काठमाडौंमा ‘ड्रोन कन्फरेन्स एन्ड एक्जिबिसन’ आयोजना हुने भएको छ ।
ड्रोन हब नेपालको मुख्य आयोजना तथा एसियन इन्स्टिच्युट अफ आर्टिफिसियल इन्टेलिजेन्स (एआईएआई) र इन–स्पान सेन्टर अफ एक्सिलेन्सको सहकार्यमा आगामी भदौ ९ गते दरबारमार्गस्थित होटल याक एन्ड यतीमा उक्त कन्फेरेन्स आयोजना हुन लागेको हो।
उक्त कार्यक्रममा भारतीय दूतावासको समेत सहयोग रहनेछ। साथै नेपाल विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय र मधेश विश्वविद्यालयले शैक्षिक साझेदारका रूपमा सहभागिता जनाउनेछन्।
‘विकासका लागि ड्रोनः नेपाल र बाहिरका लागि एआई–सञ्चालित समाधानहरू’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएका छन्। सम्मेलनमा नेपाल, भारत र युरोपमा भइरहेको ड्रोनको प्रयोगबारे अनुभव आदानप्रदान हुनेछ।
साथै सम्मेलनमा ड्रोनको उचित व्यावसायिक प्रयोगका लागि आवश्यक नीतिगत बहस समेत हुनेछ।
एक दिने यस सम्मेलनमा नेपाल र भारतका ड्रोन कम्पनीका लागि बजार विस्तारका सम्भावित अवसरबारे छलफल हुने आयोजकले जनाएका छन्। यस कार्यक्रममा ३० भन्दा बढी ड्रोन कम्पनीका साथै ५०० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न कम्पनीले उत्पादन गरेका र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध ड्रोनहरू समेत प्रदर्शन गरिनेछ।
Shares

प्रतिक्रिया