नेपाल र बंगलादेशबीच भएको ऊर्जा सहकार्य समझदारीअनुरुप गठित सहसचिव र सचिवस्तरीय समितिको बैठक बिहीबार बंगलादेशको राजधानी ढाकामा बस्ने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार बैठकमा भाग लिन ऊर्जा सचिव दिनेश कुमार घिमिरेसहितको टोली त्यसतर्फ गइसकेको छ।
शुक्रबारसम्म चल्ने बैठकमा नेपालले डेडिकेटेड प्रसारणलाइनलाई प्राथमिकतामा राखेको छ। दुवै देशले मिलेर प्रसारणलाइन निर्माण गर्ने विषयमा बैठकमा छलफल हुनेछ। खासगरी नेपालबाट बंगलादेश विद्युत् लैजान भारतको भूमि प्रयोग हुने भएकाले यसबारे बैठकमा छलफल हुने मन्त्रालयले जनाएकोछ।
समितिको पहिलो बैठक ०७५ मंसिर १७ र १८ मा काठमाडौंमा भएको थियो। उक्त बैठकमै छलफल भइसकेका विषयहरु यस बैठकका पनि एजेन्डा रहेको नेपाली पक्षले जनाएको छ। भारतको सिलिगुडी करिडोरबाट नेपाल र बंगलादेशबीच प्रसारणलाइन निर्माण गर्न सकिनेबारे छलफल हुने बताइएको छ। उक्त करिडोरबाट नेपाल र बंगलादेश २२ किमि दूरीमा पर्छन्।
०७५ साउनमा नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो। सोही अनुसार दुवै देशले विभिन्न तहमा बैठकलाई निरन्तरता दिँदै आएका छन्। पछिल्लो समय बंगलादेशले नेपालमा जलविद्युतमा लगानी गर्न र नेपालको विद्युत किन्न विशेष चासो दिँदै आएको छ।

प्रतिक्रिया