राजनीति


शिक्षामन्त्री श्रेष्ठलाई एक मिनेट पनि पदमा बस्ने नैतिकता छैनः माधव नेपाल

शिक्षामन्त्री श्रेष्ठलाई एक मिनेट पनि पदमा बस्ने नैतिकता छैनः माधव नेपाल

नेपालखबर
असार १६, २०७८ बुधबार ११:३८,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई एक मिनेट पनि सरकार तथा पार्टी कतै पनि पदमा रहने नैतिकता नरहेको बताएका छन्।

पार्टीको भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको मंगलबार जुममार्फत आयोजित दोस्रो केन्द्रीय कमिटी बैठकमा प्रमुख अतिथि नेपालले ‘जातीय छुवाछूतजस्तो अमानवीय घटनामा देशका मन्त्री त्यसमा पनि कम्युनिस्ट पार्टीका नेता कृष्णगोपाल श्रेष्ठले हर्कत देखाएको’ भन्दै आक्रोश व्यक्त गरेका हुन्।

नेता नेपालले गरेको सम्बोधन उधृत गर्दै मुक्ति समाजका अध्यक्ष गणेश विश्वकर्माले नेपालखबसँग भने, ‘उन (कृष्णगोपाल श्रेष्ठ) लाई एक मिनेट पनि सरकारमा र पार्टीमा बस्ने नैतिकता छैन।’

nepal zoom1मंगलबार आयोजित मुक्ति समाजको जुम बैठकलाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल। तस्बिर: मुक्ति समाजका अध्यक्ष गणेश विश्वकर्माबाट।

नेता नेपालले त्यति मात्र होइन, शिक्षामन्त्री श्रेष्ठलाई कानुनबमोजिम कारबाही पनि हुनुपर्ने बताए।

सबैभन्दा पछाडि पारिएको दलित समुदायको समस्यालाई केवल दलितको मात्र समस्याका रूपमा नलिई सिंगो पार्टी र सरकार लाग्नुपर्नेमा उनले जोड दिए।

नेता नेपालले दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक समस्या एकसाथ सम्बोधन गर्न १० वर्षको आवधिक योजना बनाउनुपर्ने धारणा राखे। 

आफू प्रधानमन्त्री हुँदा जनता आवास कार्यक्रम, अन्तर्जातीय विवाह प्रोत्साहन कार्यक्रम, दलित छात्रवृति कार्यक्रम, मुक्त हलिया पुनःस्थापना र छुट हलिया तथ्यांक संकलनजस्ता महत्त्वपूर्ण कार्यक्रम गरिएको पनि उनले सुनाए।

यस्तै मुक्ति समाजको बैठकले संगठनका तर्फबाट सञ्चारकर्मी रूपा सुनारलाई जातीय विभेद गरेको अभियोगमा पक्राउ परेकी घरबेटी छुटाउने र आफ्नै झन्डावाल गाडीमा राखेर घर पुर्याउने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको बर्खास्ती माग गर्ने निर्णय गरेको अध्यक्ष विश्वकर्माले जानकारी दिए।

यसैगरी आफ्नो कार्यक्षेत्रमा भएका जातीय छुवाछूत तथा भेदभावसम्बन्धी घटनाको स्थलगत अध्ययन तथा पीडितसँग भेटघाट–छलफल गरी ‘जहाँ उत्पीडन र विभेद : त्यहाँ मुक्ति समाज नेपाल र प्रतिरोध’ अठोटका साथ न्यायका लागि पहल गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए।

यसैगरी बैठकले यही असार मसान्तसम्म मुक्ति समाजको सबै प्रदेशका भेला तथा बैठक सम्पन्न गर्ने, असोज मसान्तसम्म ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय सबै तहका कमिटी पुनगर्ठन गरिसक्ने निर्णय गरेको अध्यक्ष विश्वकर्माले जानकारी दिए।

यो पनि‘माफी माग्नु भनेको गल्ती स्वीकार्नु हो, गल्ती गरेपछि कानुनबमोजिम कारबाही भोग्नुपर्छ’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad