राजनीति


प्रचण्डसँग रविका तीन गुनासा

प्रचण्डसँग रविका तीन गुनासा

रविलाई भेटेर निस्किँदा प्रचण्ड नक्खु कारागारको गेटमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै।


नेपालखबर
भदौ ४, २०८२ बुधबार १८:५२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगीको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न साँझ ६ बजे ललितपुरको नक्खु कारागार पुगे। 

प्रचण्डका अनुसार दुई नेताको भेटमा रविले ३ वटा गुनासो गरे। 

पहिलो गुनासो- यस्तै केसमा अरुलाई उन्मुक्ति 

रविले आफ्नो जस्तै मुद्दाका अन्य व्यक्ति जेलबाहिरबाटै मुद्दा लडिरहेको प्रसंग झिकेका थिए। रविलाई उदृत गर्दै प्रचण्डले भने, 'मेरै जस्तो केसमा अरुले उन्मुक्ति पाउने। बाहिरबाटै मुद्दा लड्न पाउने। मलाई मात्रै थुने।'

दोस्रो गुनासो- धरौटी बुझाएर पनि मुद्दा लड्छु भन्दा दिएनन् 

रविले अदालतले मागेको धरौटी राखेर बाहिरबाटै मुद्दा लड्छु भन्दा नदिएको बताएको प्रचण्डको भनाइ छ। 

'मैले धरौटी राखेर बाहिर बसेर मुद्दा लड्छु भन्दा पनि दिएनन्' प्रचण्डका अनुसार रविको गुनासो थियो। 

तेस्रो गुनासो- उपसभामुख रानालाई देखाएर संवैधानिक निकायमा प्रहार

लामिछानेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन नेपाली कांग्रेस-नेकपा एमालेले तयारी सुरु गरेको बारे पनि प्रचण्डसँग जिज्ञासासहित गुनासो गरेका थिए। 

'इन्दिरा रानालाई देखाएर संवैधानिक निकाय कब्जा गर्न कांग्रेस-एमाले लागे,' रविले प्रचण्डसँग भने, 'यो इन्दिरामाथि मात्रै होइन सिस्टममाथिको प्रहार हो।'

प्रचण्डले पनि दुई नेताको भेटमा उपसभामुख रानालाई हटाउने सत्तारुढ दलको तयारीबारे कुरा भएको सुनाए। 

'उपसभामुखको बारेमा पनि कुरा भयो। उपसभामुखलाई झम्टिने काम यो गठबन्धन सरकारले गरेको छ। विचरा त्यो इन्दिरा राना आदिवासी जनताजाती महिला,' उनले भने, 'सानो टेक्निकल कुरा। त्यो पनि गएको पनि होइन। जे भइरहेको छ। गलत भइरहेको छ। अन्याय भएको छ। निरंकुशता तिर गठबन्धन गएको छ।'

इन्दिरा रानाले अमेरिकामा हुने एक कार्यक्रममा केही व्यक्तिलाई सहभागी हुन सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्। यही विषयलाई कांग्रेस-एमालेले पदीय आचरणको प्रश्न उठाएर उनलाई हटाउन खोजेका हुन्। 

त्यसो त संवैधानिक परिषद्‌मा उपसभामुख पनि सदस्य हुने व्यवस्था छ। परिषद्‌मा सत्तापक्ष र प्रतिपक्ष तीन/तीनको अवस्था छ। यस्तो अवस्थामा निर्णय गर्न गाह्रो भएको भन्दै सत्तारुढ दलले रानालाई हटाएर आफू अनुकूलको व्यक्तिलाई उक्त पदमा ल्याउन चाहेका छन्।  

प्रचण्डले रविलाई भेटेपछि उपसभामुखमाथि भन्दा पनि सिस्टममाथि प्रहार गरेर संवैधानिक निकाय कब्जा गर्न लागिएको आरोप लगाए। 

'इन्दिरामाथि होइन सिस्टममाथि प्रहार हो। इन्दिरालाई देखाएर संवैधानिक निकाय कब्जा गर्ने काम गरिएको हो' प्रचण्डले भने।  

त्यस्तै प्रचण्डले रविले आफूमाथि राजनीतिक प्रतिशोध साँधिरहँदा रास्वपालाई फाइदा भइरहेको भन्ने बुझेको प्रतिक्रिया दिए।

'मैले उहाँलाई राजनीतिक रुपमा कांग्रेस र एमालेले जसरी प्रतिशोध साँधेर क्रियाकलाप गरिरहेका छन्। यसले पार्टीलाई राम्रोसँग फाइदा भएको कुरा उहाँले बुझ्नु भएको रहेछ' प्रचण्डले भने।  

प्रचण्डले अहिलेसम्म सरकारलाई खबरदारी गरिरहेको पनि बताए। त्यस्तै उनले कांग्रेस-एमालेले जनता आफूबाट टाढा भइरहेको भन्ने नबुझेको भन्दै भने, 'कांग्रेस र एमालेको स्थिति जनतामा धेरै नै खस्किसकेका छन् किन कुरा नबुझ्या होलान्? अन्धो मान्छे जस्तो भएका छन्।' 

त्यस्तै रवि लामिछानेको भैरहवाको बसाइ नाजुक रहेको बारे थाहा पाएको प्रचण्डको भनाइ छ। 

'भैरहवामा हुँदा नाजुक हुन खोज्या रहेछ। यहाँ सुधार हुँदैछ। उहाँ दुब्लाउनु भएको छ,' प्रचण्डले भने, 'मेरो क्याबिनेटमा गृहमन्त्री पनि हो उहाँ। अभिभावकको हिसाबले उहाँको अवस्था बुझ्नु स्वभाविक नै हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad