नेपालमा राइड सेयरिङ सेवा सञ्चालन गरिरहेका दुई कम्पनी पठाओ नेपाल र याङ्गो राइडबिच मर्जर तथा एक्विजिसनको तयारीमा जुटेका छन्। बङ्गलादेशमा राइड–सेयरिङ सेवा दिइरहेको पठाओ २०७५ असोजबाट नेपाल आएको थियो। रुसी कम्पनी याङ्गो ग्रुप राइड–सेयरिङ सेवामा नेपाल भित्रिएको एक वर्ष मात्रै भएको छ।
दुवै कम्पनीका प्रतिनिधिहरूले मर्जर तथा एक्विजिसनका लागि विभिन्न चरणमा बैठक गरेको ती कम्पनीका उच्चपदस्थ अधिकारीहरूले बताए।
मर्जर तथा एक्विजिनको निर्णयमा पुग्नका लागि नेपालमा दुवै कम्पनीको ड्यु डिलिजिन्स अडिट (डीडीए) भइरहेको छ। त्यससँगै, पठाओ र याङ्गोलाई मिलाएर एउटै कम्पनी बनाउँदा नेपालमा सिर्जना गर्न सकिने व्यावसायिक सिनर्जीबारे पनि विभिन्न चरणमा छलफल भएको छ।
‘पठाओ र याङ्गोका उच्च नेतृत्वहरू आगामी सहकार्यका विषयमा छलफल गरिरहेका छन्। यी दुवै संस्थाको नेपाल टिमले टुंगो लगाउने विषय होइन,’ पठाओको उच्च व्यवस्थापन तहका एक अधिकारीले नेपालखबरसँग भने, ‘नेपालमा दुई संस्था मर्ज भएर सञ्चालन हुँदा व्यवसायमा कस्तो सिनर्जी सिर्जना गर्न सकिन्छ भन्ने बारेमा विभिन्न चरणमा छलफल भएको छ। ती छलफलबाट देखिएको सम्भवना आ–आफ्नो व्यवस्थापनलाई जानकारी गराएका छौँ।’
नयाँ लगानी जुटाउने जिम्मेवारी नेपाल टिमको नभएकोले त्यसबारे भइरहेको छलफलका विषयमा पहिचान खोलेर सूचना सार्वजनिक गर्न नमिल्ने पठाओका अधिकारीहरू बताउँछन्।
‘पठाओले स्टार्टअप कम्पनीको रूपमा स्थापना भएर पनि पार्सल र कुरियरजस्ता ठूलो लगानी आवश्यक पर्ने सेवा सञ्चालन गरिरहेको छ। त्यसलाई थप विस्तार गर्न पठाओलाई पुँजी आवश्यक छ। त्यसैले नयाँ लगानीको सम्भावनाका क्षेत्रमा सुरूदेखि नै छलफलहरू भइरहेका छन्। अहिले याङ्गो राइडसँग भइरहेको छलफल पनि त्यसैको निरन्तरता हो,’ ती अधिकारीले भने, ‘ड्यु डिलिजिन्स अडिट चलिरहेको छ। अहिले नै कुनै टुंगोमा पुगिसकेको अवस्था होइन।’
अमेरिकामा कन्र्सोटिएम बनाएर पठाओले सन् २०१५ मा बंगलादेशको ढाकामा कार्यालय स्थापना गरेको थियो। सुरुमा लजिस्टिक्स तथा कुरियर सेवा सञ्चालन गरेको पठाओले सन् २०१६ मा मोबाइल एप सार्वजनिक गर्दै बाइक राइड–सेयरिङ तथा खाना डेलिभरी सेवाहरू सञ्चालनमा ल्याएको थियो। त्यसको दुई वर्षपछि मात्रै पठाओ नेपाल आएको थियो।
मर्जरपछि नेपाल र बंगलादेश दुवै देशको पठाओ याङ्गोले नै सञ्चालन गर्ने गरी छलफल भइरहेको छ।
रुसको प्रविधि कम्पनी यान्डेक्सले राइड–हेलिङ कम्पनी याङ्गो सञ्चालनमा ल्याएको हो। याङ्गोको विस्तार अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया र ल्याटिन अमेरिकाका ३० भन्दा बढी देशहरूमा भइसकेको छ। ती देशमा याङ्गोले राइड–हेलिङ, डेलिभरी, ई–कमर्स, म्यापिङ, मनोरञ्जन तथा एआई लगायतका सेवा उपलब्ध गराउँदै आएको छ। याङ्गोको मुख्यालय भने युनाइटेड अबर एमिरेट्स (यूएई)को मुख्य व्यापारिक सहर दुबइमा छ।
पठाओले केही वर्षदेखि नै नयाँ साझेदार खोजिरहेको थियो। सन् २०२१ मा इन्डोनेसियाको अग्रणी प्रविधि कम्पनी गोजेकको लगानी पठाओमा ल्याउने विषयमा केही चरण छलफल भएको, तर अन्तिममा त्यो संवाद सफल नभएको पठाओकै उच्च तहमा काम गरिसकेका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।
गोजेकले इन्डोनेसियामा राइड–हेलिङ, खाना डेलिभरी, लजिस्टिक्स तथा डिजिटल भुक्तानीजस्ता सेवा दिने ‘सुपर एप’ सञ्चालन गरिरहेको छ। सन् २०१० मा इन्डोनेसियाको राइड–हेलिङ ओजेकको समन्वयका लागि कल सेन्टरको रूपमा स्थापना भएको गोजेक अहिले इन्डोनेसियाको सबैभन्दा ठूलो प्रविधि कम्पनीमध्येमा पर्छ।
पठाओले गत वर्ष नै श्रीलंकामा सेवा सुरु गर्ने योजना बनाएको थियो। तर, नेपालमा याङ्गो भित्रिएपछि होम ग्राउन्ड नै बलियो बनाउने भनेर श्रीलंकाको योजना तत्काललाई स्थगित गरेको थियो।
राइड–हेलिङकै लागि विश्वव्यापी पहिचान बनाएको अमेरिकन कम्पनी उबर भर्खरै नेपाल भित्रिएको छ। अहिले उबरले नेपाली राइड–सेयरिङ कम्पनी ट्याक्सीमाण्डुसँग रणनीतिक साझेदारी गरेर सेवाको परीक्षण गरिरहेको छ।
विश्वव्यापी उपस्थिति जनाइसकेको राइड–हेलिङ कम्पनी नेपाल आएपछि पठाओ, इनड्राइभ र याङ्गोलाई व्यावसायिक चुनौती थपिएको छ।
हुन त पठाओले बंगलादेशमा पनि उबरसँगै प्रतिस्पर्धा गरिरहेको छ। बंगलादेशको राइड–सेयरिङ बजारमध्ये पठाओले ५० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको छ।
रुसबाटै सुरु भएर अहिले अमेरिकाबाट व्यवसाय विस्तार गरिरहेको कम्पनी इनड्राइभले पनि नेपालमा आक्रामक रूपमा राइड–सेयरिङ सेवा विस्तार गरिरहेको छ। सन् २०२२ मा रुस र युक्रेन युद्ध सुरू भएपछि इनड्राइभ अमेरिका पुगेको थियो।
रुसी कम्पनीहरूले मुख्य रूपमा युरोप र अमेरिकी बजारमा लगानी गरिरहेका थिए। युक्रेन–रुस युद्ध सुरू भएपछि युरोप र अमेरिकी बजारमा रुसीहरूले नयाँ लगानी विस्तार गर्न सकेका छैनन्। उनीहरूले अहिले पुरानै कम्पनीमा लगानी बढाएर व्यवसाय विस्तार गरिरहेका छन्।
नेपालमा कन्ट्री म्यानेजरको रूपमा याङ्गो राइडको नेतृत्व गरिरहेका सन्तोष पाण्डे भने पठाओ र याङ्गो मर्जरको विषयमा आधारिक जानकारी आफूले दिन नसक्ने बताउँछन्।
‘यस विषयमा मैले भन्न सक्ने आधिकारिक कुरा केही पनि छैन,’ पाण्डेले भने।
पठाओले नेपालमा प्रभावकारी प्रविधि भित्र्याउन लगानी खोजिरहेको छ। याङ्गोलाई पनि नेपाली बजारमा स्थापित ब्रान्ड चाहिएको छ। एक वर्षअघि नेपाल आउँदा याङ्गोले ट्याक्सीमाण्डुसँगै रणनीतिक साझेदारी गरेको थियो।
पठाओ करिब ७ वर्षको अवधिमा ब्रान्डका रूपमा स्थापित भइसकेको छ। यस अवधिमा पठाओले बाइक, ट्याक्सीमा राइड–हेलिङ सञ्चालन गरेको छ भने पठाओ फुड, पार्सल डेलिभरी, कुरिअर तथा लजिस्टिक, पठाओ हेली, पठाओ मर्मत जस्ता सेवा सञ्चालन गरिरहेको छ।
पठाओले यस्ता करिब दर्जन हाराहारी विशिष्टीकृत उद्यम चलाइसकेको हुनाले ऊसँग व्यावसायिक डेटा पनि धेरै छ। उच्च प्रविधि र ठूलो लगानीमा व्यवसाय विस्तार गर्न चाहँदा यो डेटा महत्वपूर्ण आधार हुन सक्छ।
Shares

प्रतिक्रिया