नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने छ उद्योगलाई कारवाही गरेको छ।
विभागले विभिन्न समयमा बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षण गरेको थियो। त्यस क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नभएको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ।
रिलायन्स सुपरटेक सिमेन्ट प्रालि बारा, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, एभरेष्ट ग्यास उद्योग प्रालि चाल्नाखेल काठमाडौँ, अग्नि सिमेन्ट उद्योग प्रालि रुपन्देही, सर्वोत्तम सिमेन्ट प्रालि नवलपरासी र कमला रोलिङ्ग मिल्स मोरङलाई शुक्रबार कारबाही गरेको हो।
जसमा रिलायन्स सिमेन्ट र इन्टरनेशनल सिमेन्टको इजाजतपत्र रद्द गर्नुका साथै एभरेष्ट ग्यास उद्योगको प्रमाणपत्र स्थगन गरेको छ। यस्तै, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कमला रोलिङ्ग मिल्सलाई स्पष्टीकरण सोधेको छ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपाल गुणस्तर मापदण्डअनुसार नरहेका उद्योगलाई नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम ९१६० अनुसार कारबाही गरिएको जानकारी दिए।
विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगी गर्ने उद्योग पहिचान गर्न केही दिन पहिला देशभरका झण्डै १०० उद्योगबाट नमूना सङ्कलन लिएको थियो। रासस

प्रतिक्रिया