ग्लोबल आईएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहका बीच उक्त डिजिटल प्रतियोगिताको विधिवत उद्घाटन गरेका हुन्।
नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोगलाई बढावा दिन गत वर्ष पहिलो पटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष यसको दोस्रो संस्करण सञ्चालन गरेको हो।
प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगितामा खुला आवेदनमार्फत विभिन्न उत्कृष्ट टोलीहरू छनौट भएका छन्।
दुई चरणमा सञ्चालन हुने आवसिय प्रतियोगितामा १४ टोलीहरुको सहभागिता रहेको बैंकले जनाएको छ। जसअन्तर्गत पहिलो चरणमा ३६ घण्टा लामो कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ।
उक्त ह्याकाथन प्रतियोगीतामा सहभागि टोलीहरुको लागि आवासीय व्यवस्था छ। साथै, सहभागि प्रतियोगीहरुले ३६ घण्टासम्मको कोडिङ गर्नेछन्।
सहभागी प्रतियोगीहरूले बैंकद्वारा निर्धारित विभिन्न विधा र विषयहरूमा केन्द्रित रही बैंकिङ सेवालाई अझ बढी सुरक्षित, सरल र प्रविधिमैत्री बनाउने नविनतम् अवधारणाहरु प्रस्तुत गर्नेछन्।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङका आगामी सम्भावित सेवाहरू र यस क्षेत्रमा देखापर्ने चुनौतीहरूको समाधान पहिल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले यस प्रतियोगिताबाट छनौट हुने उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्यको अवसरसमेत उपलब्ध गराइने जानकारी दिए।
Shares

प्रतिक्रिया