ad ad

कारोबार


कांग्रेसबाट चुनाव लड्न तम्तयार दर्जन व्यवसायी, कहाँबाट को-को? (सूची)

अधिकांश समानुपातिक छाडेर प्रत्यक्षतिर
कांग्रेसबाट चुनाव लड्न तम्तयार दर्जन व्यवसायी, कहाँबाट को-को? (सूची)

फाइल तस्बिर


वसन्त अर्याल
भदौ १८, २०७९ शनिबार ७:२५, काठमाडौँ

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसबाट दर्जन बढी व्यवसायी उम्मेदवार बन्ने भएका छन्। 

अघिल्लोपटक समानुपातिक सांसद रहेका व्यवसायीहरु यो पटक प्रत्यक्षमा लड्ने तयारीमा लागेका छन्।

कांग्रेसले २०७४ मा समानुपातिक सांसद भएकालाई नदोहोर्याउने मापदण्ड बनाएको छ।

२०७४ को निर्वाचनमा अधिकांश व्यवसायी समानुपातिक प्रणालीतर्फबाट कांग्रेसको सांसद भएकाले यो पटक प्रत्यक्षमा लड्नुपर्ने बाध्यता छ। 

कांग्रेसबाट अर्बपति विनोद चौधरीसहित व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरु निर्वाचन लड्ने तयारीमा छन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनमा चौधरीसहित एक दर्जन व्यवसायी निर्वाचनमा होमिने तयारी गरेका हुन्। 

२०७४ को निर्वाचनको समयमा कांग्रेस प्रवेश गरेका उद्योगी विनोद चौधरीले यो पटक प्रत्यक्ष निर्वाचन लड्ने घोषणा नै गरेका छन्।

नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने तयारी छन् उनी। १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएसँगै उनले प्रत्यक्ष राजनीतिमा जोडिने बताएका थिए।

उम्मेदवार सिफारिसको लागि नवलपुरमा शनिबार बैठक बस्दै छ। कांग्रेसबाट हालका समानुपातिक सांसद चौधरी उम्मेदवार सिफारिसमा पर्ने एक स्थानीय नेताले दाबी गरे। 

‘१८ गते उम्मेदवार सिफारिसका लागि बैठक बस्दै छ’, ती नेताले नेपालखबरसँग भने, ‘उहाँले निर्वाचन लड्ने तयारी गरेकाले उम्मेदवार सिफारिस हुनुहुन्छ।’ 

नेपाली कांग्रेस मोरङले क्षेत्र नं. ३ बाट मेडिकल कलेज व्यवसायी डा. सुनिल शर्मालाई सिफारिस गरेको छ।

उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए।

शर्मा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर र काठमाडौं मेडिकल कलेजका सञ्चालक पनि हुन्। 

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री व्यवसायी उमेश श्रेष्ठ चितवन क्षेत्र नं. १ बाट निर्वाचन लड्ने तयारीमा छन्।

समानुपातिक सांसद रहेका श्रेष्ठ यसपटक प्रत्यक्षमै चितवनबाट निर्वाचन लड्ने तयारीमा जुटेका छन्। त्यहीअनुसार उनको नाम पनि सिफारिस भएको छ। 

शिक्षा व्यवसायमा चर्चित श्रेष्ठको जलविद्युत, पर्यटनलगायतका क्षेत्रमा लगानी छ।

चितवनको क्षेत्र नं. १ मै योजना आयोगका उपाध्यक्ष विश्व पौडेल र योजना आयोगकै पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले उम्मेदवार हुन खोजिरहेका छन्। 

निर्माण व्यवसायी मोहन आचार्य २०७४ मा रसुवाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

उनी १४ हजार ४५३ मतका साथ विजयी भएका थिए। उनले एमालेका जनार्दन ढकाललाई पराजित गरेका थिए।

वाम गठबन्धनबाट लडेका ढकाल १० हजार २७८ मतमा सीमित भए। इन्जिनियर रहेका आचार्यसँग सडक, पुल र अस्पतालसहितका पूर्वाधार निर्माण गरेको अनुभव छ। 

यता ठेक्कापट्टा क्षेत्रका व्यवसायी बहादुरसिंह लामा नुवाकोट २ बाट निर्वाचन लड्ने तयारीमा छन्।

अर्जुननरसिंह केसीको क्षेत्रमा लामाको पनि दाबी छ। केसी संस्थापनइतर पक्षका हुन् भने लामा संस्थापन पक्षका। 

हाल समानुपातिक सांसद रहेका उनी अहिले प्रत्यक्षमै लड्ने सार्वजनिक रुपमै बताउँदै आएका छन्।

उनले २०७० को निर्वाचनमा माओवादीका स्वर्गीय नेता पोष्ट बहादुर बोगटीलाई पराजित गरेका थिए। निर्माण व्यवसायी लामाको हिमदुङ एन्ड थोकर कम्पनी छ। 

यता पार्टी जिल्ला सभापति एवम् पूर्वराज्यमन्त्री दीपक खड्का पनि संखुवासभाबाट प्रतिनिधिसभामा निर्वाचन लड्ने तयारीमा छन्।

२०७० निर्वाचनमा उनी संखुवासभाबाट निर्वाचित भएका थिए। तर २०७४ मा एमालेका राजेन्द्र गौतमसँग पराजित भए।

उनी कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत संखुवासभा जिल्ला सभापति भएका हुन्। अहिले उनले प्रतिनिधिसभा सदस्यमा दाबी गरिरहेका छन्। 

पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि यसपटकको निर्वाचनमा गोरखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्।

उनले गोरखा क्षेत्र नं १ बाट उम्मेदवार बन्नका लागि निवेदन दिएका छन्। कांग्रेसले उम्मेदवार हुन निवेदन माग गरेअनुसार आवेदन दिएका हुन्। 

‘मंसिर ४ गते प्रतिनिधिसभाको लागि निर्वाचन लड्दै छु’, बजगाईंले नेपालखबरसँग भने, ‘प्रतिनिधिसभाको उम्मेदवारका लागि पार्टीमा निवेदन हालिसकेको छु।’

हाल सांसद रहेका जिपछिरिङ लामाले अहिले प्रत्यक्षमा निर्वाचन नलड्ने घोषणा गरेका छन्।

दोलखाका लामा निर्माण व्यवसायी हुन्। कांग्रेसको मापदण्डअनुसार समानुपातिकमा पनि उनी बस्न पाउँदैनन्। लामाले अरुलाई अवसर दिन आफू निर्वाचनमा नहोमिने बताए। 

‘म निर्वाचनमा नउठ्ने घोषणा गरेको छु’, लामाले नेपालखबरसँग भने, ‘समानुपातिकमा बस्न नपाए पनि पार्टीको केन्द्रीय सदस्य रहेकाले पार्टीमा काम गर्छु।’

निर्माण व्यवसायी इन्द्र बानियाँ प्रदेश सभामै बस्न चाहेका छन्। आगामी मुख्यमन्त्री बन्ने आश्वासनमा उनी प्रदेशमै उम्मेदवार बन्न खोजेका छन्। उनी यसै पटक मुख्यमन्त्री हुन चाहन्थे तर गठबन्धनको भागबण्डाले सम्भव भएन।

बानियाँ मकवानपुर क्षेत्र नं. २ ‘ख’बाट सिफारिस भएका छन्। त्यस्तै डडेल्धुराका कांग्रेस सभापति तथा व्यवसायी भीमबहादुर साउद पनि यसपटक प्रदेशसभामा लड्ने तयारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .