नेपालमा झण्डै २० अर्ब रुपैयाँ बराबरको अवैध स्मार्टफोन सक्रिय रहेको पछिल्लो तथ्यांकले देखाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्टफोन व्यवसायीलाई उपलब्ध गराएको तथ्यांकअनुसार, देशभर विभिन्न ब्रान्डका २० अर्ब रुपैयाँ पर्ने अवैध स्मार्टफोन ‘एक्टिभेट’ छन्। नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघु त्रिपाठीका अनुसार अहिले नेपालभर झण्डै ६५ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन सक्रिय छ। त्यसमध्ये ४५ अर्बका फोन वैध छन् भने बाँकी २० अर्ब रुपैयाँका स्मार्टफोन नेपालमा अवैध रुपमा भित्रिएर चलिरहेको त्रिपाठीले जानकारी दिए।
‘दूरसञ्चार प्राधिकरणबाट गत साता मात्रै हामीले पाएको तथ्यांकअनुसार, नेपालमा ६५ अर्ब रुपैयाँ बराबरको फोन एक्टिभेट छ। त्यसमा ४५ अर्ब लिगत च्यानलबाट आएका छन् भने २० अर्ब अवैध रुपमा भित्रिएर चलिरहेका छन्,’ त्रिपाठीले नेपालखबरसँग भने।
उनका अनुसार सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को सही ढंगले कार्यान्वयन गर्न नसक्दा अवैध रूपमा भित्रिएका फोन बजारमा छ्यापछ्याप्ती भेटिने गरेका छन्। जसका कारण सरकारको वार्षिक दुई अर्ब रुपैयाँ राजस्व गुमिरहेको छ।
‘दुई अर्ब रुपैयाँ त सरकारको राजस्व गुमिरहेको छ। यदि अवैध स्मार्टफोन आयात रोक्न एमडीएमएसको कार्यान्वयन प्रभावकारी रूपमा गर्ने हो भने नेपालको मोबाइल बजार २० देखि ३० प्रतिशतसम्म बढ्ने देखिन्छ,’ त्रिपाठीले भने, ‘अवैध रूपमा आइफोनदेखि सामसङका फ्ल्यागशीप मोडल नेपाल भित्रिरहेका छन्। यसले मोबाइल व्यवसायीलाई ठूलो मर्का पारिरहेको छ।’
३० देखि ४० प्रतिशत मूल्यवृद्धि
डलरको दरदेखि चिपसेटको मूल्य आकासिँदा स्मार्टफोनको भाउ ३० देखि ४० प्रतिशत महँगिएको छ। जसको असर स्मार्टफोन बिक्रीमा परिरहेको व्यवसायी बताउँछन्। स्मार्टफोनको मूल्य बढ्दा आयातको तथ्यांकमा मूल्य बढे पनि संख्या भने निरन्तर घटिरहेको त्रिपाठीले जानकारी दिए।
त्यसलाई भन्सार विभागको तथ्यांकले पुष्टि गर्छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्म चार अर्ब रुपैयाँ बराबरको एक लाख ७७ हजार ३३० स्मार्टफोन आयात भएको छ। जसबाट सरकारले ७५ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को जेठसम्म तीन अर्ब रुपैयाँ बराबरको एक लाख ८९ हजार ८५९ थान स्मार्टफोन नेपाल भित्रिएको थियो। यस्तै, आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको एक लाख ८१ हजार ४९१ थान फोन नेपाल आएको थियो।
पछिल्लो समय स्मार्टफोनमा प्रयोग हुँदै आएको उच्च गुणस्तरको सेमिकन्डक्टर चिप आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा प्रयोग बढ्दा त्यसको सोझो असर स्मार्टफोन उत्पादनदेखि त्यसको मूल्यमा असर पारेको छ।
एआईको प्रयोग फ्यान, एसी, वासिङ मसिनदेखि अन्य धेरै उपकरणमा प्रयोग हुने गरेको छ। ती उपकरणमा स्मार्टफोनमा प्रयोग हुने चिप नै राखिन्छ। जसका कारण चिपको माग अत्यधिक बढ्दा त्यसको असर मूल्यमा परिरहेको छ। चिपको सहज आपूर्ति नहुँदा स्मार्टफोन उत्पादन घट्न गएको छ।
अमेरिकी डलरको दरमा भइरहेको वृद्धिले पनि स्मार्टफोन महँगो बनाइरहेको छ। चिपको आपूर्ति एआईमा ह्वात्तै बढेपछि उत्पादकले पर्याप्त मात्रामा स्मार्टफोन आपूर्ति गर्न सकेका छैनन्। जसका कारण केही मोडलका स्मार्टफोनको स्टक नेपाली बजारबाट घटिरहेको बताइन्छ।
Shares

प्रतिक्रिया