राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका छन्।
अर्थले उनलाई संस्थान समन्वय महाशाखाको जिम्मेवारी दिएको छ।
मैनालीलाई गत हप्ता अर्थमा लैजाने मन्त्रिपरिषदले निर्णय लिएसँगै उनी बुधबारदेखि विभागबाट बाहिरिएका छन्। विभागमा उनले ३३ महिना नेतृत्व गरे।
यो अवधिमा राजस्व चुहावटतर्फ २ सय २० मुद्दामा ७ सय ८० जना प्रतिवादीविरुद्ध ३६ अर्ब ६१ करोड बिगो मागदाबीका मुद्दा अदालतमा दायर भएको मैनालीले जानकारी दिए।
उनका अनुसार ७ अर्ब बढी बिगोका १७ मुद्दा राय निर्णयको लागि सरकारी वकिल कार्यालय पठाइएको र अभियोजनका क्रममा छ।
त्यस्तै अन्य थुप्रै मुद्दा अनुसन्धानमा रहेको उनले आज जारी गरेको विज्ञप्तिमा उलेख छ।
यो अवधिमा मैनाली नेतृत्वको विभागले विदेशी विनिमय अपचलनतर्फ ४ सय ४० प्रतिवादीविरुद्ध १० अर्ब ७२ करोड बिगो असुल गर्न मागदाबीसहित मुद्दा दायर गरेको छ।
झूटा तथा नक्कली बीजकबाट करछलीतर्फ १९ अर्ब बढीको बिगो मागदाबी लिई १ सय ६० मुद्दा दायर भएको छ। यसबाहेक व्यावसायिक पारदर्शिता कायम गर्ने, स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने, राजस्व चुहावट नियन्त्रण गरी कराधारको व्यापक विस्तार गर्न वेबमा आधारित भेहिकल एन्ड कनसाइनमेन्ट ट्राकिङ सिस्टम ०७६ साउन १ बाट कार्यान्वयनमा आएको छ।
यसका हालसम्म १ लाख १३ हजार प्रयोगकर्ता बनिसकेका छन् भने ४१ खर्ब बढीको सूचना संग्रह भएको मैनालीले जनाएका छन्।
यसमा डेढ करोड बढी बिल बीजक, प्रज्ञापनपत्र र चलान प्रणालीमा प्रविष्टि भएको मैनालीको भनाइ छ।

प्रतिक्रिया