कारोबार


नेपालका लागि सर्वमको कन्ट्री पार्टनर एआईएआई

काठमाडौंमा साउन ३० गते सर्वम फरवार्ड नेपाल शुभारम्भ हुँदै
नेपालका लागि सर्वमको कन्ट्री पार्टनर एआईएआई

नेपालखबर
असार ३२, २०८३ बिहिबार १८:४, काठमाडौँ

भारतको फुल स्ट्याक सोभरेन आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी तथा नयाँ एआई युनिकर्न सर्वम र नेपालस्थित एसियन इन्स्टिच्युट अफ आर्टिफिसियल इन्टेलिजेन्स (एआईएआई)बीच नेपालमा कृतिम बौद्धिकता (एआई) शिक्षा, प्रतिभा विकास, व्यावहारिक नवप्रवर्तन र यसको प्रयोगलाई अगाडि बढाउन साझेदारी भएको छ।

सर्वमका सहसंस्थापक तथा निर्देशक डा विवेक राघवन र एआईएआईका संस्थापक निर्देशक सुनिल केसीबीच असार २६ गते (१० जुलाई २०२६) हस्ताक्षर भएको सम्झौताअनुसार सर्वमको फुल स्ट्याक एआई प्लेटफर्म र प्राविधिक विशेषज्ञतालाई एआईएआईको संस्थागत सञ्जालले नेपालमा कार्यान्वयनमा लाँदै एआई क्षमताका लागि भारत नेपालबीच पुलको काम गर्दछ।

समझदारी पत्रअनुसार एआईएआईले नेपालको लागि सर्वमको कन्ट्री पार्टनरको रूपमा काम गर्नेछ। एआईएआई एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा)को भगिनी संस्था हो। एआईएआईले बृहत् सर्वम फर नेपाल कार्यक्रमअन्तर्गत सर्वम फरवार्ड नेपालको नेतृत्व गर्नेछ। यसका साथै, एआईएआईले विश्वविद्यालयहरू, सार्वजनिक संस्थाहरू, व्यवसायहरू, स्टार्टअपहरू र विकास साझेदारहरूसँग मिलेर कार्यक्रम कार्यान्वयन, तालिम, पाइलट कार्यक्रमहरू र इकोसिस्टम विकासको समन्वय गर्नेछ।

सम्झौताअनुसार नेपालमा एआईको पहुँचभन्दा माथि उठेर यसलाई बुझ्ने, विकास गर्ने, नियमन गर्ने र जिम्मेवारीपूर्वक प्रयोग गर्ने क्षमता निर्माण गर्न मद्दत गर्ने बृहत् प्रयासको थालनी गर्दै साउन ३० गते (१५ अगस्ट २०२६) काठमाडौंमा सर्वम् फरवार्ड नेपालको औपचारिक शुभारम्भ गरिनेछ।

‘एआई त्यतिबेला मात्र साँच्चै अर्थपूर्ण हुन्छ जब मानिसहरूले यसलाई आफ्नै भाषाहरूमा प्रयोग गर्न सक्छन् र जब यसले उनीहरू दैनिक रूपमा निर्भर रहने संस्थाहरूलाई बलियो बनाउँछ’, सम्झौतामा हस्ताक्षर गर्दै सर्वम्का सह संस्थापक तथा निर्देशक डा विवेक राघवनले भने। 

उनका अनुसार नेपालसँग अर्थपूर्ण एआई क्षमता निर्माण गर्न आवश्यक प्रतिभा, विविधता र संस्थागत महत्त्वाकांक्षा छ।

‘एआईएआईसँगको यस साझेदारीमार्फत, हामी विद्यार्थी, शिक्षक, विकासकर्ता, सार्वजनिक संस्था र उद्यमहरूलाई परीक्षणबाट जिम्मेवार र वास्तविक प्रयोगमा अघि बढ्न सहयोग गर्न तत्पर छौं। हामी यसलाई प्रविधिमार्फत क्षेत्रीय सहयोगको एउटा महत्वपूर्ण नमुनाको रूपमा पनि हेर्छौं’, उनले थपे। 

‘नयाँ उपकरणहरू उपलब्ध हुँदैमा मात्र एआईले नेपाललाई रूपान्तरण गर्दैन। हाम्रा विश्वविद्यालयहरू, शिक्षकहरू, युवाहरू, सार्वजनिक संस्थाहरू र व्यवसायहरूले ती उपकरणहरू प्रयोग गरेर निर्माण गर्ने क्षमता विकास गरेपछि मात्र यसले नेपाललाई रूपान्तरण गर्नेछ’, सम्झौता हस्ताक्षरका अवसरमा एआईएआईका संस्थापक निर्देशक सुनिल केसीले भने, ‘यो साझेदारी व्यावहारिक, जिम्मेवार र संस्थागत स्तरमा त्यो क्षमता सिर्जना गर्ने विषयमा केन्द्रित छ। नेपाल एआई युगमा उपभोक्ताको रूपमा मात्र नभई निर्माता, नवप्रवर्तक र योगदानकर्ताको रूपमा पनि सहभागी होस् भन्ने सुनिश्चित गर्नु हाम्रो महत्त्वाकांक्षा हो।’

यस साझेदारीले एआई साक्षरता, विद्यार्थी तथा प्राध्यापकको विकास, क्याम्पस एआई प्रणाली, विकासकर्ता र एआई बिल्डर मार्ग, सार्वजनिक सेवा अनुप्रयोगहरू, स्टार्टअप प्रवेग, कार्यकारी शिक्षा, उद्यम एडप्टेसन र स्थानीय भाषामा एआई अनुसन्धानसम्बन्धी कार्यक्रमहरूको अन्वेषण गर्नेछ।

एआईएआईका अनुसार शिक्षा र संस्थागत क्षमता निर्माण सहकार्यको प्रमुख क्षेत्र हुनेछ। दुवै संस्थाहरूले विद्यालय, कलेज र विश्वविद्यालयहरूका लागि एआई साक्षरता कार्यक्रम, प्राध्यापक तालिम, स्टुडेन्ट बिल्डर कोहोर्ट, प्राक्टिसनर तथा इन्जिनियरिङ मार्ग, क्याम्पस सहायक, विकासकर्ता बुटक्याम्प र संस्थागत एआई रूपान्तरण कार्यक्रमहरू विकास गर्ने योजना बनाएका छन्।
साझेदारीका अनुसार सरकार, सार्वजनिक सेवा, स्वास्थ्य सेवा प्रशासन, डकुमेन्ट इन्टेलिजेन्स, नागरिक सूचना प्रणाली, उद्यम उत्पादकता र क्षेत्र विशिष्ट संस्थागत चुनौतीहरूका लागि जिम्मेवार एआई अनुप्रयोगहरूको पनि अन्वेषण गर्नेछ।

के हो सर्वम् फरवार्ड नेपाल
‘सर्वम् फरवार्ड नेपाल’मा सार्वजनिक विश्वविद्यालय, सामुदायिक क्याम्पस, सरकारी विद्यालय, शिक्षक, विद्यार्थी, महिला, ग्रामीण समुदाय र पहुँच नपुगेका संस्थाहरूमा एआई शिक्षा र यसको जिम्मेवार प्रयोगसम्बन्धी चेतनाको पहुँच विस्तार गर्न डिजाइन गरिएको सार्वजनिक हित कम्पोनेन्ट समावेश हुनेछ।

यस कार्यक्रममा निस्शुल्क वा सहुलियतपूर्ण एआई साक्षरता पाठ्यक्रम, फ्याकल्टी अभिमुखीकरण, सार्वजनिक वेबिनार, वुमन इन एआई कोहोर्टहरू, ग्रामीण र प्रादेशिक क्षमता कार्यक्रम, छात्रवृत्ति, फेलोसिप र जिम्मेवार एआई कार्यशालाहरू समावेश हुने अपेक्षा गरिएको छ।

नेपालका भाषाहरूका लागि एआई निर्माण सर्वम् र एआईएआईले नेपाली र नेपालभर बोलिने मैथिली, भोजपुरी, थारु, नेपाल भाषा, तामाङ र मगर लगायतका अन्य स्थानीय भाषाहरू र भाषिकामा अनुसन्धान र अनुप्रयोगहरूको अन्वेषण गर्नेछन्। सम्भावित क्षेत्रहरूमा स्पीच टेक्नोलोजी, अनुवाद, डकुमेन्ट डिजिटाइजेसन, शैक्षिक सामग्रीको स्थानीयकरण, मूल्याङ्कन डेटासेट, बेन्चमार्क र बहुभाषी सार्वजनिक सूचना उपकरणहरू समावेश छन्।

भाषा र डेटासेटसँग सम्बन्धित सबै कार्यहरू सहमति, बौद्धिक सम्पत्ति संरक्षण, गोपनीयता, डेटा गभर्नेन्स र जिम्मेवार एआईका सिद्धान्तहरूद्वारा निर्देशित हुनेछन्। सर्वमको फुल स्ट्याक एआई प्लेटफर्ममा बहुभाषी र ठूलो जनसङ्ख्याको प्रयोगका लागि डिजाइन गरिएको स्पीच रिकग्निसन, टेक्स्ट टु स्पीच, अनुवाद, डबिङ, कन्भर्सेसनल एजेन्ट र डकुमेन्ट डिजिटाइजेसन क्षमताहरू समावेश छन्।

यस साझेदारीले एआई ह्याकाथन, इनोभेसन ल्याब, स्टार्टअप कोहोर्ट, एपीआई आधारित परीक्षण, डेमो डे, विश्वविद्यालय इनोभेसन कार्यक्रमहरू र भारत नेपाल स्टार्टअप एक्सचेन्जमार्फत नेपालमा उदीयमान विकासकर्ता, अनुसन्धानकर्ता, संस्थापक र प्राविधिक संस्थाहरूको समुदायलाई सुदृढ पार्ने लक्ष्य राखेको छ।

यी दुई संस्थाले बैंकिङ, वित्तीय सेवा, बीमा, दूरसञ्चार, उत्पादन, हस्पिटालिटी, शिक्षा, स्वास्थ्य सेवा, मिडिया र व्यावसायिक सेवाहरूका लागि कार्यकारी एआई रेडिनेस कार्यक्रमहरू र क्षेत्र विशिष्ट पहलहरू विकास गर्ने योजना पनि बनाएका छन्।

इन्डिया एआई मिसनअन्तर्गत भारतको सोभरेन लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) निर्माण गर्न भारत सरकारले सर्वम्लाई छनोट गरेको थियो। जुन २०२६ मा, कम्पनीले ३० करोड अमेरिकी डलरको सिरिज बी राउन्डको पहिलो क्लोजिङ घोषणा गर्दै, १.५ अर्ब अमेरिकी डलरको पोस्ट मनी भ्यालुएसनमा २३ करोड ४० लाख अमेरिकी डलर सङ्कलन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad