मुलुकमा लकडाउन सुरु भएसँगै मानिसहरु घरभित्र थुनिए। धेरै फुर्सदमा भए। त्यही बेला मनोरञ्जनका लागि मानिसले के–के गरे त?
इन्टरनेट प्रयोगको तथ्यांकअनुसार लकडाउन अवधिमा टिकटक प्रयोग शतप्रतिशतले वृद्धि भएको देखिन्छ।
नेपाल नेटवर्क अपरेटर ग्रुप (एनपीएनओजी)का अध्यक्ष समित जंग थिंगले लकडाउनपछि इन्टरनेट प्रयोगको ट्रेन्ड हेर्दा टिकटकको प्रयोग शतप्रतिशतले बढेको बताए।
‘नेपालमा प्रयोग हुने इन्टरनेटमध्ये लकडाउनअगाडि टिकटक प्रयोगमा ७ जीबीपीएस प्रयोग हुन्थ्यो’, प्रविधि पत्रकार मञ्च नेपाल (टीजेएफ)ले गरेको नेपालमा इन्टरनेट विषयक वेबिनारमा बोल्दै थिंगले भने, ‘लकडाउन सुरु भएपछि टिकटक प्रयोगमा १३ जीबीपीएस प्रयोग भएको छ।’
त्यसपछि अनलाइन गेम खेल्ने र फिल्म हेर्नेहरु पनि शतप्रतिशतले बढेको देखिन्छ। लकडाउन सुरु हुनुभन्दा पहिला गेमिङमा ३ जीबीपीएस प्रयोग भइरहेकोमा लकडाउनपछि ७ जीबीपीएस पुगेको छ।
त्यस्तै, फिल्म हेर्न प्रयोग हुने नेटफ्लिक्सको प्रयोगको पनि शतप्रतिशतले बढेको छ। थिंगका अनुसार लकडाउनअघि नेटफ्लिक्स प्रयोगमा ७ जीबीपीएस इन्टरनेट प्रयोग भएकोमा लकडाउन सुरु भएपछि १३ जीबीपीएस पुगेको छ।
त्यस्तै, लकडाउन अवधिमा फेसबुक, गुगललगायतका सामाजिक सञ्जालको प्रयोगमा पनि उल्लेख्य वृद्धि भएको छ।
त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले लकडाउनको समयमा इन्टरनेटको प्रयोग उल्लेख्य बढेको बताए।
उनका अनुसार लकडाउन सुरु हुनुभन्दा १० दिन अघिभन्दा लकडाउन सुरु भएको दश दिनपछि इन्टरनेटको प्रयोग ३६ प्रतिशतसम्म वृद्धि भएको थियो।
यसैकारण लकडाउनको अवधिमा इन्टरनेट सेवा प्रदायकहरुले ५० गिगावाइट पर सेकेन्ड (जीबीपीएस) वृद्धि गरेका थिए।

सामान्य इन्टरनेट सेवा प्रदायकहरुले ५ सय जीबीपीएस इन्टरनेट ब्यान्डविथ ल्याएकोमा लकडाउनपछि त्यो परिणामलाई ५५० पु¥याएको रोयले बताए।
नेपालमा १६ वटा नेटवर्क सेवा प्रदायकले बाहिरबाट ब्यान्डविथ ल्याउन अनुमति पत्र लिएका छन्। बाहिरबाट आएको ब्यान्डविथमध्ये ९० प्रतिशत फिक्स इन्टरनेटले प्रयोग हुन्छ।
भारत र चीनबाट बाहेक लोकल क्यासबाट पनि ब्यान्डविथ उपलब्ध हुन्छ।
त्यस्तै, नेपालमा इन्टरनेट प्रयोगको ट्रन्ड हेर्दा बेलुकाको अवधिमा सबैभन्दा धेरै प्रयोग गरेको पाइएको छ।

‘बेलुका ८ देखि १० बजेसम्म इन्टरनेट खपत सबैभन्दा धरै हुने देखिन्छ’, रोयले भने, ‘बिहान ९ देखि १० बजेसम्म पनि इन्टरनेट खपत बढ्छ।’
त्यस्तै, १२ देखि १ सम्म इन्टरनेट खपत घट्छ भने दिउँसो ५ देखि ६ बजे फेरि घटेको देखिन्छ।

प्रतिक्रिया