समाज


चौपायामा खोरेत सार्ने ‘सेरोटाइप ए’ भाइरस भेटियाे

चौपायामा खोरेत सार्ने ‘सेरोटाइप ए’ भाइरस भेटियाे

नेपालखबर
असार ३, २०८२ मंगलबार ८:२०, कञ्चनपुर

कञ्चनपुरका दुई पालिकाका घरपालुवा चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला परेको छ। शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा चौपायामा खोरेत सार्ने भाइरसको नमुना जाँच गर्दा सङ्क्रमण फेला परेको हो।

तीन वर्षपछि खोरेत सार्ने ‘सेरोटाइप ए’ को भाइरस फेला परेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले बताए। यो विषाणुजन्य सङ्क्रमणबाट खुरफट्टा चौपायामा देखिने गरेको उनले जानकारी दिए।

‘खोरेत सार्ने सात प्रकारका भाइसमध्ये ‘सेरोटाइप ए’ लाई खतरनाक मानिन्छ, यस भाइरसबाट चौपाया छिटो सङ्क्रमित हुने गर्छन्’उनले भने। खोरेत सेरोटाइप ए, ओ, सि, सेट-१, सेट-२, सेट-३ र एसिया-१ नामक भाइरसबाट चौपायामा सर्छ।   
 
उनका अनुसार धेरैजसो चौपायामा ‘सेरोपाइप ओ’ प्रकारको खोरेत देखिने गरेको छ । जङगली जनावर वा भारतीय जनावरको सम्पर्कबाट ‘सेरोटाइप ए’ भाइरस गाईभैँसी तथा चौपायामा सङ्क्रमण भएको हुनसक्ने उनको भनाइ छ।
 

‘प्रयोगशालामा खोरेत लागेका चौपायाको नमुना परीक्षण गर्दा ‘सेरोटाइप ए’ भाइरस पाइएको छ’, जोशीले भने, ‘नमुनाको पीसीआर परीक्षणका लागि खोरेत तथा सीमाविहीन पशुपन्छी रोग अन्वेषण प्रयोगशाला चपली, बूढानीलकण्ठ, काठमाडौँमा पठाएका छौँ, नतिजा आउन बाँकी छ ।’ उहाँका अनुसार चौपायमा खोरेत विशेषगरी गाई, भैँसी, बाख्रा, सुँगुरजस्ता खुरजाने जनावरमा देखा पर्छ। 

‘सेरोटाइप एले चौपायामा तीव्र सङ्क्रमण गराउने र रूप बदल्ने क्षमता राख्छ’, वरिष्ठ पशु चिकित्सक जोशीले भने, ‘यो भाइरसले चौपायाको खुट्टा, मुख, थुतुनो, थुनलगायतमा दाग, फोका र घाउ बनाउने गर्दछ । सङ्क्रमण भएमा चौपायामा ज्वरो आउने, र्‍याल फाल्ने, गर्भिणी चौपाया तुहिनेसँगै ससाना पाडापाडी, बाच्छाबाच्छी र पाठापाठी मर्ने सम्भावना रहन्छ।’ 

योसँगै दूध उत्पादनमा गिरावट, जनावरको वजन घट्ने, प्रजनन प्रणालीमा असर पर्ने सँगै पशुको प्रजनन क्षमताका ह्रास आउँछ। रोग नियन्त्रणको मुख्य उपाय रोग लाग्नुअघि चौपायालाई एफएमडी भ्याक्सिन कम्तीमा छ देखि १२ महिनामा एकपटक दिनुपर्ने चिकित्सक जोशीको भनाइ छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad