कारोबार


बुद्ध एयरले अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै

बुद्ध एयरले अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै

नेपालखबर
असार ४, २०७७ बिहिबार १५:३५,

निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ।

कम्पनीले एटीआर जहाजमा कार्यरत पाइलट प्रशिक्षणका लागि नयाँ पुस्ताको सिमुलेटर सञ्चालनमा ल्याएको हो। बुद्धले पहिलो पटक नयाँ पुस्ताको सिमुलेटर भित्र्याएको हो। बुद्धले एटीआर विमान निर्माता कम्पनी फ्रान्सबाट पाँच लाख युरोमा खरिद गरेर ल्याएको थियो। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सर्टिफाइड भएपछि छिट्टै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ। बन्दाबन्दीका कारण अत्याधुनिक सिमुलेटरमार्फत तालीम सुचारु गर्न नसकेको जनाएको छ।

एटीआर जहाजको उडानलाई सुरक्षित र व्यवस्थित गर्न सिमुलेटर उपयोगी हुने कम्पनीको वरिष्ठ क्याप्टेन (इन्सट्रक्टर पाइलट) प्रमोद थापाले बताए। उहाँले सिमुलेटरमार्फत पाइलटले प्राविधिक प्रणालीको जानकारी लिनसक्ने र यसले पाइलटलाई मात्र नभई प्राविधिक जनशक्तिका लागि पनि सहज हुने बताए।

‘उडान सुरक्षालाई मजबुद बनाउनुका साथै पाइलटको क्षमता र दक्षताका लागि धेरै उपयोगी हुन्छ, सम्भवतः यो दक्षिण पूर्वी एशियामा पहिलो हो’, क्याप्टेन थापाले भने।

उनका अनुसार यो एटीआरकै टाइप स्पेसिफीक सिमुलेटर हो। यसको लेआउट हुबहु जहाजकै हुन्छ। कुनै समयमा जहाजको सिस्टम फेल (हाइड्रोलिक, प्रेसराइज्ड) भएको अवस्थामा त्यसको परिणाम, समाधानबारे यो सिमुलेटरमार्फत प्रशिक्षण दिनसकिने उनको भनाइ छ।

एटीआर जहाजमा भएका सबै उपकरण जडित यो सिमुलेटरमार्फत चालकलाई प्राविधिक प्रशिक्षण दिन सहज हुनेछ। शुरुआती पाइलटका लागि पनि प्राविधिक दक्षता वृद्धि गर्न यो सान्दर्भिक हुने बताइएको छ।

क्याप्टेन थापाले सिमुलेटरमा ‘स्किल टेस्ट’ र ‘नलेज टेस्ट’ हुने र मोडलअनुसार फ्लाइटको सिस्टमको बारे पाइलटले सबै सिमुलेटरमार्फत थाहा पाउने बताए। उनले भने, ‘उडान गर्दा मौसम, इन्जिनको अवस्था, इन्धन, दिशालगायतको जानकारी लिनका लागि यो सिमुलेटरबाट प्रभावकारी हुनेछ।’

पहिला यही प्रकृतिको तालीमका लागि थाइल्याण्डको बैंकक जानुपर्ने बाध्यता थियो। यो प्रविधि सञ्चालनपछि अब नेपालमै सहज रुपमा प्राविधिक क्षमता अभिवृद्धि गर्न उपयोगी हुनेछ। जहाजको कपपिट जस्तै सिमुलेटरमा ‘मेनुअल फङ्सन’ का आधारमा हुन्छ।

यसले उडानको जहाजको गति, दुरी, अवतरणका लागि अपनाउनुपर्ने सजकता तथा जहाजमा कुनै पनि किसिमको समस्या आएमा त्यसलाई कसरी निराकरण गर्ने भन्ने गाइड गर्ने जनाइएको छ। उदाहरणका लागि काठमाडौ–कोलकात्ताको उडान गर्दा त्यहाँको ‘होल सिनारियो’ सिमुलेटरबाट प्रशिक्षण दिन सकिन्छ। धावनमार्गको कतापट्टिबाट कसरी अवतरण गर्ने भन्नेबारे सहज जानकारी दिनसकिन्छ।

नयाँ प्रविधिबारे बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई प्रत्यक्ष अवलोकन गराएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad