पाँच वर्षअगाडि नेपाल राष्ट्र बैंकको टोली गएर वित्तीय अवस्था सुधार गरिदिएको नारायणी विकास बैंक पुनः समस्याउन्मुख देखिएको छ।
लगातार बैंकको वित्तीय विवरण नकारात्मक बन्दै गएपछि बैंक फेरि पहिलेकै अवस्थामा गइरहेको देखिएको हो।
अघिल्लो वर्ष १७ करोडले नाफा ऋणात्मक रहेको यो बैंकको गत वर्षको नाफा थप ऋणात्मक बन्न पुगेको छ। नाफा मात्रै नभएर बैंकका अधिकांश सूचक नकारात्मक छन्।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आम्दानीका सबै सूचक नकारात्मक छन् भने खुद नाफा २ करोड ५१ लाख रुपैयाँले ऋणात्मक हुन पुगेको छ भने खराब कर्जा बढेर ५० प्रतिशत पुगेको छ।
अघिल्लो वर्ष नै कमजोर रहेको वित्तीय विवरण गत वर्ष सुधारिने अपेक्षा गरिएको थियो। तर अपरिष्कृत विवरणमा अघिल्लो वर्षभन्दा सूचकहरु थप कमजोर देखिएका छन्।
अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले गत आवमा ३ करोड ३२ लाख ब्याज आम्दानी गर्दा ३ करोड ६ लाख ब्याज दिनै खर्च गरेको छ।
यसले बैंकको खुद ब्याज आम्दानी घटाएर ऋणात्मक बनाउन पुगेको हो। बैंकको खुद ब्याज आम्दानी २ लाख ९९ हजार रुपैयाँले ऋणात्मक छ।
अघिल्लो वर्षबाटै बैंकले राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार पुँजीकोष कायम गर्न सकेको थिएन। यसले थप कर्जा प्रवाह गर्न पाएन। कर्जा प्रवाह गर्न नसकेपछि बैंकले ब्याज आम्दानी बढाउन नसक्दा त्यसको असर नाफामा देखिएको हो।
सबै वित्तीय सूचक नराम्रो रहेको यस बैंकको खुद सञ्चालन आय पनि अघिल्लो वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्ष ३ करोड २२ लाख रुपैयाँ कमाएको बैंकले गत आवमा १ करोड मात्रै कमाएको छ।
योबाहेक बैंकको सञ्चालन नाफा पनि ऋणात्मक छ। यो भनेको अघिल्लो वर्ष नै यस्तो नाफा घाटामा रहेकोमा गत आवमा घाटा थप बढ्न पुग्नु हो।
अघिल्लो आवमा बैंकको सञ्चालन मुनाफा १ करोड ६९ लाखले ऋणात्मक रहेकोमा गत आवमा बढेर थप ३ करोडले ऋणात्मक हुनपुगेको छ।
बैंकले यो वर्ष अन्य व्यापारिक आम्दानी भने सुधारेको छ। अघिल्लो वर्ष २२ लाख रुपैयाँबराबरको आम्दानी गरेको बैंकले गत आवमा ३८ लाख रुपैयाँ आम्दानी गरेको छ। योबाहेकका सबै सूचक ऋणात्मक छन्।
त्यसो त बैंकले वित्तीय सूचकहरु सुधार गर्न नसक्दा राष्ट्र बैंकले दिएको निर्देशनहरु पनि पूरा गर्नसकेको छैन।
बैंकले अपरिष्कृत वित्तीय विवरणमा निष्क्रिय कर्जा नियन्त्रण गर्न नसक्दा सम्पत्तिको गुणस्तर यथावत् राख्न नसकेको उल्लेख गरेको छ।
‘निष्क्रिय कर्जाको मात्रा बढ्नाले सम्पत्तिको गुणस्तर यथावत् राख्न चुनौती छ’, बैंकको विवरणपत्रमा उल्लेख छ।
त्यसैगरी बैंकको खराब कर्जा ५० प्रतिशतमा पुगेको छ। अन्यमध्ये नारायणी विकास बैंकको मात्रै सबैभन्दा धेरै खराब कर्जा देखिएको हो। राष्ट्र बैंकले ४० प्रतिशतमाथि खराब कर्जा पुगेको तथा कर्जा अपचलन भएको भन्दै गत पुसमा कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेर आफ्नो नियन्त्रणमा लिएको थियो।
नारायणीले गत आवमा खराब कर्जा दरमा कर्णाली विकास बैंकलाई पनि उछिन्दै ५०.९७ प्रतिशतमा उक्लिएको हो। अघिल्लो आवमा बैंकको खराब कर्जा ४६ प्रतिशत रहेकोमा एक वर्षमा खराब कर्जा थप १०.८० प्रतिशतले बढेको छ।
यो बैंकको कर्जा असुलीमा सुधार नदेखिँदा खराब कर्जा नियन्त्रणमा आउन नसकिरहेको अवस्थामा बैंकले पुँजीकोष पनि सीमामा राख्नसकेको छैन।
बैंकको पुँजी कोष ७.८ प्रतिशतले ऋणात्मक छ। नेपाल राष्ट्र बैंकले जारी गरेको क्यापिटल एडुकेसी फ्रेमवर्कअनुसार विकास बैंकहरुले पुँजीकोष ११ प्रतिशत कायम गर्नुपर्छ।
तर अघिल्लो वर्षको सोही अवधिमै २.६० प्रतिशत रहेको पुँजीकोष गत आवमा आइपुग्दा ४०१.५३ प्रतिशतले घटेर ७.८४ प्रतिशतले ऋणात्मक बन्न पुगेको छ।
बैंकहरुको कर्जा असुली समयमै हुन नसकेको भन्दै बैंकले पुँजीकोष दबाब झेल्नुपरेको विवरणपत्रमै उल्लेख गरेको छ।
‘बैंकको कर्जा असुली समयमै हुन नसकेकोले नोक्सानी बढ्न गई पुँजीकोष घट्न पुगेको छ’, विवरणपत्रमा स्पष्ट्याइएको छ।
बैंकले घरजग्गाजस्ता धितोमा गएका कर्जा असुली गर्न नसक्दा पुँजीकोष थप बिग्रिन मद्दत पुगेको हो।
समस्याग्रस्तबाट निस्किएको ५ वर्षमा पनि सुध्रिएन वासलात
नेपाल राष्ट्र बैंकले २०७७ साउन २१ गते बैंक सञ्चालन गर्न सञ्चालक समिति सक्षम रहेको भन्दै समस्याग्रस्त सूचीबाट हटाएको थियो।
केन्द्रीय बैंकको टेकओभरपछि वित्तीय सूचकहरुमा सुधार गरेसँगै नयाँ सञ्चालक समिति बनाएर राष्ट्र बैंकको विशेष निगरानीमा बैंकलाई समस्याग्रस्तको सूचीबाट हटाइएको थियो।
सो सूचीबाट हटाउँदा दिएको पत्रमा २ वर्षभित्र तोकिएबमोजिमको चुक्ता पुँजी पुर्याउन, चुक्ता पुँजीको शतप्रतिशतमा नबढ्ने गरी सर्वसाधारणबाट निक्षेप संकलन गर्नसक्ने सीमा कायम गर्न र प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्मको सीमाभित्र एकल ग्राहक कर्जा सीमा कायम गर्नुपर्ने शर्त राखिएको थियो।
सुरुको केही वर्ष वित्तीय अवस्था सुधारात्मक देखिए पनि बैंकले पछिल्लो केही वर्षदेखि न्यूनतम सीमाहरु पनि कायम गर्नसकेको छैन।
बैंकिङ कारोबारको लागि प्राविधिक रुपमा समेत सक्षम रहन नसकेको बैंक स्वयंले स्वीकारेको छ।
राष्ट्र बैंकले आव २०८१/८२ को तेस्रो त्रैमासमा बैंकलाई २०८२ असार मसान्तसम्म न्यूनतम पुँजीकोष कायम गरिसक्ने आदेश दिएको थियो।
त्यसबेला न्यूनतम चुक्ता पुँजी कायम नगरेको, तोकिएको सीमाभन्दा बढी सर्वसाधारणबाट निक्षेप संकलन गरेको, एकल ग्राहक कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह गरेको तथा एकीकृत निर्देशनमा तोकिएको सीमाभन्दा अधिक हुने गरी वित्तीय स्रोत संकलन गरेको र लामो समयदेखि बैंकले तोकेको पुँजीकोष अनुपात कायम गर्न नसकेको राष्ट्र बैंकले औँल्याएको थियो।
त्यसलगत्तै राष्ट्र बैंकले सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० उपदफा १ को खण्ड (ग) बमोजिम असार मसान्तसम्म न्यूनतम चुक्ता पुँजी तथा पुँजीकोष अनुपात कायम गर्न लिखित आदेश दिएको थियो।
तर बैंकको अपरिष्कृत वित्तीय विवरणले पुँजीकोष सुधारिनुको साटो थप बिग्रिएको देखाएको छ।
राष्ट्र बैंकले निरन्तर निर्देशन दिए पनि बैंकले राष्ट्र बैंकका कुनै पनि निर्देशनहरु पालना गर्नसकेको छैन।
राष्ट्रबैंक स्रोतका अनुसार खराब कर्जा नियन्त्रण गर्दै न्यूनतम पुँजीकोष कायम गर्न नसक्ने विकास बैंकहरुलाई मर्जर गराउने गरी प्रक्रिया अगाडि बढाइएको छ।
पुँजीकोष पुर्याउन नसक्ने बैंकहरुलाई राष्ट्र बैंकले मर्जरमा जान सक्ने भनेपछि अहिले नारायणी विकास बैंक पनि यही बाटोमा देखिएको छ।
सेयरबजारमा भने हारालुछ
वित्तीय अवस्थामा नाजुक रहेको यो बैंकको धितोपत्रको दोस्रो बजार (सेयरबजार)मा भने चमक छुट्टै छ।
लगानीकर्ता वित्तीय विवरणलाई बेवास्ता गर्दै सेयर किन्न हरेक दिन हारालुछ गर्दै आएका छन्। वित्तीय सूचकहरु ऋणात्मक रहेको यो बैंकको सेयरबजारमा मूल्य भने प्रतिकित्ता अधिकतम २ हजार रुपैयाँसम्म पुगेको छ।
यो समाचार तयार पार्दासम्म (८२ भदौ ४ गते बुधबार) यो बैंकको सेयरमूल्य प्रतिकित्ता १४६४.९० रुपैयाँ छ। बैंकले खराब वित्तीय विवरण प्रस्तुत गरेकै दिन सेयर किन्न हारालुछ गर्ने लगानीकर्ताले त्यसयता उसैगरी कारोबार गर्दै आएका छन्।
बुधबार मात्रै ९ अंकले घटेको नेप्सेमा नारायणी विकास बैंकको मूल्य भने कित्तामा ५ रुपैयाँले बढेको छ। बैंकको सेयर कित्ता संख्या थोरै भएका कारण पनि लागनीकर्ताले वित्तीय अवस्थालाई बेवास्ता गर्दै बजारमा उच्च मूल्यमै पनि सेयर खरिद गर्दै आएका हुन्।
असार मसान्तसम्म बैंकको नेटवर्थ पनि २७ रुपैयाँ १५ पैसा छ।
Shares

प्रतिक्रिया