२७ वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर-भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ। बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं. २ भकुण्डे हुँदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सबबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको हो।
सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडकको उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा चार किमी कालोपत्र गर्न थालेको कार्यालय प्रमुख हरि सुवेदीले जानकारी दिए।
एक किलोमिटर २०० मिटर ढलान भइसकेको छ। ९ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिने कार्यालय प्रमुख सुवेदीले बताए।
२०५६ सालमा ट्रयाक खोलिएको यो सडक बेनी नगरपालिका-१, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन्। उक्त योजना निर्माण गर्न २०७९ साल भदौ ६ गते निर्माण कम्पनीले २३ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ। यसअघि एक घण्टाको यात्राअवधि हाल २० मिनेटमा छोटिएको बेनी नगरपालिका- १ का वडाध्यक्ष टेकबहादुर थापाले बताए। चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि आगामी वर्ष रु तीन करोड विनियोजन भएको छ।
सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न आव २०७७/७८ मा ४०–४० करोड विनियोजन गरेको थियो। रासस
Shares

प्रतिक्रिया