कारोबार


मार्फामा पर्यटकको घुइँचो

मार्फामा पर्यटकको घुइँचो

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १०:४०, म्याग्दी

मुस्ताङको घरपझोङ गाउँपालिका-२ स्थित मार्फा गाउँ पर्यटकको घुइँचो लाग्न थालेको छ। स्याउको राजधानीकारूपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताए। 

एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटक बिहानदेखि साँझसम्म तस्विर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन्। ‘दुुईतीन वर्षअघिसम्म छिटपुुट पर्यटक घुम्न आउने मार्फामा दुई चलचित्रको छायांकनपछि पर्यटकको चहलपहल बढेको हो’, उनले भने, ‘बेनी–जोमसोम सडक बनेपछि यहाँ मुस्ताङ आउने पर्यटकको रोजाइमा मार्फा पर्न थालेको छ।’

चलचित्रले चिनाएको गल्ली मार्फाको बिचमा रहेको ‘जेरी’ गल्लीमा सबैभन्दा धेरै पर्यटक झुम्मिएका भेटिन्छन्।  स्थानीयवासीले रङ्गको स्याउको आकृतिको साइनबोर्डमा नाम लेखेर टाँसेका छन्। 

चोकको नजिकै भक्तिप्रसाद हिराचनको घर भएकाले भक्तिगल्ली भनिएको थियो। भक्तिप्रसाद आफैँले चोकलाई जेरी नामकरण गरिदिएका हुन्। ‘साइनबोर्ड राखेपछि यहाँ आउने पर्यटकले फोटो, भिडियो खिच्न, टिकटक बनाउन थालेसँगै प्रचारप्रसार भएको हो’, उनले भने, ‘यस्तो धेरै प्रचार होला र पर्यटक आउलान् भनेर सोचेको थिइन्। अहिले खुशी लागेको छ।’

पर्यटकले हिमाली भेगको पोसाक बख्खु लगाएर मार्फाको पदमार्ग र गल्लीमा तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने गर्छन्। स्थानीय व्यापारीले बख्खु भाडामा लगाउँछन्। एक पटक बख्खु लगाएको २०० देखि ३०० रुपैयाँ तिर्नुपर्छ। यसैगरी याकको डमी पनि राखिएको छ। याकको डमीमा चढेर तस्विर खिचाएको १५० र सँगै तस्विर खिचाउँदा ५० शुल्क तिर्नुपर्छ। 

मुस्ताङ भ्रमणको सम्झनाका लागि हिमाली पोसाकमा सजिएर मौलिक घर भएको बस्तीभित्र तस्बिर र भिडियो खिचाएको विराटनगरबाट आएकी रिमा लुइँटेलले बताइन्। ‘सामाजिक सञ्जालमा जेरी गल्लीको भिडियो देखेपछि कस्तो रहेछ भनेर आएको हो’, उनले भनिन्, ‘हेर्दा राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ भन्ने गीत सुन्दा गरेको परिकल्पना ठ्याक्कै मिल्यो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad