नेपाल भारतबीच विद्यमान रेल सेवा सम्झौतामा संशोधन गर्नका लागि भारत सरकारसँग एलओई (लेटर आफ एक्स्चेन्ज) गर्नका लागि नेपालको तर्फबाट प्रस्ताव पेश भएको छ।
सो प्रस्तावमा नेपालले भारतको निजी रेलबाट पनि ढुवानी सेवा पाउनुपर्ने माग गरेको हो।
मंगलबार नेपालका तर्फबाट सो प्रस्ताव गरिएको छ। उक्त एलओई गर्ने सन्दर्भमा नेपाल भारतबीच विभिन्न चरणमा द्विपक्षीय वार्ता भएको थियो। सन् २०१९ जुन ६ र ७ मा भारतको नयाँ दिल्लीमा भएको पुनरवलोकन बैठकबाट विद्यमान नेपाल भारत रेल सेवा सम्झौता संशोधनको लागि सहमति भएको थियो। सोही सहमतिका आधारमा नेपाल र भारतबीचमा बिभिन्न चरणमा एलओईको मस्यौदा आदान प्रदान भएको थियो।
विद्यमान नेपाल भारत रेल सम्झौतामा नेपालको तेस्रो मुलुकसँग हुने व्यापारका लागि भारतीय रेल सेवा उपयोग गर्ने तथा भारतसँगको द्विपक्षीय व्यापारमा रेलबाट हुने ढुवानीलाई व्यवस्थित गर्ने सम्बन्धमा विभिन्न व्यवस्थाहरू गरिएका छन्।
यस एलओईमा भारतका निजी रेल सेवा प्रदायकहरूले नेपालका लागि हुने ढुवानी सेवा दिन सक्ने गरी नेपाल भारत रेल सेवा सम्झौता संशोधनका लागि प्रस्ताव गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी गराएको छ। हाल त्यस्तो सेवा भारतीय कन्टेनर निगम लिमिटेडले उपलब्ध गराइरहेको छ।
प्रस्तावित एलओईको आदान प्रदान भएपश्चात् भारतमा रेल सेवा उपलब्ध गराइरहेका सबै अनुमतिप्राप्त कार्गो ट्रेन अपरेटरहरूले नेपालको पारवहनका लागि हुने ढुवानीका लागि सेवा दिन सक्नेछन्। साथै भारतीय रेल सेवामा सञ्चालनमा ल्याउनका लागि अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनररवागनहरू नेपाल लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिनेछ भने निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपाल लक्षित ढुवानी हुने मन्त्रालयको भनाइ छ।
त्यसैगरी, नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले विरगञ्ज र विराटनगरदेखि कलकत्ता र हल्दियासम्म रेल सेवा दिन सक्ने गरी प्रस्ताव गरिएको छ।
साथै, हाल नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरवामा रेलसम्बद्ध पूर्वाधार तयार भएपश्चात रेल सेवा उपलब्ध हुने गरी र नेपाल भारत पारवहन सन्धिमा व्यवस्था भएअनुरुप अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरूमा सहमतिका आधारमा रेल सेवा विस्तार हुँदै जाने गरी प्रस्ताव गरिएको आपूर्ति मन्त्रालयले जानाकारी गराएको छ। नेपालमा हुने आयात निर्यातका लागि रेल सेवामा लाग्ने सेवा शुल्क हाल अग्रिम रुपमा कलकत्तामा तिर्नुपर्ने व्यवस्था रहेकोमा नेपाली वाणिज्य बैंक मार्फत सोझै भुक्तानी दिन सकिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
प्रस्तावित एलओईमा विभिन्न चरणमा छलफल भएको तथा मस्यौदा समेत पटक पटक आदान प्रदान गरी अन्तिम रुप दिइएकोले भारतीय पक्षबाट समेत एलओईको हस्ताक्षरित प्रति यसै साता भित्रमा प्राप्त हुने अपेक्षा मन्त्रालयले गरेको छ।

प्रतिक्रिया