दिनहुँ ‘हाइ पावर मोटर’ चलाएर घरको छतको ट्याङ्कीमा पानी भर्नुपर्छ? घरमा प्रयोग हुने गिजर, हिटर, इन्डक्सन वा इन्फ्रारेड चुल्हो जस्ता ‘थर्मल लोड’ उपकरण चलाउनुहुन्छ ? चनाखो हुनुहोस्। नेपाल विद्युत् प्राधिकरणले साउन १ गते शुक्रबारदेखि तपाइँले खपत गरेको बिजुलीको बिलमा अतिरिक्त ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) थपेर बिल पठाउनेछ।
सबैका लागि होइन ५० युनिटभन्दा कम खपत गर्नुहुन्छ भने तपाइँ ५ प्रतिशत भ्याटको दायरामा पर्नुहुन्न। त्योभन्दा बढी खपत गर्नुहुन्छ भने बिलमा ५ प्रतिशत भ्याट जोडिनेछ। सरकारले पहिलो ५० युनिटसम्मको विद्युत् महसुलमा भ्याट नलाग्ने घोषणा गरेकाले पहिलो ५० युनिटको ३६० रुपैयाँ शतप्रतिशत भ्याटमुक्त हुुनेछ।
प्राधिकरणले आफ्नो बिलिङ प्रणालीमा ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकको हकमा अतिरिक्त भ्याट जोड्न तयार गरिसकेको छ।
विद्युतीकरणको अभियानमा पर्नसक्छ असर:
काठमाडौंसहितका सहरमा पानी तान्ने मोटरको प्रयोग सामान्य कुरा हो। पछिल्लो ग्यास तथा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेपछि सर्वसाधारणले इन्फ्रारेड चुल्हो अथवा इन्डक्सन चलाउन थालेका छन्। विद्युतीय सवारी साधन प्रयोग गर्नेहरु बढेका छन्। यसले प्रत्येक घरको विद्युत् प्रयोग मासिक ५० युनिट कट्ने सम्भावना बढी देखिन्छ।
विद्युतीकरणको अभियानमा असर पर्न सक्ने भन्दै ऊर्जा क्षेत्रका जानकारहरुले चिन्ता व्यक्त गरिरहेछन्। प्राधिकरणको तथ्यांकअनुसार ५० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकको संख्या ३० लाखभन्दा बढी छ।
असर ५१ युनिटदेखिको मूल्यमा मात्रै ५ प्रतिशत भ्याट लाग्नेछ। सरकारी तथ्यांकअनुसार देशभर ५१ देखि १५० युनिट बिजुली खपत गर्ने १२ लाख घरधूरी छन्। यसमा सामान्यत विद्युतीय उपकरण, पानी तान्ने पम्पदेखि खाना पकाउन बिजुली प्रयोग गर्नेहरु पर्छन्। उनीहरु ५ प्रतिशत भ्याटको दायरामा पर्नेछन्।
मासिक १५१ देखि २५० युनिट खपत गर्ने घरधूरीको संख्या साढे दुई लाखभन्दा बढी छ। एसी जडित सुविधायुक्त घर, विद्युतीय सवारीसाधन चार्ज गर्ने घर यो श्रेणीमा पर्न सक्छन्।
ग्राहस्थ वर्ग (सिंगल फेज तल्लो भोल्टेज ९२३० भोल्ट) तर्फ ५ एम्पियरको मिटर भएका ग्राहकले ५१ देखि १०० युनिट बिजुली खपत गर्दा मासिक न्यूनतम ७५ रुपैयाँ तिर्नुपर्छ। अहिलेसम्म यस्ता ग्राहकको इनर्र्जी शुल्क प्रतियुनिट ९.५० रुपैयाँ छ। अब अतिरिक्त ५ प्रतिशत भ्याट पनि जोडिएर बिल आउनेछ।
१०० युनिटसम्म खपत गर्दा कति थपिन्छ शुल्क? हेर्नुहोस् हिसाब
उदाहरणका लागि अहिले कुनै ग्राहकले ५ एम्पियरको मिटर जडान गरेको छ। उसले मासिक १०० युनिट विद्युत खपत गर्छ भने न्यूनतम ७५ रुपैयाँ मासिक शुल्क तिर्नुपर्छ। त्यसपछि विद्युत् महसुल स्ल्याबअनुसा मूल्य गणना हुन्छ। पहिलो २० युनिटसम्म विद्युत् प्रयोगकर्ताले ६० रुपैयाँ, २१ देखि ३० युनिटसम्मको १० युनिटका लागि ६५ रुपैयाँ तिर्नुपर्ने हुन्छ।
यसैगरी ३१ देखि ५० युनिटसम्म २० युनिटका लागि १६० रुपैयाँ तथा ५१ देखि १०० युनिटसम्मको बाँकी ५० युनिटका लागि ४७५ रुपैयाँ तिर्नुपर्छ। यसरी अहिले मासिक १०० युनिटको बिजुलीको महसुल भ्याटबाहेक ८३५ रुपैयाँ हुने गरेको छ। अब के हुन्छ ? ५१ युनिटदेखि माथिको मूल्यमा ५ प्रतिशत भ्याट थप भएर बिल आउँछ। अर्थात् १०० मा बाँकी ५० युनिटको ४७५ रुपैयाँमा ५ प्रतिशत भ्याट लाग्नेछ। त्यसअनुसार मासिक १०० युनिट विद्युत् खपत गर्ने ग्राहकले भ्याट रकम २३ रुपैयाँ ७५ पैसा अतिरिक्त तिर्नुपर्छ। यसरी हेर्दा साउन १ गतेदेखि मासिक १०० युनिट बिजुली खपत गर्नेले ८३५ रुपैयाँ आधारभूत बिल र २३ रुपैयाँ ७५ पैसा भ्याट गरी कुल ८५८ रुपैयाँ ७५ पैसा महसुल तिर्नुपर्नेछ।
विद्युत प्राधिकरणले घरयासी ग्राहकका लागि जम्मा ४ थरि एम्पीयरको स्ल्याब तोकेको छ। प्रत्येक स्ल्याबका लागि फरक–फरक महसुल निर्धारण गरेको छ।
विद्युत् उपभोक्तालाई भ्याट लगाए पनि मूल्यमा मार नपार्ने जिकिर गरे पनि त्यसअनुसार सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन।
भ्याट लागू गर्ने घोषणा गरेदेखि विद्युत नियमन आयोगमार्फत् बिजुलीको भाउ समायोजन गर्ने, गरिब तथा विपन्न ग्राहकका लागि निःशुल्क युनिटको सीमा बढाएर राहत दिने घोषणा उनले गरेका थिए।अहिलेसम्म त्यो दिशामा कुनै काम भएको छैन।
Shares

प्रतिक्रिया