राजनीति


बीआरआईबारे निधि: सभापतिले प्रधानमन्त्रीलाई चीन जाँदा ऋणमा सही नगर्नू भन्नुभएको छ

बीआरआईबारे निधि: सभापतिले प्रधानमन्त्रीलाई चीन जाँदा ऋणमा सही नगर्नू भन्नुभएको छ

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १४:१५, काठमाडौँ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रियस्तरमा छलफल नगरी बीआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन्।

शुक्रबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका निधिले हतारमा सम्झौता गरेर पछुताउनुभन्दा विस्तृत रूपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने धारणा राखेका हुन्। 

‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उनले बताए।

‘बीआरआई चिनियाँ पोलिसी हो, त्योअन्तर्गत हाम्रो स्ट्यान्ड चर्चाको विषय छ। प्रधानमन्त्री ओलीको भ्रमणको विषयमा के के कुरा सही गर्ने? के के कुरा सम्झौता गर्ने भन्ने विषयमा। नेपाली कांग्रेसको सुरुदेखि नै आधिकारिक विषय के छ भने चीनबाट हामीले बीआरआई प्रोजेक्टअन्तर्गत लिने कुनै पनि विकासका कुराहरूमा अनुदान मात्रै लिन्छौँ। लोनमा हामी जाँदैनौँ, मूल विषय त्यही हो’, उनले भने।

उनले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले चीन जाँदा ऋणमा हस्ताक्षर नगर्न भनेको पनि उनले बताए।

‘हाम्रो तर्फबाट शेरबहादुरजीले र पार्टीले प्रधानमन्त्रीज्यूलाई भनिसक्नुभएको छ- चीन जाँदाखेरि अनुदानबाहेक लोनमा सही नगर्ने भनेर। बीआरआई प्रोजेक्टको बारेमा हाम्रो धारणा के हो भने यसको बारेमा व्यापक, विस्तृत छलफल हुनुपर्छ, राष्ट्रियस्तरमा छलफल हुनुपर्छ। त्यति मात्रै होइन, म त अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छु। बीआरआई प्रोजेक्ट नेपालको हितमा छ की छैन? बीआरआई पोलिसीअन्तर्गत के के विषय हो, त्यसको बारेमा व्यापक छलफल हुनुपर्छ’, निधिले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad