सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको छ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज साँझ नागरिकता विधेयक र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारेमा छलफल गर्न कांग्रेसका शीर्ष नेताहरुलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका थिए।
प्रधानमन्त्री ओलीले नागरिकता विधेयक र एमसीसी बारेमा कांग्रेससँग छलफल गर्न बैठक बोलाएको र आजको बैठक विशेष गरी नागरिकता विधेयकमा केन्द्रित रहेको बैठकमा सहभागी कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिए। एमसीसीका बारेमा प्रधानमन्त्रीले छिट्टै अर्को बैठक बोलाउने र आफूहरुलाई तयार भएर आउनुहोला भनेको उनले बताए। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले उक्त विधेयकका सम्बन्धमा समितिमा भइरहेको छलफल र सहमतिका बारेमा जानकारी गराएकी थिइन्।
कांग्रेस नेताहरुले विधेयकको वैवाहिक अंगिकृत नागरिकताको प्रावधान सम्बन्धमा हाल विद्यमान कानूनको व्यवस्था नै राख्नुपर्ने धारणा राखेका थिए। कांग्रेस नेताहरुले विद्यमान कानूनमा परिवर्तन गरे संवैधानिक व्यवस्था र हालको कानून विपरीत हुने र वैवाहिक अंगिकृत नागरिकताको विद्यमान व्यवस्था विवाह गरेर आउने महिलाले पाउने अधिकार भएको तर्क गरेका थिए।
उपसभापति निधिले कांग्रेसको आधिकारिक धारणा राख्दै बैवाहिक अङ्गिकृत नागरिकताका सम्बन्धमा हाल विद्यमान कानूनमा कुनै संशोधन र परिवर्तनको आवश्यकता नभएको तर्क गरेका थिए। साथै उनले यसमा सहमति गरेर जानुपर्नेमा जोड दिएको राससलाई जानकारी दिए।
बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपाका तर्फबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, नेताहरु सुवासचन्द्र नेम्वाङ र भीम रावल तथा कांग्रेसका तर्फबाट उपभापति निधि, नेताहरु कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, रमेश लेखक, राधेश्याम अधिकारी सहभागी थिए। रासस

प्रतिक्रिया