ ६० पैसा
  • रामकुमार यादव (लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको सीईओ)–४ करोड २० लाख ९१ हजार १६० रुपैयाँ
  • प्रताप मान श्रेष्ठ (क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ)– २३ करोड ७३ लाख ८३ हजार ७८० रुपैयाँ
  • नरेश कुमार रोका (प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ)– ११ करोड ९० लाख ९ हजार ८१८ रुपैयाँ ४० पैसा
  • चिरायु भण्डारी (गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ)– ४० करोड ४९ लाख ९४ हजार ६८३ रुपैयाँ
  • शंकरलाल अग्रवाल– २१ करोड ७ लाख ४४ हजार ४०३ रुपैयाँ ५४ पैसा
  • शरद ओझा र मदन दहाल (नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष)– ३ अर्ब ५० करोड ३० लाख ६३ हजार १९२ रुपैयाँ ५८ पैसा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad