ad ad

कारोबार


डेढ करोड बरामदपछि यसरी खुल्यो सुन तस्करीको रहस्य

डेढ करोड बरामदपछि यसरी खुल्यो सुन तस्करीको रहस्य

नेपालखबर
चैत १९, २०७७ बिहिबार १२:०,

एक महिनाअघि अर्थात् गत पुस २० गते कपिलवस्तु बाँडगंगाका संगम चौधरी प्रदेश३–०१–०२३च २२५९ नम्बरको हुन्डाई कारमा काठमाडौं हुइँकिएका थिए।

कारमा १ करोड ४७ लाख ८६ हजार नगद थियो। त्यत्तिकै आएका थिएनन्। तर काठमाडौं छिर्नै लाग्दा नागढुंगा चेकप्वाइन्टमा प्रहरीको फन्दामा परे।

उनले ल्याएको नगद स्रोत नखुलेपछि बरामद भयो। त्यसपछि चालक चौधरीसँगै भारत गोरखपुरका अमित कुमार गुप्तालाई पनि प्रहरीले नियन्त्रणमा लियो।

उनीहरुले झण्डै डेढ करोड रकममध्ये १ करोड ४७ लाख कारको डिक्कीमा स्पेयर टायरमुनि तीनवटा झोलामा लुकाएका थिए। बाँकी ८६ हजार गुप्ताकै खल्तीमा भेटिएको थियो।

भारतबाट ल्याएको भारु सीमा क्षेत्रमा पटक पटक सटही गरी नेपाली रुपैयाँ बोकेर काठमाडौं छिर्नलाग्दा पक्राउ परेका दुवैलाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो।

सोही क्रममा उनीहरु सुन तस्कर भएको खुलासा विभागले गरेको छ।

सो रकम उनीहरुले कपिलवस्तुकै कृष्णनगरका सचिन टेबडेवाल भन्ने सचिन कुमार अग्रवालबाट पाएको थाहा भएको छ।

उनीहरुले त्यो रकम नुर मोहम्मद भन्ने नुरुद्दिन अन्सारीलाई दिएर सुन लिने मिसनका साथ काठमाडौं आएको विभागको अनुसन्धानबाट खुलेको छ।

यसअघि पनि यसरी नगद ल्याएर यहाँबाट सुन तस्करी गर्ने गरेको विभागलाई उनीहरुले बयान दिएका छन्।

त्यसो त विभागले सचिनले उक्त बरामद रकम अन्सारीबाट लिनलागेको सूचना पनि पाइसकेको थियो।

यसरी उनीहरुले यसअघि दुई पटक सुन तस्करी गर्न सफल भइसकेका थिए। तेस्रो पटकमा भने सफल भएनन्।

May be an image of money
फागुन २० गते बरामद भएकाे रकम। 

सुन तस्करीमा संलग्न उनीहरुविरुद्ध विभागले भारतीय मुद्राको अवैध कारोबार र तस्करी गरेको पुष्टि भएपछि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा १ को खण्ड क, ख र गले निषेधित कार्य गरेको ठहर गरेको छ।

विभागका अनुसार गुप्ताविरुद्ध बरामद रकमबराबरकै बिगो कायम गरी त्यसको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार कैद सजाय मागिएको छ। बरामद रकम जफत हुनुपर्ने मागदाबी गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

अर्का प्रतिवादी सचिनविरुद्ध पनि अनुसन्धानकै सिलसिलामा विभागले घरमा छापा मारेको थियो। सो क्रममा कोठाबा ४४ लाख ९५ हजार रुपैयाँ र २ लाख ८६ हजार ४ सय ५० भारु फेला परेको थियो। यता अग्रवालबाट बरामद झण्डै डेढ करोडसँगै उनको सिद्धार्थ बैंकसहितका अन्य बैंकका १४ खातामा समेत ९५ लाख २३ हजार ४ सय २९ रुपैयाँ बरामद भएको थियो।

अग्रवाल नै प्रोपाइटर रहेको व्यवसायको नाममा बैंकमा रहेका खातामा मौज्दात ८ लाख ९७ हजार समेत गरी १ करोड ५६ लाख ८३ हजार बिगो कायम विशेष अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ। उनको खातामा रहेको ८ लाख ९७ हजार ६०४ रुपैयाँ भने जफत गर्न विभागले मागदाबी गरेको छ।

योसँगै विभागले दुवै प्रतिवादीलाई २ करोड ९२ लाख ६२ हजार ७ सय ४९ रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार कैद सजाय तथा घरबाट बरामद रकम जफत गर्नुपर्ने मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो।

त्यस्तै सुन तस्करलाई आफ्नो हकभोगको सवारीसाधन कसुरमा प्रयोग गर्न दिएको भन्दै विभागले गाडीधनी बैजनाथ अग्रहरीविरुद्ध पनि कानुनअनुसार कारबाही माग गरी विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .