नेपाल अलैँची व्यवसायी महासंघले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा रु चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ।
आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासंघका अध्यक्ष राजु कार्कीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्।
अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकडभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलु्क निर्यात हुने गरेको छ। प्रति मन (४० केजी)को हाल बजार मूल्य रु २८ हजार रहेको महासंघका महासचिव सुभाष भट्टराई बताउँछन्। केही वर्षयता अलैँचीको भाउमा लगातार गिरावट आइरहेको छ।
९५ प्रतिशतभन्दा बढी नेपाली अलैँची भारत निर्यात हुने गरेको र भारतले अन्य कृषि वस्तुमा ‘जीएसटी’ छुट गरे तापनि नेपाली अलैँचीमा कर असुल्ने कार्य गरिरहेको महासचिव भट्टराई बताउँछन्।
वृद्धालाई सम्मान
मानव अधिकारको लागि एकल महिला समूह झापाले आज ७५ वर्ष माथिका वृद्धालाई सम्मानसहित खिर खुवाएको छ।
परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यतालाई सम्मान गर्दै समूहले भद्रपुर नगरपालिकाभित्रका एकल वृद्धा आमाहरुलाई आज चन्द्रगढीमा विशेष कार्यक्रमको आयोजना गरी खिर खुवाएको हो।
कार्यक्रममा ८४ वर्षीय मायादेवी पोखरेल, ८२ वर्षीय कालिका विक, ८० वर्षीया लक्ष्मी बस्नेतलगायत १८ जना ७५ वर्षमाथिका आमालाई सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विदेश अध्ययन र रोजगारीमा जाने सन्तानका कारण एक्लै घरमा बस्नुभएका आमाहरुको मिलन गराएर विभिन्न समयमा उहाँहरुलाई भेटघाट गराई दुःखसुख साट्ने अवसरसमेत प्रदान गर्न समूहलाई अनुरोध गरेका थिए। समूहका अध्यक्ष रेखा अधिकारीले संस्थाले विभिन्न चाडपर्व जस्तै साउन १५ पनि नेपालीका लागि चाड नै भएको हुँदा आमाहरुलाई सम्मानपूर्वक खिर खुवाएको बताए।रासस

प्रतिक्रिया