डिशहोम डिजिटल प्रालिअन्तर्गत सञ्चालित डिगो ओटीटीले प्रसारण इजाजत प्राप्त गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीबमोजिम डिगोले ओटीटी प्रसारण सेवासम्बन्धी आवश्यक प्रसारण इजाजत लिएको हो। यसबाट कम्पनीले नेपालको प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुरूप आधिकारिक रूपमा ओटीटी सेवा सञ्चालन गरिरहेको तथ्यलाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ।
यससँगै विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारमार्फत नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउँदै विश्वसनीय तथा सक्षम डिजिटल स्ट्रिमिङ प्लेटफर्मको रूपमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ। डिगो ओटीटीले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र, बाल सामग्रीलगायत विविध प्रकारका डिजिटल मनोरञ्जन सामग्री सुरक्षित, सहज तथा आधिकारिक माध्यमबाट उपलब्ध गराउँदै आएको छ।
डिशहोम डिजिटल प्रालिसँग रहेको आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप आधिकारिक डिजिटल सामग्री वितरण गर्ने कम्पनीको क्षमता, विश्वसनीयता तथा दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गरेको जनाएको छ। यसले नेपाली ओटीटी प्लेटफर्मलाई विश्वव्यापी डिजिटल मनोरञ्जन बजारसँग जोड्ने दिशामा महत्त्वपूर्ण आधार समेत तयार गरेको कम्पनीको भनाइ छ।
यसले डिशहोम डिजिटल प्रालिलाई अन्तर्राष्ट्रिय डिजिटल सामग्री वितरण क्षेत्रमा सक्षम तथा विश्वसनीय संस्थाका रूपमा स्थापित गर्ने जनाइएको छ। साथै डिगो ओटीटीलाई चलचित्र, सिरिज, प्रत्यक्ष प्रसारण, खेलकुद तथा अन्य विविध मनोरञ्जन सामग्री उपलब्ध गराउने अग्रणी नेपाली ओटीटी प्लेटफर्मका रूपमा स्थापित गर्दै लैजाने कम्पनीले जनाएको छ।
आगामी दिनमा पनि अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव, आधिकारिक डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत दर्शकलाई विश्वस्तरीय मनोरञ्जन सेवा प्रदान गरिने डिशहोम डिजिटल प्रालिले जनाएको छ। यससँगै डिगो ओटीटीलाई विश्वस्तरमा प्रतिस्पर्धी नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा थप विकास गर्दै लैजाने कम्पनीले प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया