कारोबार


‘गौरिया’ चामलको माग बढ्यो, उत्पादन घट्यो

‘गौरिया’ चामलको माग बढ्यो, उत्पादन घट्यो

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १३:५३, म्याग्दी

म्याग्दीको मंगला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो।

हालै भित्र्याएको धान कुटेर तीन मुरी चामल ग्राहकलाई बेचिसकेका सापकोटालाई गौरिया धानको चामलको लागि दैनिक दुईरतीन जनाले फोन गर्छन्।

‘२५–३० मुरी धानले घरमा खान, आफन्तलाई कोशेली पठाउन र नियमित ग्राहाकलाई चामल पुर्‍याउन ठिक्क हुन्छ,’ उनले भने, ‘उत्पादन गर्न सके बजारको समस्या नभएको गौरिया धान खेतीनै घट्दै गएको छ।’

पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्दा आउने र खाँदा स्वादिलो हुने म्याग्दीको रैथाने गौरिया धानको चामलको माग बढेपनि खेती घट्दै गएको छ।

सहर बजारका तारे होटलदेखि घरानीया ब्यापारी, उच्च तहका नेता, कर्मचारीहरु गौरिया धानको चामलका उपभोक्ता भएका मङ्गला –५ छिसवाङका दुर्गाबहादुर खत्रीले बताए।

गौरिया धान पाक्दा खेतनै बसाउँछ। भान्छा कोठामा गौरीयाको भात पकाउदा आगनसम्मै बास्ना आउँछ,’ ६८ वर्षीय खत्रीले भने, ‘गौरियाको भात खाइरहेकालाई अन्य धानको भात रुच्दैन। गौरियानै खोज्छन्।’

गौरिया म्याग्दीको खोप्ती, छिसवाङ, रणवाङ, पिपलबोट, कुरसिम्ला, शेराफाट, तल्लो पोक, बाबियाचौर, सिम, सिमलचौर क्षेत्रमा खेती हुने रैथाने जातको धानबाली हो। स्थानीयबासीहरुका अनुसार चार पुस्ता अघिदेखि खेती हुदै आएको गौरियाको वैज्ञानिक र अंग्रेजी नाम अझै पहिचान भएको छैन।

म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरिखेतमा खेती हुने भएकाले गौरिया नाम राखिएको पिपलबोटका छवीलाल कडेल बताउँछन्।

‘यहाँ वार्षिक ८० मुरीसम्म गारिया धान फलाउने र छ लाख सम्मको चामल बिक्री गर्ने कृषक छन्,’ उनले भने, ‘यहाँबाट लगेको गौरियाको चामल अन्य जातको धानको चामलमा मिसाएर उपभोग गर्दा रहेछन्।’

आधुनिक जातको धान खेतीप्रतिको आकर्षणका कारण गौरियाको खेती घटेको पिपलबोटका कृषक केशव कडेलले बताए।

‘पहिले सबैले गौरिया गर्थे,’ उनले भने, ‘नयाँ जातको धानखेती गर्ने क्रमसँगै गौरियाको खेती र उत्पादन घटेको हो।’

गौरिया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पिठोका लागि उपयुक्त हुन्छ । न्यानो ठाउँमा हुने गौरिया धानको बोट अग्लो हुन्छ र सिचाईका लागि धेरै पानी आवश्यक पर्छ। असारको १५ गते रोपीने गौरीया कात्तिक १५ गतेको आसपासमा पाकेर भित्र्याउने हुन्छ ।

गौरया धानको दाना अरु जातको भन्दा सानो हुन्छ। अन्य जातको तुलनामा गौरियाको उत्पादकत्व कम हुन्छ।

पकाउदा भात बढी देखिने गौरिया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ। सुत्केरी, किरिया बसेकाहरुलाई गौरीया धानको चामलको भात उपभोगी हुने बताइन्छ । बालाले धान्न नसकेर बोट लड्ने गौरिया धान खेती गर्दाको प्रमुख कमजोरी भएको किसानहरु बताउँछन्।

नयाँ जातका धानको खेतीमा आकर्षणसँगै गौरीया, गुडुरा, आँगा, घैयालगायत म्याग्दीका स्थानीय रैथाने जातका धानको खेती घटेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले बताए।

‘जेठोबुढोसँग मिल्दोजुल्दो गुण भएपनि गौरीया फरक जातको धान हो,’ उनले भने, ‘कृषकहरुले चासो दिने हो भने गौरियालाई रैथाने बालीको रुपमा ब्राण्डीङ गरेर म्याग्दीको पहिचान बनाउन सकिन्छ।’

गौरिया धानखेती हुने क्षेत्रफल र उत्पादनको मात्राको विषयमा कसैसँग तथ्याङ्क र अभिलेख छैन। म्याग्दीमा गत वर्ष तीन हजार ८९० हेक्टर क्षेत्रफलमा १२ हजार ४४८ मेट्रिक्टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छन्।

यस वर्ष धानको उत्पादनको अवस्था पहिचानका लागि क्रप कटिङ बिधिबाट अध्ययन र तथ्याङ्क संकलनको काम भैरहेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत गंगा लामिछानेले बताए।

रैथाने गौरियाजातको धानको विषयमा अध्ययन अनुसन्धानका साथै संरक्षणको पहल गर्नुपर्ने मङ्गला गाउँपालिकाका कृषि प्राविधिक समेत रहेका कुरसिम्लाका बासिन्दा जगत बानियाले बताए।

‘अहिले नेपालमा चलेको जेठो बुढोलाई मात खुवाउने उच्च व्यवसायिक सम्भावना बोकेको गौरीया धानको खेती र महत्व स्थानीय स्तरमै सीमित भएको छ,’ उनले भने, ‘गौरियो धानको विषयमा अध्ययन अनुसन्धान, संरक्षण र प्रर्वद्धनका लागि प्रदेश तथा संघीय सरकारले कृषकले चासो र तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad